Comments Add Comment

अनमोलको पारिश्रमिकबारे तैं चुप मैं चुप


नेपाली चलचित्रको बजार पछिल्लो समय प्रतिस्पर्धात्मक अवस्थामा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा समेत नेपाली चलचित्रले राम्रो पकड जमाउँदै गर्दा यसको मेकिङ पनि महंगिएको छ र कलाकारहरुले बढिभन्दा बढि डिमान्ड गर्न थालेका छन् ।

कथावस्तुमा लुट्पुटिएको नेपाली चलचित्र बजार अहिले फेरि स्टार अनुहारमा केन्द्रित हुन थालेको छ । दयाहाङ राई, सौगात मल्लको यूगबाट अनमोल केसी, प्रदिप खड्काको यूगमा चलचित्र बजार प्रवेश गर्दै गर्दा दर्शकले कथावस्तुसँगै अनुहार पनि खोज्न थालेका छन् । योसँगै कलाकारले पारिश्रमिकको डिमाण्ड गर्नु स्वभाविक नै हो ।

गत वर्षसम्म निर्माताहरु पनि कलाकारलाई यति र उति रकम दिएको हौवा फिजाउन पछि पर्दैनथे । २ बर्षअगाडि नायक अनमोल केसीले चलचित्र ‘कृ’का लागि २० लाख पारिश्रमिक लिदा यसले खुबै चर्चा पायो । अनमोलले २० लाख लिएपछि सुरु भएको पारिश्रमिकको लडाई करिब २ बर्ष नराम्रोसँग चर्कियो ।

यसपछि प्रदिप खड्का, पल शाह, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ लगायतका कलाकारको पारिश्रमिक डिमाण्ड बढ्यो । जसले, निर्मातालाई चलचित्र बनाउन झनै अप्ठ्यारो बन्ने अवस्था आयो । तर, अब फेरि कलाकार र निर्माता नै पारिश्रमिकको बिषयमा मौन बस्न थालेका छन् ।

नायिका झरना थापाले चलचित्र ‘ए मेरो हजुर ३’मा नायक अनमोल केसीलाई फाइनल गरेसँगै उनले कति पारिश्रमिक लिए भन्ने चर्चा सुरु भएको छ । तर, यस बिषयमा झरना र अनमोल दुबै मौन छन् । झरना भन्छिन्-‘हामीले अनमोललाई चित्त वुझ्ने पारिश्रमिक दिएका छौ । उनी पनि खुशी छन् र हामी पनि खुशी छौ ।’

झरनाका भनाईमा पारिश्रमिकको बारेमा धेरै होहल्ला गर्दा चलचित्र क्षेत्रलाई फाइदा पुग्दैन । सानो चलचित्र बजारमा पारिश्रमिकको लडाईंले कलाकार र निर्माता दुवै पक्षलाई फाइदा नपुग्ने सोचेर झरना र अनमोल तैं चुप मैं चुप बनेका हुन् ।

निर्देशक मिलन चाम्सले आइतबार बेलुकी मात्र नायक अनमोल केसीलाई नयाँ चलचित्रमा अनुवन्धित गरेका छन् । मिलनले पनि अनमोललाई महंगो पारिश्रमिक दिएको चर्चा चलेको छ । तर, अनमोल र मिलन दुबैले पारिश्रमिक लुकाउने सहमती गरेका छन् ।

मिलनले भने-‘पारिश्रमिकको कारणले कलाकार र निर्माता दुबैलाई अप्ठ्यारो पर्ने अवस्था आयो । एउटाले यति लिँदा अर्कोले त्योभन्दा बढी डिमाण्ड गर्न थाले । त्यसैले, पारिश्रमिक सार्वजनिक नगर्ने सहमती गरेका छौ ।’

केही दिन अगाडि शुभसाइत गरिएको चलचित्र ‘रोजी’को कार्यक्रममा नायक प्रदिप खड्कालाई २५ लाख पारिश्रमिक लिएको चर्चाबारे प्रश्न सोधिएको थियो । प्रदिपले पनि आफ्नो पारिश्रमिक सार्वजनिक नगर्ने बताएका थिए । उनले भनेका थिए-‘अहिले मानिसहरुले चलचित्र निर्माणलाई निकै सजिलोसँग हेर्न थाले । एउटा सानो जग्गाको टुक्रो बेचिदियो भने चलचित्र बन्दो रहेछ भन्ने चर्चा चलचित्र बजारमा चल्न थालेको छ । चलचित्र पैसा भन्दा पनि कला हो । यसैले, पारिश्रमिकको कुरा नगर्दा नै राम्रो हुन्छ ।’

२ बर्ष अगाडिसम्म पारिश्रमिक सार्वजनिक गर्दा गर्व गर्ने निर्माता र कलाकार अहिले यसलाई लुकाउन थालेका छन् । अर्कोतिर सम्झौताभन्दा बढी रकमको हौवा फिजाएर कलाकारहरुले पनि आफूलाई महंगो देखाइरहेका छन् ।

यसैले, पनि २ बर्षमै नेपालका निर्माता र कलाकारले पारिश्रमिकको हल्ला गर्न हुँदैन भन्ने बुझेको जस्तो छ । पारिश्रमिक आफ्नो ठाउँमा छ । उत्कृष्ट चलचित्र बनाउने र खेल्ने हो भने निर्माता र कलाकारलाई दर्शकले माया दिनेछन् । जुन, उनीहरुका लागि सबैभन्दा ठूलो पारिश्रमिक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment