+
+
Shares

एकता होइन, पुनर्जन्म पर्खिरहेको वाम राजनीति

वाम दलहरूको संकट टुटफुट वा चुनावी पराजयमा मात्र सीमित छैन। यो वैचारिक विचलन, सत्ता–मोह, बिचौलिया पूँजीवादसँगको निकटता र नेतृत्व हस्तान्तरणको असफलतासँग जोडिएको छ। आत्मालोचना, संस्थागत सुधार र जनउत्तरदायित्व विना हुने एकता राजनीतिक पुनर्जागरण नभई पुरानै नेतृत्वको पुनर्चक्रण बन्न सक्छ।

श्री प्रसाद देवकोटा श्री प्रसाद देवकोटा
२०८३ साउन १६ गते ८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली वाम आन्दोलनमा देखिएको वैचारिक विचलन, सत्तालिप्सा र नेतृत्वको अहंकारले गर्दा आन्दोलन आफ्नै सामाजिक आधारबाट टाढिंदै गएको छ।
  • वाम दलहरूले विगतको योगदानको ब्याज मात्र नखाएर वर्तमानमा सुशासन, रोजगारी र तीव्र आर्थिक विकासको परिणाम दिनुपर्ने दबाब बढेको छ।
  • पार्टीको नाम वा झण्डा फेर्नु मात्र पर्याप्त छैन; वाम आन्दोलनको पुनर्जागरणका लागि नैतिक इमानदारी, नेतृत्व पुस्तान्तरण र संस्थागत प्रणाली आवश्यक छ।

नेपालमा वाम एकताको बहस नयाँ होइन। जब–जब वाम दलहरू कमजोर हुन्छन्, निर्वाचनमा अपेक्षित परिणाम प्राप्त गर्न सक्दैनन् वा सत्ता राजनीतिमा उनीहरूको प्रभाव खुम्चिन्छ, एकताको चर्चा फेरि सतहमा आउँछ। तर आजको मूल प्रश्न वाम दलहरू एउटै पार्टी वा गठबन्धनमा आबद्ध हुन्छन् कि हुँदैनन् भन्ने मात्र होइन। प्रश्न यो हो- एकतापछि उनीहरूको विचार, नेतृत्व, कार्यशैली र राजनीतिक चरित्र बदलिन्छ कि बदलिंदैन?

कुनै समय वर्गीय मुक्ति, सामाजिक न्याय र समाजवादी रूपान्तरणका लागि संघर्ष गरेको नेतृत्वको एउटा हिस्सा क्रमशः राज्यसत्ताको विशेषाधिकार, आर्थिक अवसर र शक्ति–केन्द्रित राजनीतिक संस्कृतिसँग अभ्यस्त हुँदैगयो। हिजो शोषक वर्गको आलोचकका रूपमा उभिएको नेतृत्वकै एउटा तप्का कालान्तरमा नवधनाढ्य वर्ग र नवसामन्ती प्रवृत्तिको प्रतिनिधि जस्तो देखिन थाल्यो।

वर्गसंघर्ष, समाजवाद, सर्वहारा नेतृत्व र वैज्ञानिक समाजवाद जस्ता अवधारणा व्यवहारमा रूपान्तरण गर्ने राजनीतिक कार्यक्रम बन्न सकेनन्। ती दस्तावेज, घोषणापत्र र चुनावी भाषणमा दोहोरिने नारामा सीमित हुँदै गए।

वैचारिक आधार कमजोर हुँदै जाँदा पार्टी र शासकीय संयन्त्रमा व्यापारिक घराना, बिचौलिया तथा सीमित स्वार्थ समूहको प्रभाव बढ्यो। नीतिगत भ्रष्टाचार, अपारदर्शी आर्थिक सम्बन्ध, संरक्षणवाद र पद–केन्द्रित राजनीतिले वाम नेतृत्वको नैतिक विश्वसनीयतामाथि गम्भीर प्रश्न उठायो। नीतिनिर्माण सार्वजनिक हितभन्दा सीमित आर्थिक तथा राजनीतिक स्वार्थसँग जोडिएको देखिन थालेपछि समानता, सामाजिक न्याय र सार्वजनिक उत्तरदायित्वका मूल्य पनि कमजोर बन्दै गए।

जसको श्रम, संघर्ष, बलिदान र विश्वासको जगमा नेपाली कम्युनिस्ट आन्दोलन उभिएको थियो, समयसँगै त्यही श्रमिक, किसान, गरिब र सीमान्तकृत समुदायसँग उसको वैचारिक तथा राजनीतिक सम्बन्ध कमजोर भयो। आन्दोलनको केन्द्रमा वर्गीय रूपान्तरणको सट्टा सत्ता संरक्षण, संगठन विस्तारको सट्टा शक्ति सन्तुलन र जनउत्तरदायित्वको सट्टा पद व्यवस्थापन हावी भयो। परिणामतः वाम आन्दोलन आफ्नै सामाजिक आधारबाट टाढिंदै गयो।

आज नेपाली वाम आन्दोलनले सामना गरिरहेको सबैभन्दा गम्भीर संकट यही विच्छेदन हो।

वाम आन्दोलनको क्षय कुनै एउटा निर्वाचनको पराजय वा बाह्य षड्यन्त्रको परिणाम मात्र होइन। यो झन्डै आठ दशक लामो यात्रामा हुर्किएको वैचारिक विचलन, सत्तालिप्सा, नेतृत्वको अहंकार र बिचौलिया पूँजीवादसँगको सम्झौताको परिणाम हो।

विगतका कम्युनिस्ट एकता र तिनको विघटन पनि सधैं गम्भीर सैद्धान्तिक विवाद वा वैचारिक विभाजनका कारण भएका होइनन्। अधिकांश विभाजनको केन्द्रमा नेतृत्व बीचको शक्ति संघर्ष, अवसरवादी सत्ता समीकरण, कमजोर संगठनात्मक संस्कृति र व्यक्तिकेन्द्रित राजनीतिक अभ्यास देखिन्छ।

वि.सं. २००६ मा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो इतिहासमा अनेक विभाजन र केही एकता भोगेको छ। यसको लामो इतिहास वैचारिक विकास र संस्थागत सुदृढीकरणभन्दा विभाजन, पुनर्गठन, गुटबन्दी तथा नेतृत्व–केन्द्रित शक्ति संघर्षबाट बढी प्रभावित देखिन्छ।

वाम आन्दोलनको क्षयका तीन कारण

क. वैचारिक विचलन र बिचौलिया पूँजीवादसँगको सम्झौता

वाम आन्दोलनको क्षयको पहिलो कारण वैचारिक विचलन र आसेपासे पूँजीवाद अर्थात् ‘क्रोनी क्यापिटलिज्म’सँगको निकटता हो।

मार्क्सवादी विश्लेषण अनुसार कुनै राजनीतिक दल आर्थिक रूपमा जुन वर्ग वा शक्तिमा निर्भर हुन्छ, अन्ततः उसले त्यही वर्गको हित रक्षा गर्ने जोखिम रहन्छ। किसान, मजदुर र उत्पीडित समुदायको प्रतिनिधित्व गर्ने दाबीका साथ उदाएका वाम दलहरू बारम्बार सत्तामा पुगेपछि उनीहरूको सामाजिक तथा आर्थिक चरित्रमा पनि परिवर्तन आयो।

पार्टी सञ्चालन, उम्मेदवार छनोट र नीतिगत निर्णयमा श्रमिक तथा सीमान्तकृत समुदायको हितभन्दा व्यापारिक घराना, ठेकेदार, दलाल पूँजीपति र बिचौलियाको प्रभाव बढेको आरोप लाग्न थाल्यो।

ललितानिवास जग्गा प्रकरणदेखि नक्कली भुटानी शरणार्थी प्रकरणसम्मका ठूला भ्रष्टाचार मुद्दामा स्थापित दलका प्रभावशाली व्यक्ति तथा नेताहरूको नाम जोडिनुले उनीहरूको नैतिक दाबीमाथि प्रश्न उठाएको छ। यी घटनाले कुनै एउटा दललाई मात्र होइन, समग्र पुरानो राजनीतिक नेतृत्वप्रतिको जनविश्वास कमजोर बनाएका छन्।

वाम नेतृत्वले आफूलाई अरूभन्दा बढी नैतिक, जनमुखी र उत्तरदायी शक्तिका रूपमा प्रस्तुत गर्दै आएको थियो। तर व्यवहारमा त्यही दाबी अनुसारको पारदर्शिता कायम गर्न नसक्दा उसको परम्परागत जनाधार खुम्चिंदै गयो। 

ख. इतिहासको ब्याज र नेतृत्वको अहंकार

वाम नेतृत्वमा लामो समयदेखि एउटा मनोविज्ञान देखिन्छ— नेपालमा राजनीतिक परिवर्तन हामीले ल्याएका हौं, त्यसैले देश र सत्तामाथि हाम्रो स्वाभाविक अधिकार छ।

नेपालको राजनीतिक परिवर्तनमा वाम आन्दोलनको योगदानलाई अस्वीकार गर्न सकिंदैन। तर इतिहासप्रति सम्मान हुनु र इतिहासलाई शासन सञ्चालनको स्थायी योग्यता मान्नु फरक विषय हुन्। विगतको योगदानको ब्याज खाएर सधैं राजनीति चलाउन सकिन्छ भन्ने सोचप्रति आजको समाज, विशेषगरी नयाँ पुस्ता, असन्तुष्ट छ।

इतिहासको ब्याज सधैं प्राप्त हुँदैन। एक दिन त्यसको म्याद सकिन्छ। आजको पुस्ताले ‘इतिहासमा के गर्‍यौ?’ मात्र सोधिरहेको छैन। उसले ‘वर्तमानमा के दिइरहेका छौ?’ भनेर प्रश्न गरिरहेको छ। नवीन आकांक्षा बोकेको पुस्ताले इतिहासको व्याख्या मात्र होइन, पारदर्शी शासन, रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्य, प्रविधिको प्रयोग तथा तीव्र आर्थिक विकासको परिणाम खोजेको छ।

नागरिकका दैनिक संकट समाधान गर्न नसक्ने तर विगतको योगदानलाई निरन्तर राजनीतिक वैधताको आधार बनाइरहने प्रवृत्तिका कारण पुराना वाम दलप्रति नयाँ पुस्ताको असन्तुष्टि बढेको हो।

ग. जनमतको अवमूल्यन र पदको संघर्ष

वाम आन्दोलनको क्षयको तेस्रो कारण जनमतको अवमूल्यन र शीर्ष नेतृत्वको पद–केन्द्रित संघर्ष हो।

वि.सं. २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई मतदाताले राजनीतिक स्थिरता र समृद्धिको अपेक्षा सहित प्रतिनिधिसभामा १७४ सिटको बलियो जनादेश दिएका थिए। तर त्यो जनादेशलाई नीतिगत रूपान्तरण, संस्थागत सुधार र दीर्घकालीन विकासको आधार बनाउन सकिएन।

सरकार र पार्टी सञ्चालनमा ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष को बन्ने?’ भन्ने विवाद हावी भयो। शीर्ष नेता बीचको अविश्वास, शक्ति सन्तुलनको संघर्ष र पदको प्रतिस्पर्धाले एकीकृत पार्टीलाई आन्तरिक संकटतर्फ धकेल्यो।

साढे तीन वर्षभित्र प्रतिनिधिसभा दुई पटक विघटन गरियो र दुवै पटक सर्वोच्च अदालतले त्यसलाई पुनःस्थापित गर्‍यो। त्यसै अवधिमा नेपाल कम्युनिस्ट पार्टीको एकता पनि विघटित भयो। स्थिरता, विकास र समाजवादको सपना देखाएर प्राप्त जनादेश सत्ता, पद र व्यक्तिगत प्रतिष्ठाको संघर्षमा क्षय भयो।

यी घटनाले कम्युनिस्ट दलहरू सरकार सञ्चालनभन्दा आन्तरिक संघर्षमा बढी केन्द्रित हुन्छन् भन्ने नकारात्मक धारणा बलियो बनाउन मद्दत गर्‍यो।

विचारको संकट र नेतृत्वमा जडता

वाम दलहरू यतिबेला गम्भीर वैचारिक संकट र नेतृत्व पुस्तान्तरणको अवरोधमा फसेका छन्। दस्तावेजमा मार्क्सवाद–लेनिनवादको चर्चा गर्ने तर व्यवहारमा विकृत उपभोक्तावादी पूँजीवाद अभ्यास गर्ने द्वैध चरित्रले उनीहरूको वैचारिक विश्वसनीयता कमजोर बनाएको छ।

जर्मन समाजशास्त्री रोबर्ट मिचेल्सले प्रतिपादन गरेको ‘अल्पतन्त्रको लौह नियम’ जस्तै वाम दलका संगठन पनि केही सीमित शीर्ष नेताको नियन्त्रणमा केन्द्रित हुँदै गएका छन्। आन्तरिक लोकतन्त्र कमजोर भएको छ।

आलोचनात्मक चेत भएका कार्यकर्ता र सक्षम युवालाई किनारा लगाउने तथा नेतृत्वको ‘जी–हजुरी’ गर्ने समूहलाई अवसर दिने संस्कार बलियो बनेको छ।

यसले पार्टीलाई विचार उत्पादन गर्ने जीवन्त संस्था नभई सीमित नेताको राजनीतिक आयु जोगाउने संरचना जस्तो बनाएको छ।

नेतृत्वमा जकडिएको यो संरचना र बिचौलिया संस्कृति भत्काएर नयाँ पुस्ता, आन्तरिक लोकतन्त्र र पारदर्शी सुशासनको जगमा पार्टी पुनर्गठन नगरेसम्म वाम आन्दोलनको पुनरुत्थान सम्भव देखिंदैन।

वाम राजनीतिसामु तीन कठोर यथार्थ

पहिलो : जनमतको क्षय

पछिल्ला निर्वाचनका परिणामले कम्युनिस्ट दलका परम्परागत मतदाता अब कुनै झण्डामुनि स्थायी रूपमा लामबद्ध रहने अवस्थामा नरहेको संकेत गरेका छन्। मतदाता, विशेषगरी युवा पुस्ताले विचारधाराको नाराभन्दा रोजगारी, सुशासन, गुणस्तरीय शिक्षा र स्वास्थ्य, डिजिटल अर्थतन्त्र तथा अवसरको राजनीतिमा बढी चासो राख्न थालेका छन्।

शीतयुद्धकालीन भाषण र पुरानै राजनीतिक शब्दावलीले आजको जनआवश्यकता सम्बोधन गर्दैनन्। पुराना नाराले नयाँ पुस्तालाई आकर्षित गर्न छाडेका छन्।

दोस्रो : वैचारिक दिवालियापन

वाम दलहरूमा समाजवादको चर्चा निरन्तर हुन्छ। तर नेपाली सन्दर्भमा समाजवादको स्वरूप कस्तो हुने भन्ने स्पष्ट नीतिगत खाका अझै प्रस्तुत हुनसकेको छैन।

समाजवादी अर्थव्यवस्थामा राज्यको भूमिका के हुने? निजी क्षेत्र र बजार अर्थतन्त्रलाई कसरी व्यवस्थित गर्ने? विदेशी लगानी, हरित अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता, डिजिटल रूपान्तरण र विश्वव्यापी प्रतिस्पर्धालाई कसरी सम्बोधन गर्ने? यी विषयमा वाम दलहरूको साझा र स्पष्ट दृष्टिकोण देखिंदैन।

घोषणापत्रमा समाजवाद लेख्ने तर व्यवहारमा अवसरवादी सत्ता समीकरण गर्ने विरोधाभासलाई नागरिकले देखिसकेका छन्।

तेस्रो : नेतृत्व पुस्तान्तरणमा असफलता

दशकौंदेखि उही अनुहार, उही शैली र उही शक्ति संघर्ष दोहोरिइरहेको छ। संगठनभित्र नयाँ पुस्ताको नेतृत्व विकास गर्नुभन्दा शीर्ष नेताको वरिपरि निष्ठावान् समूह निर्माण गर्ने संस्कृति बलियो छ।

निर्णय प्रक्रियामा नयाँ पुस्ताको सहभागिता न्यून छ। नेतृत्व हस्तान्तरणको स्पष्ट विधि छैन। वैचारिक बहस र प्रतिस्पर्धाको सट्टा गुटगत निष्ठाले अवसर निर्धारण गर्छ।

परिणामतः दलहरू विचार उत्पादन गर्ने संस्थाभन्दा सीमित व्यक्तिको राजनीतिक आयु लम्ब्याउने संयन्त्र जस्ता देखिन थालेका छन्।

एकताअघि जवाफ खोज्नुपर्ने पाँच प्रश्नको जवाफ

त्यसैले आजको बहस वाम एकता गर्ने कि नगर्ने भन्नेमा मात्र सीमित हुनुहुँदैन। वास्तविक बहस वाम आन्दोलनलाई कसरी पुनर्जीवित गर्ने भन्नेमा केन्द्रित हुनुपर्छ।

कुनै पनि प्रस्तावित वाम एकताले कम्तीमा यी पाँच प्रश्नको स्पष्ट उत्तर दिन सक्नुपर्छ: समाजवादको नेपाली मोडेल के हो? पार्टीभित्र व्यक्तिभन्दा संस्थालाई कसरी बलियो बनाइन्छ? नेतृत्व हस्तान्तरणको निश्चित र पारदर्शी प्रक्रिया के हुन्छ? भ्रष्टाचार नियन्त्रण, सुशासन र सार्वजनिक उत्तरदायित्वका साझा मापदण्ड के हुन्?

युवा पुस्ताको आकांक्षा अनुसार रोजगारी, प्रविधि, उत्पादन र आर्थिक रूपान्तरणको कार्यक्रम के हो? यी प्रश्नको उत्तर विना हुने एकता चुनावी गठबन्धन त बन्न सक्छ, तर राजनीतिक पुनर्जागरण बन्न सक्दैन।

वास्तवमा आज नेपालको मुख्य संकट वाम एकताको अभाव होइन, विश्वसनीय राजनीतिक संस्कृतिको अभाव हो। जनताले एउटै झण्डाभन्दा इमानदार शासन खोजेका छन्। एउटै घोषणापत्रभन्दा उत्तरदायी नेतृत्व चाहेका छन्।

फेरि उही नेतृत्व, उही सत्ता–मोह, उही व्यक्तिकेन्द्रित संस्कार र उही अवसरवादी राजनीतिको जगमा वाम एकता निर्माण गरिन्छ भने त्यो जनआकांक्षाको सम्बोधन होइन; असफल नेतृत्वको राजनीतिक पुनर्चक्रण हुनेछ।

नेतृत्व, सोच र कार्यशैली नबदली पार्टीको नाम, झण्डा वा चुनाव चिह्न फेर्दैमा राजनीतिक चरित्र बदलिंदैन।

आत्मालोचना विनाको एकता, सिद्धान्त विनाको सहकार्य र जनविश्वास विनाको सत्ता–खोज राजनीतिक पुनर्जागरण होइन। त्यो अवसानतर्फ उन्मुख नेतृत्वले आफ्नो राजनीतिक आयु केही समय लम्ब्याउने प्रयास मात्र हुनेछ।

इतिहासले पटक–पटक देखाएको छ— पुरानो अहंकार, पुरानो सत्ता–मोह र पुरानै राजनीतिक संस्कारबाट नयाँ भविष्य निर्माण हुँदैन। त्यहाँ पुरानै असफलताको पुनरावृत्ति हुन्छ।

विचार विनाको एकता टिक्दैन, संस्था विनाको पार्टी बलियो हुँदैन र जनविश्वास विना प्राप्त सत्ता दीर्घकालीन हुँदैन। त्यसैले आजको मुख्य प्रश्न ‘वामहरू एक हुन्छन् कि हुँदैनन्?’ भन्ने होइन। प्रश्न हो—उनीहरू व्यक्तिकेन्द्रित सत्ता–मोह, अवसरवादी गठबन्धन, नेतृत्वको अहंकार र पुरानो राजनीतिक संस्कारबाट मुक्त हुन तयार छन्?

व्यक्तिको अहंकारमा उभिएको एकता टिक्दैन। संस्थाभन्दा नेता ठूलो भएको राजनीति सफल हुँदैन। जनविश्वास गुमाएको नेतृत्वले सत्ता समीकरण त बदल्न सक्छ, तर इतिहासको फैसला बदल्न सक्दैन।

यदि विचार, नेतृत्व, कार्यशैली र राजनीतिक चरित्र उही रहने हो भने नयाँ एकताको घोषणा राजनीतिक पुनर्जागरण हुनेछैन। त्यो जनताले अस्वीकार गरिसकेको नेतृत्वलाई नयाँ आवरणमा प्रस्तुत गर्ने प्रयास मात्र हुनेछ।

झण्डा फेरिंदैमा राजनीति बदलिंदैन। लोगो फेरिंदैमा विचार शुद्ध हुँदैन। समीकरण फेरिंदैमा जनविश्वास फर्किंदैन। राजनीतिक दलको आयु गठबन्धनले केही समय लम्ब्याउन सक्छ, तर इतिहासमा उसको स्थान चरित्र, इमानदारी र जनउत्तरदायित्वले निर्धारण गर्छ। यही कारण आजको सबैभन्दा ठूलो चुनौती वाम एकता होइन, वाम राजनीतिको नैतिक र वैचारिक पुनर्जन्म हो।

लेखक
श्री प्रसाद देवकोटा

देवकोटा त्रिभुवन विश्वविद्यालयमा द्वन्द्व, शान्ति र विकास अध्ययनका पीएचडी स्कलर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?