+
+
Shares

सिद्धार्थनगरमा सवा २ अर्बको आयोजना तोकिएको समयभन्दा चाँडै सकिने

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ९ गते १४:०२

९ जेठ, बुटवल । रुपन्देही सिद्धार्थनगर नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गतको सडक निर्माण निर्धारित समयअगावै पूरा हुने देखिएको छ ।

सन् २०२० को जनवरी महिनाभित्र सक्ने लक्ष्यसहित २०१७ जुलाइबाट शुरु भएको आयोजनाले लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको हो ।

२ अर्ब १६ करोड लागतमा चाइना गुन्जाई जेभीले निर्माण गरिरहेको सडक आयोजना अन्तर्गत ४२ वटा सडकको ३५ किलोमिटर सडक कालोपत्रे हुँदै छ भने १२ किलोमिटर नाला निर्माण गरिने छ ।

सडकको छेउछाउ दुवैतर्फ नाला, फुटपाथ, खानेपानी तथा विजुलीको लाइन, हरियाली, सोलार बत्ती जडान र रोड फर्निचरसमेत बनाइँदैछ ।
आयोजनाले अहिलेसम्म ३१ प्रतिशत प्रगति हासिल गर्नुपर्ने लक्ष्य राखेको भए पनि ४३ प्रतिशत लक्ष्य हासिल गरिसकेको क्षेत्रीय शहरी विकास आयोजनाका व्यवस्थापक वरिष्ठ इन्जिनियर शैलेन्द्र प्रसाद श्रेष्ठले बताए ।

‘हाम्रो लक्ष्य भन्दा आयोजनाले राम्रो गति लिएको छ,यो सकारात्मक पक्ष हो’- व्यवस्थापक श्रेष्ठले भने । उनले आयोजना नगरको गौरव भएकाले गुणस्तरीय निर्माणमा कुनै सम्झौता नहुने बताए । उनले अहिले योजना सञ्चालन भएका सडकमा मानव संशाधन प्रयोग भए पनि दोस्रो चरणमा निर्माण हुने सडक मेसिनरी प्रयोगबाट निर्माण गरिने भएकाले गुणस्तर र तोकिएको मिति भन्दा पहिले सकिने बताए ।

पर्यटकीय शहरका रुपमा विकास भइरहेको सिद्धार्थनगरमा आयोजना सम्पन्न भएपछि थप सुन्दर हुने नगरपालिकाको विश्वास छ ।

‘आयोजनाको प्रगति राम्रो छ, सम्पन्न भएपछि मुहार त फेरिन्छ नै भविश्यमा उपमहानगर, महानगर र मेगा सिटीको रुपमा विकास गर्न पनि थप टेवा पुग्छ’ नगर प्रमुख हरिप्रसाद अधिकारीले भने ।

लक्ष्यभन्दा राम्रो प्रगति हासिल गरिरहेको आयोजना यही गतिमा अगाडि बढे २०१९ को अन्त्यसम्म निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ । आयोजना अन्तर्गत पहिलो चरणमा विमानघाट, हाटबजार पथ, हिमाली पथ, जनतापथ, रुद्रपथ, कर्णपथ, ज्योतिपथ, सेवापथ, गल्लामण्डीदेखि दुर्गा कलोनी पथ, शिव पथ, सकुनी पथ, वसन्त पथ, वृहस्पति पथ लगायत १८ वटा सडकको निर्माण जारी छ ।

आयोजनाका अनुसार यी सडक वषर्ायामपछि मात्रै कालोपत्रे गरिने छ भने दुमदुमवा रोड, कैलाशपथ, भैरहवा गाउँ, शहीदपथ, गोनहिया, देवपथ, नगरपालिका पथ, शान्तिपथ, ज्योतिपथ, सेवा पथ लगायतका दुई दर्जन सडक आगामी आर्थिक वर्षबाट मात्र निर्माण सुरु गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?