Comments Add Comment

‘लिलिबिली’ का निर्माताहरुबीच लफडाः गोविन्दविरुद्ध मिलन र सुदिपको उजुरी

गोविन्द भन्छन्- प्रहरीमा जान्छु

केही समयअघि ‘लिलिबिली’ का निर्देशक मिलन चाम्सले नायक प्रदिप खड्कालाई विभिन्न आरोप लगाउँदै मिडियावाजी गरेपछि हंगामा नै भयो । यो प्रकरण केही दिनसम्म चर्कियो, तर प्रदिपले कुनै जवाफ नदिएपछि आफैं सेलायो ।

तर, अहिले फेरि चलचित्रका ३ निर्माताविच लफडा सुरु भएको छ । चलचित्रको शेयरको बिषयमा उत्पन्न विवाद चलचित्र निर्माता संघ र चलचित्र संघसम्म पुगिसकेको छ ।

चलचित्रका दुई निर्माता मिलन चाम्स र सुदिप खड्काले अर्का निर्माता गोविन्द शाहीले बजारबाट पैसा उठाएर आफूहरुलाई नदिएको भन्दै निर्माता संघमा उजुरी दिएका छन् । उनीहरुले, सम्पूर्ण हिसाबकिताब फाइनल नभएसम्म हलबाट पैसा भुक्तानी नगर्न माग गरेका छन् ।

उनीहरुको उजुरीको आधारमा निर्माता संघले चलचित्र संघलाई पत्र काटेको छ । निर्माता संघको पत्र प्राप्त भएपछि चलचित्र संघले अहिले ‘लिलिबिली’को शेयरवापतको रकम नदिनु भन्दै हलहरुलाई पत्र काटेको छ । त्यसपछि चलचित्रका बितरक समेत रहेका निर्माता शाहीले पैसा उठाउन पाएका छैनन् ।

म प्रहरीमा जान्छुः गोविन्द शाही
निर्माता तथा वितरक शाहीले आफू कुरा नमिलेको खण्डमा प्रहरीसम्म पुग्ने बताएका छन् । उनले अनलाइनखबरसँग भने-‘म बितरक भएको नाताले पहिले सबै हलबाट पैसा त उठाउनुपर्‍यो नी । पैसा नै नउठाई मैले कसरी शेयर बाँडफाँड गर्नु ?’ आफूले बारम्बार हलबाट पैसा उठाइसकेपछि हिसाबकिताब गरौला भनेको तर अहिले आएर उजुरी हालेको भन्दै गोविन्द आक्रोशित बनेका छन् ।

उनी भन्छन्, ‘हाम्रो सहमतीअनुसार सबैले २५-२५ लाख रकम लगानी गर्ने भन्ने थियो । तर, चलचित्र १ करोड २५ लाखमा सक्छु भनेर निर्देशक मिलन चाम्सले २ करोड १५ लाख लगाइदिए । चलचित्रको छायांकन भैरहेको समयमा सुदिप र मिलनले हात उठाए । मैले आफ्नो इज्जतको लागि १ करोड ८ लाख रुपैयाँ लगानी गरेर चलचित्र सकेँ । नत्र, चलचित्र नै रिलिज हुने थिएन । चलचित्र बनाउने बेलामा मैले सक्दिनँ भनेर हात उठाउने, अनि अहिले ठूला कुरा गर्ने ?’

गोविन्दले विदेशमा चलचित्र बेचेको कुनै पनि रकम आफूलाई नदिइएको भन्दै आफ्नो त्यत्रो रकम लगानी भएको र त्यो उठाउन नपाउने भनेर प्रश्न गरेका छन् ।

उनका अनुसार सुदिप र मिलनले २५ लाखभन्दा बढी रकम झिकेनन् । त्यसैले उनले आफ्नो १ करोड ८ लाख रुपैयाँ लगानी गरेर चलचित्र सकेका हुन् ।

आफू पूर्ण रुपमा निर्दोष रहेको भन्दै गोविन्दले सबै फाइल तयार गरेर प्रहरीकोमा जाने बताए । उनले, आफू वितरक पनि भएको कारणले १० लाख रकम र ५ प्रतिशत शेयर पनि दिने सहमती गरिएको बताएका छन् ।

वुझिएअनुसार चलचित्र रिलिजअगावै गोविन्द र सुदिपविच एक रेकर्डिङ स्टूडियोमा यही बिषयमा बिबाद हुँदा झन्डै हात हालाहालको अवस्थासमेत आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment