News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले प्रदेश सरकारको नेतृत्वबारे पूर्वसहमति नभएको निष्कर्ष निकाल्दै सत्ता गठबन्धन तोड्ने निर्णय गरेपछि राष्ट्रिय राजनीति पुनः तरङ्गित बनेको छ।
- जेनजी विद्रोह र जनदबाबका बीच विशेष महाधिवेशनबाट परिवर्तनको प्रतिबद्धता जनाएको कांग्रेसलाई अहिले सत्ताकेन्द्रित खेलले आफ्नो साख जोगाउने चुनौती थपिएको छ।
- अल्पकालीन सत्तालाभभन्दा दीर्घकालीन जनविश्वास र राजनीतिक संस्कार परिवर्तनलाई प्राथमिकता दिनु नै कांग्रेसको आगामी दिशा हुनुपर्ने विश्लेषकहरूको सुझाव छ।
जेनजी आन्दोलनपूर्वको नेकपा एमालेसँगको सत्ता गठबन्धनलाई निरन्तरता दिंदै आएको नेपाली कांग्रेसले यतिबेला प्रदेश सरकारको नेतृत्व पूर्वसहमति अनुसार नचलेको निष्कर्ष निकाल्दै गठबन्धन तोड्ने निर्णय गरेसँगै फेरि राष्ट्रिय राजनीति तरङ्गित बनेको छ। संवैधानिक रूपमा सरकार परिवर्तन स्वाभाविक राजनीतिक प्रक्रिया हो।
तर लोकतन्त्रमा कुनै पनि राजनीतिक निर्णयको मूल्याङ्कन संविधानको व्यवस्थाले मात्र हुँदैन, त्यसको मूल्याङ्कन जनमत, राजनीतिक नैतिकता, लोकतान्त्रिक संस्कार र दीर्घकालीन राष्ट्रिय हितका आधारमा पनि गरिनुपर्छ। त्यसैले आजको मूल प्रश्न सरकार कसले बनाउने भन्ने होइन, जनताले परिवर्तनका नाममा दिएको सन्देशलाई राजनीतिक दलहरूले कसरी बुझिरहेका छन् भन्ने हो।
केही वर्षयता नेपाली राजनीतिप्रति जनतामा बढ्दै गएको असन्तुष्टिलाई जेनजी विद्रोह मार्फत संस्थागत गर्न नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी सफल देखिएको छ। यद्यपि उक्त दलको झन्डै दुईतिहाइ बहुमतको सरकारले प्रतिबद्धता गरे अनुसार परिवर्तनको कुनै गुन्जायस देखिंदैन, जसलाई सरकारले हालै प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटले पुष्टि गरिसकेको छ।
अझ स्पष्ट रूपमा बुझ्दा गरिब र सुकुमवासीहरूप्रति सरकारको निर्ममताले आत्महत्याको शृङ्खला बढेको छ। जेनजी विद्रोह कुनै एउटा दल विरुद्धको आन्दोलन थिएन। यो पुरानो राजनीतिक संस्कृति विरुद्धको असन्तुष्टि थियो। सत्ताका लागि अस्वाभाविक गठबन्धन, बारम्बार सरकार परिवर्तन, भ्रष्टाचार, भागबन्डा, अवसरवाद र जनमतको उपेक्षाले युवालाई राजनीतिक व्यवस्थाप्रति प्रश्न उठाउन बाध्य बनाएको थियो। उनीहरूले नयाँ अनुहार मात्र होइन, नयाँ राजनीतिक चरित्रको माग गरेका थिए।
यही जनदबाबका बीच नेपाली कांग्रेसले पनि आत्मसमीक्षाको आवश्यकता महसुस गरेको उदाहरण विशेष महाधिवेशनलाई लिन सकिन्छ। उक्त समयमा स्वयं पङ्क्तिकारले समेत राष्ट्रिय राजनीतिक दलहरूको नेतृत्व रूपान्तरणको अपरिहार्यतालाई सामाजिक सञ्जाल र विभिन्न लेख–रचना मार्फत दलीय नेतृत्वमाथि दबाब पैदा गर्न खोजेको संस्मरण आज पनि ताजै छ। तथापि नेकपा एमाले र माओवादीभित्र रूपान्तरणको मुद्दा दबाइए पनि नेपाली कांग्रेसको विशेष महाधिवेशन त्यसैको परिणाम थियो। यसको उद्देश्य केवल नेतृत्व परिवर्तन गर्नु थिएन, राजनीतिक संस्कार परिवर्तन गर्नु पनि थियो। पार्टीभित्र नयाँ ऊर्जा, नयाँ पुस्ताको सहभागिता, नीतिमा आधारित राजनीति, पारदर्शिता र जनताप्रतिको उत्तरदायित्वलाई संस्थागत गर्ने अपेक्षा गरिएको थियो। विशेष महाधिवेशनले कांग्रेसलाई नयाँ दिशातर्फ अघि बढ्ने अवसर दिएको थियो।
तर अहिले फेरि प्रदेश सरकारको नेतृत्व परिवर्तनका नाममा सत्ता समीकरण फेरबदल गर्ने चर्चा शुरु भएपछि एउटा गम्भीर प्रश्न उठेको छ- यदि फेरि पुरानै सत्ताकेन्द्रित राजनीति दोहोरिने हो भने विशेष महाधिवेशन किन आवश्यक थियो ? यदि व्यवहारमा कुनै परिवर्तन आउँदैन भने नेतृत्व परिवर्तनको औचित्य के रहन्छ ? जनताले नयाँ सोचको अपेक्षा गरेका थिए कि पुरानै खेलको नयाँ संस्करण ?
नेपालको राजनीतिक इतिहासले एउटा महत्त्वपूर्ण शिक्षा दिएको छ कि जनताले सत्ता परिवर्तनभन्दा बढी राजनीतिक संस्कार परिवर्तन चाहेका छन्। २०४६ सालको जनआन्दोलनदेखि गणतन्त्र स्थापना, संविधान निर्माण र पछिल्ला निर्वाचनसम्म जनताले बारम्बार परिवर्तनको पक्षमा मत दिएका छन्। तर प्रत्येक परिवर्तनपछि उही सत्ताकेन्द्रित प्रवृत्ति, उही भागबन्डाको संस्कृति र उही अस्थिर गठबन्धनको राजनीति दोहोरिंदा नागरिकमा गहिरो निराशा पैदा भएको छ। यही निराशाले विशेषगरी युवा पुस्तालाई परम्परागत राजनीतिप्रति प्रश्न गर्न बाध्य बनाएको यथार्थता जगजाहेर छ।
जेनजी विद्रोहको मूल सन्देश पनि यही थियो कि राजनीति जनताको विश्वासका आधारमा चल्नुपर्छ, सत्ता समीकरणको अङ्कगणितका आधारमा होइन। उनीहरूले राजनीतिक दलहरूलाई स्पष्ट सन्देश दिएका थिए कि अब केवल चुनाव जित्ने रणनीतिले पुग्दैन, जनताको विश्वास जित्ने राजनीतिक चरित्र पनि आवश्यक छ। त्यसैले आज कुनै पनि दलले आफ्नो निर्णय गर्दा जनताले दिएको यही सन्देशलाई केन्द्रमा राख्नुपर्छ।
नेपाली कांग्रेसले विशेष महाधिवेशन मार्फत आफूलाई रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। पार्टीभित्र पुस्तान्तरण, नीतिमा आधारित नेतृत्व, सङ्गठनात्मक सुधार, पारदर्शिता र लोकतान्त्रिक मूल्यको संरक्षणलाई प्राथमिकता दिने उद्घोष गरिएको थियो। धेरै कार्यकर्ताले यसलाई कांग्रेसको दोस्रो पुनर्जागरणका रूपमा व्याख्या गरेका थिए। तर राजनीतिक घोषणाको वास्तविक परीक्षा भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ।
आज प्रदेश सरकार नेतृत्व परिवर्तनका नाममा फेरि अस्थिर गठबन्धनको खेल शुरु भयो भने त्यसले कांग्रेसले व्यक्त गरेको परिवर्तनको सन्देश कमजोर बनाउनेछ। जनताले सहजै प्रश्न गर्नेछन् कि यदि अन्तिम लक्ष्य सत्ता नै थियो भने विशेष महाधिवेशन किन गरियो ? यदि निर्णय गर्ने शैली उही रहन्छ भने नेतृत्व परिवर्तनको अर्थ के रह्यो ? परिवर्तन केवल अनुहारको हो कि राजनीतिक संस्कारको पनि ?
यही कारणले अहिले कांग्रेसले दीर्घकालीन राजनीतिक हित र तत्कालीन सत्ताको लाभ बीच स्पष्ट छनोट गर्नुपर्ने अवस्था आएको छ। इतिहासले कहिलेकाहीं यस्ता अवसर दिन्छ, जहाँ तत्कालीन लाभ त्यागेर दीर्घकालीन विश्वास जित्न सकिन्छ। अहिले कांग्रेस त्यही मोडमा उभिएको देखिन्छ।
राजनीतिमा प्रतिपक्षको भूमिका कमजोरी होइन, लोकतन्त्रको अपरिहार्य आवश्यकता हो। प्रभावकारी प्रतिपक्षले सरकारलाई उत्तरदायी बनाउँछ, जनताको आवाज संसद् र सार्वजनिक बहसमा उठाउँछ तथा वैकल्पिक नीति प्रस्तुत गर्छ। संसारका धेरै लोकतान्त्रिक मुलुकमा चुनाव हारेपछि प्रतिपक्षमा बसेर आफूलाई अझ बलियो बनाउने परम्परा छ।
नेपालमा भने अझै पनि सत्ता बाहिर बस्नुलाई राजनीतिक असफलता ठान्ने मानसिकता पूर्ण रूपमा हट्न सकेको छैन। कांग्रेसले यही सोच परिवर्तन गर्न सके मात्र नयाँ राजनीतिक संस्कृतिको नेतृत्व गर्न सक्छ।
राजनीतिक परिवर्तनको वास्तविक मापन सरकारको नेतृत्व कसले गर्यो भन्ने प्रश्नबाट होइन, जनताले आफ्नो जीवनमा कति परिवर्तन महसुस गरे भन्ने आधारबाट हुन्छ। आज पनि नेपाली समाजका मुख्य चिन्ता रोजगारी, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक सङ्कट र युवाको बढ्दो विदेश पलायन नै हुन्। तर दुर्भाग्यवश राजनीतिक बहस बारम्बार सत्ता समीकरण, मन्त्रालयको बाँडफाँड र सरकार गठन र विघटनमै सीमित हुने गरेको छ। यसले जनतामा ‘राजनीति आफ्ना समस्याभन्दा सत्ताको खेलमा मात्र केन्द्रित छ’ भन्ने धारणा बलियो बनाएको छ।
यदि नेपाली कांग्रेस अहिले पनि प्रदेश सरकारको नेतृत्व प्राप्त गर्ने उद्देश्यले फेरि नयाँ गठबन्धन निर्माणमा केन्द्रित हुन्छ भने जनताले विशेष महाधिवेशनबाट व्यक्त गरिएको परिवर्तनको सन्देशलाई व्यवहारमा असफल भएको ठान्न सक्छन्। किनभने परिवर्तनको अर्थ सत्ता प्राप्त गर्ने नयाँ बाटो खोज्नु होइन, सत्ता प्रयोग गर्ने नयाँ संस्कृति स्थापित गर्नु हो।
विशेष महाधिवेशनले कांग्रेसलाई एउटा ऐतिहासिक अवसर दिएको थियो। त्यो अवसर पार्टीभित्रको नेतृत्व परिवर्तनभन्दा धेरै ठूलो छ। त्यसले कांग्रेसलाई आफ्नो ऐतिहासिक पहिचान पुनर्जीवित गर्ने अवसर दिएको छ। बी.पी. कोइरालाले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवाद, नैतिक राजनीति, राष्ट्रिय सहमति र जनउत्तरदायी शासनको मार्गलाई समकालीन सन्दर्भमा पुनःस्थापित गर्ने जिम्मेवारी पनि यही परिवर्तनले दिएको हो। यदि पार्टीले अहिलेका निर्णयहरूमा यही दर्शनलाई मार्गदर्शक बनाउन सकेन भने परिवर्तन केवल औपचारिकतामा सीमित हुनेछ।
कांग्रेसले बिर्सनुहुँदैन कि जनताले उसलाई एउटा राजनीतिक दलका रूपमा मात्र हेरेका छैनन्। नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहाससँग जोडिएको दल भएकाले कांग्रेसबाट अरूभन्दा उच्च राजनीतिक नैतिकताको अपेक्षा गरिएको बुझिन्छ। यही कारणले कांग्रेसका निर्णयहरू सामान्य राजनीतिक निर्णय मात्र हुँदैनन्; ती लोकतान्त्रिक संस्कृतिको दिशा समेत निर्धारण गर्ने निर्णय बन्न सक्छन्।
आज प्रदेश सरकारको नेतृत्व प्राप्त गर्नु तत्कालीन राजनीतिक उपलब्धि हुन सक्छ, तर यदि त्यसका लागि अस्थिरता, अविश्वास र बारम्बारको गठबन्धन परिवर्तनलाई स्वीकार गर्नुपर्छ भने त्यसको राजनीतिक मूल्य निकै महँगो पर्न सक्छ। सरकार बनाउने सफलता केही महिनाको हुन सक्छ, तर जनविश्वास गुमाउने क्षति धेरै वर्षसम्म रहन सक्छ।
युवा पुस्ताले अहिले राजनीति नजिकबाट हेरिरहेको छ। सामाजिक सञ्जालले प्रत्येक निर्णयलाई तुरुन्तै सार्वजनिक बहसको विषय बनाइदिन्छ। कुनै पनि अपारदर्शी सहमति, अस्वाभाविक गठबन्धन वा अवसरवादी निर्णय अब धेरै समय लुकाएर राख्न सकिंदैन। त्यसैले आजका राजनीतिक दलहरूलाई जनताप्रति पहिलेभन्दा धेरै उत्तरदायी हुनुपर्ने अवस्था सिर्जना भएको छ। यही नयाँ यथार्थलाई बुझ्नु नै जेनजी विद्रोहको वास्तविक सन्देश हो।
जनमतको सम्मान गर्ने राजनीतिक दलले कहिलेकाहीं सत्ताभन्दा विश्वासलाई रोज्नुपर्छ। लोकतन्त्रमा विश्वास गुमेको सत्ता बलियो हुँदैन, तर विश्वास जितेको प्रतिपक्ष भविष्यको विकल्प बन्न सक्छ। त्यसैले आज नेपाली कांग्रेसले आफूलाई केवल सरकार बनाउने दलका रूपमा होइन, राष्ट्रलाई सही राजनीतिक दिशा देखाउने जिम्मेवार लोकतान्त्रिक शक्तिका रूपमा प्रस्तुत गर्न सक्नुपर्छ। यही बाटोले पार्टीको दीर्घकालीन भविष्य पनि सुरक्षित हुन्छ र लोकतन्त्र पनि बलियो बन्छ।
राजनीतिक दलहरूको विश्वसनीयता भाषणले होइन, कठिन परिस्थितिमा लिइने निर्णयले निर्धारण गर्छ। जब सत्ता प्राप्त गर्ने अवसर र राजनीतिक सिद्धान्त बीच छनोट गर्नुपर्ने अवस्था आउँछ, त्यही बेला दलको वास्तविक चरित्र प्रकट हुन्छ। आज नेपाली कांग्रेस पनि त्यही परीक्षाको घडीमा उभिएको छ। यदि पार्टीले तत्कालीन सत्तालाभ भन्दा जनमतको सम्मानलाई प्राथमिकता दिन सक्छ भने विशेष महाधिवेशनले शुरु गरेको परिवर्तनको यात्रा सार्थक हुनेछ। तर यदि फेरि पुरानै सत्ताकेन्द्रित प्रवृत्ति दोहोरिन्छ भने परिवर्तनको सन्देश आफैं कमजोर हुनेछ।
नेपालको लोकतन्त्र अहिले नयाँ पुस्ताको मूल्याङ्कनको चरणमा छ। आजका युवाले कुनै पनि दललाई उसको इतिहासका आधारमा मात्र समर्थन गर्दैनन्। उनीहरू वर्तमान व्यवहार र भविष्यको दृष्टिकोणका आधारमा निर्णय गर्छन्। त्यसैले कांग्रेसले आफ्नो गौरवशाली इतिहासको मात्र होइन, वर्तमान जिम्मेवारीको पनि रक्षा गर्नुपर्छ। बी.पी. कोइरालाको लोकतान्त्रिक समाजवाद, गणेशमान सिंहको त्याग, कृष्णप्रसाद भट्टराईको नैतिक राजनीति र गिरिजाप्रसाद कोइरालाको लोकतान्त्रिक प्रतिबद्धतालाई केवल भाषणमा सम्झिने होइन, निर्णयमा पनि प्रतिबिम्बित गर्नुपर्छ।
प्रदेश सरकारहरू बारम्बार फेरिने, गठबन्धनहरू पटक-पटक बदलिने र सरकारहरू अल्पकालीन राजनीतिक स्वार्थमा केन्द्रित हुने प्रवृत्तिले सङ्घीयताको प्रभावकारितामाथि नै प्रश्न उठ्ने खतरा बढेको छ। त्यसैले अहिलेको परिस्थितिमा कांग्रेसले प्रदेश सरकारको नेतृत्वभन्दा पनि सङ्घीय लोकतान्त्रिक व्यवस्थाप्रति जनविश्वास बलियो बनाउने निर्णय गर्नुपर्छ।
आज देशलाई जिम्मेवार प्रतिपक्षको आवश्यकता छ। प्रतिपक्ष भनेको सरकारको विरोध मात्र गर्ने शक्ति होइन; सरकारका सही निर्णयलाई समर्थन गर्ने, गलत निर्णयलाई तथ्यका आधारमा चुनौती दिने र वैकल्पिक नीति प्रस्तुत गर्ने लोकतान्त्रिक संस्था पनि हो। यदि कांग्रेसले सङ्घ र प्रदेश दुवै तहमा सशक्त, मर्यादित र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्छ भने आगामी निर्वाचनमा जनविश्वास स्वाभाविक रूपमा बढ्नेछ। जनताले अवसरवाद होइन, स्थिरता र राजनीतिक परिपक्वतालाई सम्मान गर्छन्।
विशेष महाधिवेशनले कांग्रेसलाई नयाँ दिशा दिएको हो। त्यो दिशाको सार केवल नेतृत्व परिवर्तन होइन, कार्यशैली परिवर्तन हो। त्यसैले आजको सबैभन्दा ठूलो प्रश्न सरकार कसले बनाउने भन्ने होइन, नयाँ नेतृत्वले पुरानो संस्कृतिलाई निरन्तरता दिन्छ कि नयाँ राजनीतिक संस्कृतिको आधार निर्माण गर्छ भन्ने हो। यही प्रश्नको उत्तरले विशेष महाधिवेशनको ऐतिहासिक महत्त्व पनि निर्धारण गर्नेछ।
अन्ततः, बदलिंदो राष्ट्रिय राजनीतिलाई गम्भीर रूपमा समीक्षा गर्दै जनमतको सम्मान गर्नु आज नेपाली कांग्रेसको पहिलो दायित्व बनेको छ। प्रदेश सरकार गठनका नाममा फेरि अस्थिर गठबन्धनको खेलमा लाग्नु पार्टीका लागि प्रत्युत्पादक हुन सक्छ। बरु सङ्घ र प्रदेश दुवै तहमा सशक्त, जिम्मेवार र रचनात्मक प्रतिपक्ष बनेर लोकतन्त्रलाई बलियो, सरकारलाई उत्तरदायी बनाउने र जनविश्वास जित्ने मार्ग रोज्न सकियो भने त्यसले कांग्रेसलाई मात्र होइन, सम्पूर्ण लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउनेछ।
जेनजी विद्रोहले परिवर्तनको माग र विशेष महाधिवेशनले त्यस परिवर्तनको प्रतिबद्धता व्यक्त गरेको थियो। अब त्यस प्रतिबद्धतालाई व्यवहारमा उतार्ने कि फेरि पुरानै प्रवृत्तिमा फर्किने भन्ने निर्णय नेपाली कांग्रेसकै हातमा छ। इतिहासले दिएको अवसर बारम्बार आउँदैन। त्यसैले आजको निर्णयले केवल एउटा सरकारको भविष्य होइन, कांग्रेसको विश्वसनीयता, लोकतन्त्रको परिपक्वता र नयाँ पुस्ताले राजनीतिप्रति राख्ने विश्वासको भविष्य समेत निर्धारण गर्नेछ। जनमतको सम्मान गरेर परिवर्तनलाई संस्थागत गर्ने कि अल्पकालीन सत्ताको आकर्षणमा परिवर्तनको औचित्य नै कमजोर बनाउने ? यही आजको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक प्रश्न हो।
(पोख्रेल राजनीतिक विश्लेषक तथा समाजशास्त्रका अध्येता हुन्।)
प्रतिक्रिया 4