Comments Add Comment

चुरे र भित्री मधेसका १४ जिल्लालाई जोड्न यस्तो बन्दैछ मदन भण्डारी राजमार्ग


७ वैशाख, काठमाडौं । आइतबार रात छिप्पिसकेपछि सकिएको मन्त्रिपरिषद् बैठकले चुरे र भित्री मधेसका उपत्यकालाई जोड्ने गरी नयाँ राजमार्ग निर्माण गर्ने निर्णय गर्‍यो ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बनाइने यो राजमार्गले पूर्वको झापालाई पश्चिमको डडेलधुरासँग जोड्नेछ ।

यो राजमार्गले कुन-कुन क्षेत्रलाई समेट्छ भन्नेमा अहिले स्थानीय क्षेत्रमा चासो छ । सडक विभागका अनुसार मध्यपहाडी लोकमार्ग र पूर्वपश्चिम राजमार्गको बीचमा बन्ने यो राजमार्गले चुरे आसपासका क्षेत्रलाई समेट्नेछ ।

यो सडकले भित्री मधेससहित चुरे क्षेत्रका जिल्लाहरुलाई विकासको नयाँ ढोका खोल्ने सरकारको दाबी छ ।

राजमार्ग झापाको शान्तिनगरबाट सुरु हुनेछ र सुनसरीको धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको रिडी पुग्नेछ । त्यस्तै गुल्मीको तम्घास, शिमलटारी, प्युठानको बागदुला, देवीस्थान, दाङको घोराही, तुलसीपुर, पुरनधारा, सुर्खेतको बोटेचौर, बड्डीचौर, डोटीको सिमचौर, वीपीनगर, कैलालीको सहजपुर, डडेलधुराको बुडर, जोगबुढा हुँदै रुपालसम्म पुग्नेछ ।

आगामी वर्षको बजेटमा यो राजमार्गका लागि सम्भाब्यता अध्ययन गर्न बजेट विनियोजन हुनेछ । आगामी वर्षबाट मदन भण्डारी राजमार्गका विभिन्न भागको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने काम पनि सुरु हुनेछ । झण्डै १२ सय किलोमिटरको यो राजमार्ग दुई लेनमा बनाइने छ ।

धरान-चतरा-गाईघाट-सिन्धुलीमाढी हेटौंडा सडकखण्डमा काम भइरहेको छ । यो खण्ड डेढ वर्ष भित्रै निर्माण सम्पन्न हुने सडक विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।

३०० किमीको यो खण्ड निर्माण सकिन लागे पनि राजमार्गमा जोडिने अन्य खण्डको भने सम्भाब्यता अध्ययन भएर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनेको छैन । बाँकी खण्डका लागि सरकारले यो वर्ष बजेट छुट्याउने सरकारको तयारी हो ।

पूर्वतर्फ झापाको शान्तिनगरदेखि धरान खण्डको डीपीआर तयार गर्नुपर्नेछ । हेटौंडादेखि गैंडाकोटसम्म पूर्व-पश्चिम राजमार्ग प्रयोग गरिनेछ । गैंडाकोटबाट पाल्पाको रामपुर हुँदै गुल्मी पुग्नेछ । गैंडाकोटदेखि रामपुरसम्मको पनि अहिले कालोपत्रे हुँदैछ ।

पाल्पाको राम्दीबाट गुल्मी हुँदै प्युठानसम्म डीपीआर बनाउनुपर्नेछ । डीपीआर निर्माणका लागि प्रतिकिलोटिर ७० हजारका दरले रकम छुट्याउँदा पुग्छ ।

मदन भण्डारी राजमार्गका विभिन्न खण्डमा अहिले पनि गाडी चलिरहेका छन् । उक्त खण्डहरुलाई राजमार्गका रुपमा दुई लेनमा विस्तार गर्दै जोड्दै लैजानुपर्ने हुन्छ ।

दाङबाट सुर्खेतको बोटेचौरसम्म अहिले कालोपत्रे भइरहेको छ । बोटेचौरदेखि डडेलधुरा सम्मको सडकको काम भने केही चुनौतीपूर्ण छ । केही खण्डमा नयाँ ट्रयाक नै खोल्नुपर्नेछ । केही खण्डमा भने सडक स्तरीकरण गर्दा नै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment