+

कराँतेको क्लोज क्याम्प पोखरामा

२०७५ जेठ  ९ गते १०:०२ २०७५ जेठ ९ गते १०:०२
कराँतेको क्लोज क्याम्प पोखरामा


९ जेठ, पोखरा । कराँतेको क्लोज क्याम्प (बन्द प्रशिक्षण) पोखरामा शुरु भएको छ । इण्डोनेसियामा आगामी अगष्ट १८ देखि सेप्टेम्बर २ तारिखसम्म हुने एसियन गेमको तयारी स्वरुप कराँतेको क्लोम्प पोखरामा शुरु भएको हो ।

गत बुधबार पोखरा आइपुगेका २ प्रशिक्षकसहित ९ जनाको टोली बन्द प्रशिक्षणमा छन् । टोलीमा १० जना भए पनि एक जना खेलाडी जापान रहेकाले हाल ७ जना खेलाडी मात्र सहभागी छन् ।

बन्द प्रशिक्षणमा पुरुषतर्फ ५५ केजी तौल समूहका सोनाम लामा, ८४ केजी तौल समूहका दिवस श्रेष्ठ, पुरुष एकल काँतातर्फ पर्शुराम बास्तोला रहेका छन् । पुरुषतर्फको ६७ केजी तौल समूहका नवीन रसाइली भने जापानमा रहेकाले बन्द प्रशिक्षणमा छैनन् । जापानमा भइरहेको जुनियर एसियन कराँते च्याम्पियनसीपमा सहभागी भएका कारण उनी केही दिनपछि मात्र बन्द प्रशिक्षणका लागि पोखरा आइपुग्नेछन् ।

महिलातर्फ ५० केजी तौल समूहमा अनु अधिकारी, ६१ केजी तौल समूहमा सुनिता महर्जन, ६८ केजी तौल समूहमा रिता कार्की र एकल काँताकी चञ्चला कार्की बन्द प्रशिक्षणमा छन् ।

खेलाडीहरुलाई प्रशिक्षक हिरासिंह डंगोलले काता र दीपक श्रेष्ठले कुमुदी प्रशिक्षण गराइरहेका छन् ।

पोखरामा केही हप्ता प्रशिक्षण गराएर टोली वैदेशिक क्लोज क्याम्पका लागि प्रस्थान गर्ने बताइएको छ । यद्यपि, कुन देशमा जाने र कहिले जाने भन्ने टुंगो नलागेको प्रशिक्षक दीपक श्रेष्ठले बताए ।

उनले खेलाडीहरुलाई स्वदेशमा कम र विदेशमा बढी समय प्रशिक्षणमा राख्नुपर्ने बताए । ‘खेलाडीलाई भन्दा बढी एक्सपोजर दियो भने मेडलको सम्भावना रहन्छ’, उनले भने, ‘यहाँ पनि प्रशिक्षण राम्रो भइरहेको छ, खेलाडीहरुले कडा मेहनतका साथ प्रशिक्षण लिइरहेका छन्, तर यहाँको प्रशिक्षणले मात्र हुँदैन, उनीहरुलाई एक्सपोजर चाहिएको छ, त्यो चाँडो हुनुपर्छ ।’

अर्का प्रशिक्षक हिरासिंह डंगोल पनि श्रेष्ठको भनाइमा सहमत छन् । उनले भने,‘खेलाडीलाई १५ दिनअघि मात्र विदेशमा लगेर प्रशिक्षण गराउँदा नतिजा राम्रो आउँदैन, उनीहरुलाई यहाँ कम र विदेशमा बढी समय प्रशिक्षण दिइनुपर्छ ।’

खेलाडीलाई जापान वा युरोपियन देश लैजाने भनिए पनि टुंगो नलागेको प्रशिक्षक श्रेष्ठले बताए । जापानमा जाँदा त्यहाँका राष्ट्रिय खेलाडी पनि बन्द प्रशिक्षणमा रहने भएकाले एक्सपोजर कम हुनसक्ने तथा उनीहरु केही बलिया भएकाले खेलका क्रममा नेपाली खेलाडी पराजित हुँदा मनोबल गिर्नसक्ने सम्भावना भएकाले युरोपियन देश उपयुक्त हुने उनको भनाइ छ ।

तस्वीरः सुदर्शन रञ्जित

लेखक
सन्देश श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय