१२ जेठ, काठमाडौं । यस वर्ष ४०० बढीले सगरमाथा आरोहण गरेका छन् । यसबाट मात्र ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ ।
३० वैशाखदेखि शुरु भएको वसन्त ऋतुको आरोहण जेठ ११ गतेसम्म चलेको हो । यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् ।
अघिल्ला वर्ष भन्दा यस पटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ । यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम रोयल्टी संकलन भएको छ ।
त्यसमध्ये सबैभन्दा धेरै रोयल्टी रकम सगरमाथाले संकलन गरेको छ । यो तथ्यांकमा केही बढ्न सक्ने पर्यटन विभागको भनाइ छ । विभागका निर्देशक रामप्रसाद सापकोटाकाअनुसार सगरमाथाबाट ३६ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी संकलन भएको छ ।
सगरमाथासँगै रहेको ल्होत्से हिमालबाट एक करोड ९८ लाख ९३ हजार ६० रोयल्टी संकलन भएको छ । यसैगरी कञ्चनजङ्घाबाट ८२ लाख २६ हजार ७२०, धौलागिरीबाट ६३ लाख ६३ हजार ९०, आमाडब्लामबाट २० लाख ४७ हजार ८७७ र मनास्लुबाट १४ लाख ९३ हजार २८० रकम संकलन भएको छ ।
यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दलका सगरमाथाको शिखर चुम्ने अभियानमा केन्द्रीत भएका थिए ।
सगरमाथा आरोहणको रोयल्टी समेत फरक ऋतुमा फरक-फरक नै छ । विभागकाअनुसार विदेशी नागरिकले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्नेछ । यस्तै शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ । यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा रु ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मी याममा रु १८ हजार २५० रोयल्टी तिर्नुपर्ने व्यवस्था छ ।
वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो । आरोहणको पहिलो दिन डोरी टाग्न पुगेका आठ शेर्पाले आरोहणको उद्घाटन गरेका थिए ।
संसारभर छाए कामीरिता
आरोहणको दोस्रो दिन वैशाख ३१ गते कामीरिता शेर्पाले कीर्तिमान कायम गरे । उनले सगरमाथाको २२ पटक आरोहण गरेर कीर्तिमान कायम गरेका हुन् ।
यसअघि कामीसहित आप्पा शेर्पा र फुर्वा तासी शेर्पाको नाममा २१ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम थियो ।
यस्तै पेम्बा दोर्जे शेर्पाले पनि कीर्तिमान कायम गरेका छन् । पेम्बाले पृथ्वीनारायण शाहको मूर्तिसहित सगरमाथाको आरोहण गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठको भनाइ छ ।२००४ मा पेम्बाले आठ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेरका थिए ।
चौबीस वर्षको उमेरमा सगरमाथा आरोहण शुरु गरेका कामीरिताले संसारका अग्ला शिखरको आरोहण गरिसकेका छन् ।
सन् १९५३ मा तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सर्वोच्च शिखरको आरोहण गरेका थिए । सगरमाथा आरोहणको ६४ वर्षको अवधिमा करिब आठ हजारले सगरमाथाको शिखर चुमेका छन् ।
आरोहणका क्रममा २८६ जनाको निधन भएका छन् ।
अघिल्लो वर्षको वसन्त ऋतुमा ४३ समूहका ३६६ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । सन् २०१६ मा ३८ वटा समूहका ३०० भन्दाबढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए । गत वर्षमा भन्दा यस वर्ष आरोहण सहज देखिएको छ ।
विगतमा भन्दा कम क्षति
यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणको क्रममा तीन जनाको मृत्यु भएको छ । यस्तै हिम पहिरोमा परी एकजना मात्रै बेपत्ता भएका छन् । खुम्बुफर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको यही जेठ २ गते बुधबार मृत्यु भएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका– १ का ३६ वर्षीय शेर्पाको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीका अनुसार आधार शिविर–२ को खुम्बु आइसफलमा लडेर घाइते भएका शेर्पाको तत्काल उपचारका लागि सोही गाउँपालिका– ५ स्थित माउण्टेन मेडिकलमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
शेर्पा हिमालयन एशोसिएसन कम्पनीबाट सगरमाथा आरोहणमा जानुभएको थियो । यसअघि सगरमाथा आरोहणकै क्रममा दुई विदेशीको मृत्यु भएको थियो । शिविर तीन पुगेर फर्कने क्रममा गत आइतबार राति ३६ वर्षीय जापानी नोबुकाजु कुरिकी र ६२ वर्षीय मेसोडोनियाली जेओर्जी पेटकोभको सगरमाथाको शिविर तीन माथि लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्पर्क अधिकृत श्रेष्ठकाअनुसार अघिल्ला वर्षमा भन्दा यस वर्षको आरोहणमा कम क्षति भएको छ ।
२०१७ मा तीन आरोहीको निधन भएको थियो भने एक आरोही हराएका थिए ।२०१५ मा २२ आरोहीको मृत्यु भएको थियो ।
२०१४ मा हिमपहिरोका कारण १६ नेपालीसहित १९ जनाको निधन भएको थियो । यस्तै सन् २०१२ मा हिमपहिरोमा परेर ११ जनाको निधन भएको थियो ।यस पटकको आरोहणमा कम मात्रै मानवीय क्षति भएको श्रेष्ठको भनाइ छ ।
नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा विगत वर्ष भन्दा यस पटक सगरमाथा आरोहण बढी सुरक्षित रहेको र मानवीय क्षति समेत कम भएको बताए । आरोहणका क्रममा बढी सर्तकर्ता अपनाइएको, तालीम प्राप्त पथप्रदर्शकको व्यवस्था तथा समयमै सम्पूणं आरोहणको जानकारीलगायतका कारण पनि क्षति कम भएको उनको भनाइ छ ।
आरोहणको रोयल्टीमध्ये ७० प्रतिशत सरकारलाई र ३० प्रतिशत सम्बन्धित जिल्लाको स्थानीय विकासमा खर्च गरिने पनि पूर्वअध्यक्ष शेर्पाले जानकारी दिए ।