Comments Add Comment

सिक्वेल भन्दै नामको व्यापार: ‘नाई नभन्नु ल’देखि ‘छक्कापञ्जा’सम्म

कुनै चलचित्र अत्यधिक सफल भयो भने त्यसको सिक्वेल बनाउने प्रचलन हलिउड, बलिउड हुँदै कलिउडसम्म आइपुगेको छ । तर, धेरै नेपाली निर्माता-निर्देशकहरु सिक्वेलमा चुक्दै आएका छन् । ‘सिक्वेल’ भन्दै उनीहरु नामको व्यापार गरिरहेका छन् ।

नेपालमा सिक्वेलको ट्रेन्ड सुरु भएको धेरै वर्ष भएको छैन । चलचित्र ‘पापी मान्छे’को सिक्वेलको रुपमा ‘पापी मान्छे २’ बनेपछि सिक्वेल बनाउने क्रम बढेको हो । तर, अहिले हरेक निर्माता आफ्नो सफल चलचित्रको सिक्वेल बनाउन चाहन्छन् ।

नेपालमा चलचित्रको सिक्वेल बनाउनुको मुख्य कारण हो, निर्माताले लगानीको सुरक्षा खोज्नु । किनकी, एउटा सफल चलचित्रको सिक्वेल बनाउँदा दर्शकमा त्यो चलचित्रको नाम पहिले नै स्थापित भैसकेको हुन्छ । साथै त्यो चलचित्रप्रति दर्शकको राम्रो छाप पनि परेको हुन्छ । त्यसैले हलमा दर्शक तान्न सहज हुने वुझाई निर्माताको छ ।

तर, निर्माण भएका सबै सिक्वेल चलचित्र सफल भने भएका छैनन् । नेपालमा अहिलेसम्म सबैभन्दा सफल मानिएको सिक्वेल चलचित्रमा ‘नाई नभन्नु ल’ र ‘छक्का पन्जा’ लाई मान्न सकिन्छ । ‘नाई नभन्नु ल को पाँचौ सिरिज बनिरहेको छ भने ‘छक्का पन्जा’को तेश्रो सिरिज बन्दैछ ।

नाम मात्रका सिक्वेल, कथामा छैन तालमेल

निर्माताहरु चलचित्रको सिक्वेल भन्दै प्रचार गर्छन् । तर, सिक्वेलको प्रचार गरिए तापनि अघिल्लो चलचित्रसँग कुनै कनेक्सन भएको पाइदैन । चलचित्र ‘नाई नभन्नु ल’ पाँचौ सिरिजसम्म आइपुग्दा एउटाको कनेक्सन अर्कोसँग छैन । कलाकारहरु दोहोरिए पनि कथा नितान्त फरक पाइन्छ ।

चलचित्र ‘छक्का पन्जा’को पनि अवस्था उस्तै छ । नाम हिट भएपछि सिक्वेल भन्दै प्रचार गरिएता पनि तेश्रो सिरिजसम्म आइपुग्दा यसको कथामा कुनै कनेक्सन छैन ।

यी बाहेक ‘सायद’, ‘होस्टेल’, ‘हिम्मत’ लगायतका चलचित्रको सिक्वल बने, तर ती चलचित्रको कथा पुरानोभन्दा भिन्न थिए ।

सिक्वेलको खस्कदो क्रेज

सामान्यतया चलचित्र निर्माण गर्दा अघिल्लो भन्दा पछिल्लोको कथावस्तु र प्रस्तुतीमा स्तरियता आउनुपर्ने हो । तर, नेपालमा भनिने गरिएका चलचित्रका सिक्वेलको भने स्तरियता र क्रेज खस्कदै गएको पाइन्छ ।

चलचित्र ‘पापी मान्छे’ हिट भए पनि त्यसको तुलानामा ‘पापी मान्छे २’ कमजोर रह्यो । यस्तै, चलचित्र ‘हिम्मत’ हिट भए पनि त्यसको तुलानामा ‘हिम्मत २’ न त कथावस्तुले चर्चामा रह्यो, न त व्यापारिक रुपमा नै । चलचित्र ‘किस्मत’ हिट भएपनि ‘किस्मत २’ले त्यो स्तरको सफलता पाएन ।

चलचित्र ‘ए मेरो हजुर’ बम्पर कमाई गर्न सफल भएको थियो । यसकै नामको पछाडि २ झुण्ड्याएर तयार पारिएको ‘ए मेरो हजुर २’ हिट त भयो, तर अघिल्लोको जति पैसा कमाउन सकेन ।

हिट चलचित्र ‘होस्टेल’ को सिक्वेलको रुपमा बनेको ‘होस्टेल रिटन्र्स’ लेउ औसत व्यापारमै चित्त बुझायो । यस्तै, निर्माता सुनिल रावलले चलचित्र ‘सायद’ हिट भएपछि यसकै पछाडि २ राखेर तयार पारेको ‘सायद २’ बक्स अफिसमा पछारियो ।

चलचित्र ‘नाई नभन्नु ल’देखि ‘नाई नभन्नु ल ५’सम्म आइपुग्दा निर्देशक विकास आचार्यले घाटा त व्यहोर्नु परेको छैन । तर, क्रमशः चलचित्रको स्तरियता भने कमजोर बन्दै गएको छ ।

चलचित्र ‘लुट’लाई नेपाली चलचित्र क्षेत्रको धार नै परिवर्तन गर्ने चलचित्रको रुपमा लिइयो । यसको कथावस्तु, प्रस्तुती, व्यापार सबै अब्बल रह्यो । चलचित्र क्षेत्रमा संकटकाल नै लगाउनुपर्ने अवस्था आउँदा ‘लुट’ले तहल्का मच्चाएको थियो । तर, त्यसको केही बर्षपछि निर्देशक निश्चल बस्नेतले ‘लुट २’ बनाए । यो भने पक्काको सिक्वेल थियो । चलचित्रले व्यापार त राम्रो गर्‍यो, तर आलोचना धेरै भयो । निश्चलले यसको सिक्वेलमा दर्शकको अपेक्षा पुरा गर्न सकेनन् ।

चलचित्र ‘चपली हाइट’ले बक्स अफिसमा बम्पर व्यापार गरेपछि यसका निर्माता अर्जुन कुमार र निर्देशक दीपेन्द्र के खनालले यसको सिक्वेल बनाए । तर, यसको सिक्वेलले न त कमाई गर्‍यो न त दर्शकको चाहना नै पुुरा गर्न सक्यो ।

नायक निखिल उप्रेतीले आफ्नो डेब्यू चलचित्र ‘पिँजडा’ को सिक्वेल ‘पिँजडा ब्याक अगेन’ बनाए । निखिललाई ‘पिँजडा’ले नेपाली चलचित्रमा स्थापित गराएको थियो । तर, ‘पिँजडा ब्याक अगेन’को रिलिजले उनलाई स्थापित होइन विस्थापित गर्ने अवस्था आयो ।

तुलसी घिमिरेले निर्देशन गरेको फिल्म ‘दर्पणछाया’ ले नेपालमा व्यापारिक किर्तिमान राखेको थियो । त्यसको धेरै वर्षपछि उनै घिमिरेले सिक्वेलका रुपमा दर्पणछाया २ बनाए । तर, यो चलचित्र आएको र गएको नै पत्तो भएन ।

नाम मात्र दोहोर्‍याएर के फाइदा ?

हिट भएको नाम फेरि पनि राख्दा दर्शकले नोटिस गर्ने वुझाई निर्माताको छ । तर, नाम मात्रले चलचित्र चल्दैन भन्ने उनीहरुले बुझ्न आवश्यक छ ।

पहिलो सिरिज हिट भएपछि दर्शकले त्योभन्दा पावरफूल कथावस्तु र प्रस्तुतीको अपेक्षा गरेका हुन्छन् । जसलाई पुरा गर्न मेकरहरुले सकेका छैनन् । यसैले, नाम दोहोर्‍याएर त्यसको ब्रान्डलाई खस्काउने काम किन गर्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment