Comments Add Comment

रामेछापमा ‘नाकाबन्दी’बारे प्रदेशमन्त्रीको आक्रोश : फोटो खिच्नमात्रै बनाएको हो बाटो ?

९ जेठ, रामेछाप । सिन्धुलीबाट रामेछापलगायतका जिल्लामा ठूला गाडी प्रवेश नदिएको एक हप्ता पुगिसक्यो । रामेछापमा यसलाई सिन्धुलीले लगाएको नाकाबन्दी भन्ने गरिएको छ ।

रामेछापका जनप्रतिनिधिसमेत रहेका प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सिन्धुलीले दुई दिनभित्र ‘नाकाबन्दी’ नहटाए आफै ट्रक चढेर बाटो खोल्न जाने बताएका छन् ।

‘केन्द्र सरकारका यातायातमन्त्री रघुवीर महासेठले ३ दिनभित्र समस्या समाधान गर्ने बताउनुभएको छ । यदि भएन भने म आफै ट्रकमा चढेर बाटो खुलाउँछु । हेरौं कसले रोक्दो रहेछ’ उनले भने ।

नागरिकलाई प्रत्यक्ष मार पर्ने गरी यातायात रोकिनु दुर्भाग्यपूर्ण भएको मन्त्री ढुंगेलले बताए । उनले भने, ‘बाटो बिग्रन्छ भनेर गाडी नै चलाउन नदिने पनि काहिँ हुन्छ । बाटो बिग्रिए बनाउनुपर्छ, तर गाडी नै गुड्न नदिएर बाटो जोगाउनुको के अर्थ ? फोटो खिच्नको लागि बनाएको हो र बाटो ?’

विगतमा १२ चक्के ट्रकले खुर्काेटसम्म सामान ओसारेको बताउँदै अब पनि बाटो रोकिराखे आफैले नेतृत्व गरेर बाटो खोल्ने उनले बताए ।

तराईबाट सिन्धुली हुँदै रामेछाप आउने ढुवानी साधनको रुट परमिट नभएको भन्दै गएको जेठ २ गतेदेखि सिन्धुली जिल्ला प्रशासन कार्यालयले रामेछापमा ठूला गाडी रोकेको छ ।

यस विषयमा प्रदेशमन्त्री कैलाश ढुंगेलसहित रामेछाप र दोलखा जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसद, स्थानीय तहका जनप्रतिनिधि उद्योग वाणिज्य संघका प्रतिनिधिले मंगलबार केन्द्र सरकारका यातायात मन्त्री रघुवीर महासेठसंग भेट गरेर समस्याबारे जानकारी गराएका थिए । यातायातमन्त्री महासेठले तीनदिन भित्र बैठक बोलाई समस्या समाधान गर्ने आश्वासन दिएका छन् ।

बीपी राजमार्गमा १० टन भन्दा बढी भारका सवारी साधन सञ्चालनको अनुमति नभएको भन्दै सिन्धुली प्रशासनले तराईबाट रामेछाप, दोलखा, ओखलढुंगा र सोलुखुम्बु आउने गाडी सिन्धुली सदरमुकाममा रोकेको हो ।

यातायात साधन रोकिएपछि रामेछापमा दैनिक उपभोग्य सामान र निर्माण सामग्रीको अभाव भएको छ । तराईबाट आउने उपभोग्य सामान तथा निर्माण सामग्री जिल्ला भित्रन नपाएपछि सर्वसाधारण समस्यामा परेका छन् । जिल्लामा पुनर्निर्माणको काम पनि रोकिएको छ ।

यातायात व्यवस्था विभागबाट १० टनभन्दा माथिका ढुवानीका साधन तथा १९ सिट माथिको क्षमता भएका यात्रुबाहक साधन चलाउन नदिने परिपत्र आएको भन्दै सिन्धुली प्रशासनले माडी बजारमा नै गाडी रोकेको छ ।

एउटै मापदण्डमा बनेको १ सय ६० किलोमिटर लामो बनेपा वर्दिवास सडकको सिन्धुलीदेखि खुर्काेटसम्मको भागमा यातायात सञ्चालनमा प्रशासनले रोक लगाएको छ भने बर्दिबासदेखि सिन्धुलीको सदरमुकाम माडी बजारसम्म भने निर्वाध सञ्चालन हुन दिएको छ ।

यसैगरी खुर्काेटबाट काठमाडौंसम्म २० टनभन्दा बढी गिटी र बालुवा बोकेर ठूला ट्रिपरहरु चलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment