+
+
Shares

सुदूरपश्चिममा नेकपाभित्र किचलो, खगराजलाई मुख्यमन्त्रीमा रोक्न मोर्चाबन्दी

नेकपा संसदीय दलका नेता रहेका खगराज भट्ट मुख्यमन्त्री बन्ने लगभग निश्चित भनिएको छ । तर, साविक माओवादी केन्द्रभित्र तत्कालीन समयदेखि रहेको आन्तरिक शक्ति, संघर्षको किचलो फेरि सतहमा आएको छ ।

जनक विष्ट जनक विष्ट
२०८३ साउन १६ गते ८:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको पूर्वसन्ध्यामा सबैभन्दा ठूलो दल नेकपाभित्र आन्तरिक किचलो र पद बाँडफाँडको विषय पेचिलो बनेको छ ।
  • तत्कालीन माओवादी केन्द्रबाट आएका खगराज भट्टलाई मुख्यमन्त्री बनाउने सहमति भए पनि मानबहादुर धामी पक्षले उनलाई रोक्न आन्तरिक प्रयास जारी राखेका छन् ।
  • नेकपाका उपनेता प्रकाश रावलले पार्टीभित्र कुनै समस्या नरहेको र शीर्ष नेतृत्वको संवादपछि मुख्यमन्त्री कमल शाहले मार्ग प्रशस्त गरेर सरकार गठन अघि बढ्ने बताउनुभयो ।

१५ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कम्युनिस्ट पार्टी(नेकपा) आन्तरिक किचलोमा फसेको छ । तत्कालीन माओवादी केन्द्र, नेकपा समाजवादी र नागरिक उन्मुक्ति पार्टी(नाउपा) बीच एकीकरण भएर नेकपा बनेको थियो ।

प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य चलेका बेला नेकपाभित्र भने आन्तरिक किचलो सुरु भएको हो । एमाले र नेकपाबीच भएको भागबण्डाअनुसार अब बन्ने सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ ।

उक्त सहमतिअनुसार अहिले नेकपा संसदीय दलका नेता रहेका खगराज भट्ट मुख्यमन्त्री बन्ने लगभग निश्चित भनिएको छ । तर, साविक माओवादी केन्द्रभित्र तत्कालीन समयदेखि रहेको आन्तरिक शक्ति, संघर्षको किचलो फेरि सतहमा आएको छ ।

भट्टलाई मुख्यमन्त्री बन्नबाट रोक्न मानबहादुर धामी पक्ष सक्रिय बनेको छ । स्रोतकाअनुसार १२ माघ २०८० मा भट्टलाई तत्कालीन माओवादी केन्द्रको दल नेताबाट हटाएर आफू बनेका धामीले फेरि सोही खालको शक्ति संघर्षलाई अघि बढाएका छन् ।

केही दिनअघि धामी पक्षले फेरि भट्टलाई दल नेताबाट हटाएर आफू मुख्यमन्त्री बन्ने योजनाअनुसार आन्तरिक गृहकार्य थालेको थियो । उनीहरूले बहुमत पुर्‍याएर भट्टलाई दल नेताबाट हटाउने खोजेका थिए, तर साविकको नागरिक उन्मुक्ति पार्टी(नाउपा) र एकीकृत समाजवादी पार्टीका सांसदको साथ नपाएपछि रोकिएको स्रोत बताउँछ ।

‘उहाँहरूले हामीलाई पनि हस्ताक्षरका लागि प्रस्ताव गर्नुभएको थियो । तर, हामीले त्यो कुरा नमानेपछि अहिले त्यतिकै रोकिएको छ,’ साविक नाउपाका एक सांसदले भने, ‘त्यसपछि खासै छलफल भएको छैन । कुरा के कसरी अघि बढ्छ भन्ने कुरा हेदैछौं ।’

धामी पक्षले उनीहरूसँग छुट्टाछुट्टै छलफल समेत गरेको थियो । साविक एकीकृत समाजवादी पार्टीका सांसदहरूलाई पनि उक्त प्रस्ताव गरिएको थियो, तर सकारात्मक जवाफ नआएपछि यत्तिकै रोकिएको दाबी गरिएको छ ।

तत्कालीन समयमा भट्टलाई दल नेताबाट हटाउदा त्यो बेलाका उपनेता रहेका अक्कलबहादुर रावल, मानबहादुर धामी, ओमविक्रम भाट, शिवसिंह ओली, गीतादेवी माल र लक्ष्मी बिक एक ठाउँमा थिए ।

भट्टसहितका रमेश धामी, झपट साउँद र जानकी पौडेल चार जना भने उनको पक्षमा थिए । स्रोतकाअनुसार अहिलेको परिस्थितिमा भने सांसदहरू यताउता भएका छन् । विगतमा भट्टलाई दल नेताबाट हटाउन सक्रिय बनेका केही सांसद भट्टको पक्षमा उभिएका छन् । केही भने धामीतिर सरेका छन् ।

साविक माओवादीभित्रैको संख्याले दल नेता फेरिन स्थिति नदेखिएपछि अहिले उनीहरूबीच मन्त्री पदका लागि हानथाप नै चलेको बताइन्छ । धामीपक्षीय एक सांसदले पनि दल नेता परिवर्तन गर्ने अभ्यास यो बीचमा गरिएको, तर सफल नहुने देखिएपछि पछि हटेको कुरा स्वीकार गरेका छन् ।

मानबहादुर धामी नै माओवादीको दल नेता भएका बेला एकीकरण भएपछि खगराज एकतापछि दलको नेता बनेका थिए । साविक माओवादीमै मन्त्री को बन्ने ? तीव्र दौडधुप चलेका बेला साविक नाउपाले राज्यमन्त्री र दुुई मन्त्री पाउनुुपर्ने अडान पनि राखेको छ ।

साविक एकीकृत समाजवादी पार्टीले पनि सरकारमा सम्मानजनक सहभागिता खोजेको छ । मुख्यमन्त्री खगराज भट्टलाई नै बनाउने अवस्थाबीच पनि नेकपामा पद र शक्ति बाँडफाँडको विषय पेचिलो बन्ने देखिएको छ ।

नेकपाका उपनेता प्रकाश रावलले भने पार्टीभित्र कुनै खालको समस्या नरहेको दाबी गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले मार्ग प्रशस्त गरेपछि केन्द्रको सहमतिअनुसार नै सरकार गठनको प्रक्रिया अघि बढ्ने बताउँछन् ।

‘बाहिर के—कसरी कुरा आइरहेका छन् ? भन्ने कुराको खासै अर्थ हुदैन् । पार्टीभित्र भनिएजस्तो कुनै खालको समस्या छैन । शीर्ष तहमा नेताहरूबीच छलफल, संवाद जारी छ,’ रावलले भने, ‘मुख्यमन्त्री कमल शाहले मार्ग प्रशस्त गरेपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ ।’

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?