१४ असोज, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले सरकारलाई सुशासनबारे के कस्ता काम भए ? भन्दै प्रश्न गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
‘सरकार गठन हुँदा भनिएको थियो, पहिलो वर्ष सुशासन र सेवा प्रवाहलाई केन्द्रमा राखिन्छ,’ सांसद मल्लले भने, ‘आज छ महिना पुग्दा त्यो सुशासन कहाँ पुग्यो होला ?’
किसानले मल नपाएको, उपभोक्ताले ग्यास नपाएको स्मरण गराए । ‘चाडपर्व नजिकिदै गर्दा दाल, चामल, चिनी, तरकारी लगायत दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ । बैंकमा तरलता छ तर निजी क्षेत्र लगानी गर्न हच्किरहेको छ,’ उनले भने ।
चुनावका बेला ‘नो लाइन, ओन्ली अनलाइन’ भनिएको सरकारी नारालाई पासपोर्ट लिनेको लाइनले गिज्याइरहेको उनले टिप्पणी गरे ।
अस्पताल बाहिरको सडकमा बच्चा जन्माउन बाध्य आमाको पीडाले सरकारको प्रतिबद्धतामा प्रश्न गरिरहेको बताए ।
‘सरकारको आलोचना गरेकै कारण सत्ता पक्षकै सांसद धम्काउने, मिडियालाई तर्साउने, मध्यरातमा मान्छे समाउने र नागरिकमाथि साइबर बुलिङ गर्ने प्रवृत्ति कसरी लोकतान्त्रिक हुन्छ ?,’ सांसद मल्लले सोधे । उनले अगाडि भने, ‘भय र सन्त्रासबाट शासन चलाउने अभ्यास निरंकुशताको अभ्यास होइन र सभामुख महोदय ?’
सरकारको ६ महिनाको मूल्यांकन गर्दा नागरिकको भान्सा, किसानको खेत, युवाको रोजगारी, अस्पतालको उपचार, उपभोक्ताको समस्या हेर्नुपर्ने सुझाएका छन् ।
प्रतिक्रिया 4