Comments Add Comment

मेसीले जिते कीर्तिमानी पाँचौ युरोपियन गोल्डेन सुज

यस्तो छ गोल्डेन सुज दिने आधार

७ जेठ, काठमाडौं । लियोनल मेसीले पाँचौ पटक ‘युरोपियन गोल्डेन सुज’ पक्का गरेर नयाँ कीर्तिमान बनाएका छन् । पाँच पटक गोल्डेन सुज जित्ने मेसी एक्ला खेलाडी हुन् ।

स्पेनिस ला लिगामा यो सिजन ३४ गोल गरेका मेसीले इंग्लिस पि्रमियर लिगमा ३२ गोल गर्ने लिभरपुलका मोहम्मद सलाहलाई पछि पार्दै गोल्डेन सुज पक्का गरेका हुन् ।

मेसीले यसअघि सन् २००९-१०, २०११-१२, २०१२-१३ र २०१६-१७ को सिजन पनि गोल्डेन सुज जितेका थिए ।

कसरी दिइन्छ गोल्डेन सुज ?

गोल्डेन सुज अवार्ड युरोपियन देशका प्रमुख लिगमा खेलाडीले गरेका गोलका आधारमा मात्र नभएर उनीहरुलाई दिइने नम्बरलाई पनि आधार मानिन्छ ।

१९६७/६८ को सिजन फ्रेन्च फुटबल पत्रिका ‘एल इक्विप’ ले दिन थालेको यो अवार्ड सन् १९९६/९७ को सिजनदेखि युरोपियन स्पोर्टस् मिडियाले प्रदान गर्दै आएको हो ।

सन् १९९१ सम्म युरोपियन देशका लिगमा खेलाडीले गरेको धेरै गोललाई गोल्डेन सुज दिने आधार मानिन्थ्यो । १९९६ पछि युरोपका प्रमुख लिगमा गरेको गोल अन्य सामान्य लिगमा गरेका गोल भन्दा महत्वपूर्ण मानेर खेलाडीलाई नम्बर दिइने र त्यसैका आधारमा अवार्ड दिन सुरु गरिएको हो ।

‘युइएफए कोइफिसिएन्ट’ले क्लबहरुलाई दिएको स्तरका आधारमा यसको निर्धारण हुने गर्दछ । उदाहरणका लागि इंग्ल्याण्डको लिगमा गोल गर्दा खेलाडीले दुई अंक पाउँछन्, स्कटल्याण्डको लिगमा गोल गर्दा डेढ अंक पाइन्छ भने वेल्सको लिगमा गोल गर्दा एक अंक पाइन्छ ।

यसैले ठूलो मानिएको लिगमा थोरै गोल गर्दा पनि साना लिगमा गोल गर्ने खेलाडीले भन्दा धेरै अंक पाएर उनीहरुले गोल्डेन सुज पाउने गरेका छन् ।

यसैले यो सिजन पोर्चुगलको लिग खेल्ने क्लब बेनफिकाका जोनासले पनि ३४ गोल नै गरे पनि उनले ५१ अंक मात्र प्राप्त गरे । जुन मेसीको भन्दा १७ अंक कम हो । मेसीले ६८ अंक पाएका छन् । दोस्रो स्थानका मोहम्मद सलाहको ६४ अंक रहेको छ ।

३० गोल गरेका टोटनहृयामका हृयारी केनको ६० अंक रहेको छ । लाजियोका २९ गोल गरेका क्रिरो इमोबाइल, २९ गोल नै गरेका बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की साथै २९ गोल नै गरेका इन्टर मिलानका माउरो इकार्डीको बराबरी ५८ अंक रहेको छ ।

२८ गोल गरेका पेरिस सेन्ट जर्मेनमा इडिसन काभानीको ५६ अंक रहेको छ । साथै रियल मडि्रडका क्रिष्टियानो रोनाल्डोले ला लिगामा २६ गोल मात्र गरे पनि अंकका आधारमा उनी जोनास भन्दा अघि छन् । रोनाल्डोको ५२ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment