+
+
Shares
विचार :

पुरानो राजनीतिमाथि नयाँ पुस्ताको प्रश्नैप्रश्न

गत वर्षको जेनजी आन्दोलन र २०८२ को निर्वाचनले नेपाली राजनीतिमा सरकार मात्र फेरेन, पुस्तान्तरण र राजनीतिक संस्कृतिकै नयाँ अध्याय शुरु गरिदियो। इतिहास र वीरगाथा भन्दा वर्तमानको नतिजा र सुशासन खोजिरहेको नयाँ पुस्ताले पुराना दललाई नराम्ररी दण्डित गरेको छ। 

डा. खिमलाल देवकोटा- डा. खिमलाल देवकोटा-
२०८३ असार ९ गते ९:५५

गत वर्ष भदौ २३ र २४ गतेका घटनाले नेपाली समाज र राजनीति दुवैलाई युगौंयुगसम्म समीक्षाको कार्यभार छाडेका छन्। नेपाली लोकतन्त्र, सुरक्षा, कूटनीति र समग्र नेपाली राज्यकै सक्षमताका बारेमा गम्भीर प्रश्नको उत्तर खोजिएको छ। तिनको छुट्टै समीक्षा हुनेछ। तर आजको सन्दर्भ भनेको- संसद् विघटनपछि बनेको चुनावी सरकारले गराएको चुनाव मार्फत झन्डै दुईतिहाइको नयाँ सरकार बनेको अवस्थामा, उक्त सरकार र पुराना राजनीतिक दलहरू समेतको भूमिका र कार्यभारका बारेमा चर्चा गर्नु यस आलेखको ध्येय रहेको छ।

अब कुरा शुरु गरौं विगतको जेनजी आन्दोलनबाट। यो जेनजी आन्दोलन र त्यसको पृष्ठभूमिमा सम्पन्न निर्वाचन नेपालको राजनीतिक इतिहासमा सरकार परिवर्तनको घटना मात्र हो कि राजनीतिक संस्कृतिमा आएको गम्भीर परिवर्तनको सङ्केतका रूपमा पनि लिन जरुरी छ ?

दशकौंसम्म सत्ता र राजनीतिक विमर्शमा प्रभुत्व जमाएका परम्परागत दलहरूलाई चुनौती दिंदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा बालेन्द्र शाहको सरकार गठन हुनु नयाँ अनुहारको उदय मात्र हो कि नेपाली राजनीतिको चरित्रमै आएको पुस्तागत र संरचनागत परिवर्तनको अभिव्यक्ति हो ? यी प्रश्नहरूमा बनाउने अवधारणाले नेपाली राजनीतिको विश्लेषणको दिशा-निर्देश गर्नेछ।

यस परिवर्तनको पृष्ठभूमिमा रहेको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको जेनजी अर्थात् नयाँ युवापुस्ताको राजनीतिक चेतना र सक्रियता हो भनेर मान्ने हो भने, यो कुरा स्पष्ट हुन जरुरी छ कि लामो समयदेखि राजनीतिक अस्थिरता, भ्रष्टाचार, बेरोजगारी, अवसरको असमान वितरण र सुशासनको अभावबाट निराश युवापुस्ताले पहिलो पटक सङ्गठित रूपमा राजनीतिक प्रणालीमाथि प्रश्न उठाएको हो, जो जायज छ। यही असन्तुष्टि अन्ततः २०८२ को निर्वाचनमा निर्णायक मतका रूपमा परिणत भयो।

राजनीतिमा पुस्तागत परिवर्तनको युग

सामन्ती समाज हावी भएको नेपालको राजनीति धेरै हदसम्म नोकरशाही चरित्रका कारण लामो समयसम्म केही सीमित नेताहरूको वरिपरि केन्द्रित रह्यो। पटक-पटक नेतृत्व परिवर्तनको चर्चा भए, तर व्यवहारमा पुस्तान्तरण हुनसकेको थिएन। २०८२ को निर्वाचनले भने यो कारण र प्रवृत्तिमा हस्तक्षेप गर्‍यो।

यो कुरा पनि सत्य हो कि आजको पुस्ता विगतका उपलब्धिहरूको धेरै चासो राख्दैन, बरु वर्तमानमा रम्न चाहन्छ। तसर्थ, केवल त्याग-बलिदानको इतिहासका आधारमा नेतृत्व स्वीकार गर्न तयार छैन। उसले कार्यसम्पादन, पारदर्शिता र परिणाम खोज्छ। सामाजिक सञ्जाल र डिजिटल प्रविधिसँग हुर्किएको यो पुस्ताले राजनीतिक निष्ठाभन्दा पनि सार्वजनिक उत्तरदायित्वलाई प्राथमिकता दिनमा रुचि राख्दछ। त्यसैले अहिलेको राजनीतिक परिवर्तनलाई केवल दल परिवर्तनका रूपमा होइन, राजनीतिक संस्कृतिमा आएको पुस्तागत परिवर्तनका रूपमा बुझ्न आवश्यक छ।

जनविश्वास पुनर्निर्माणको चुनौती

लोकतन्त्रको सबैभन्दा ठूलो आधार जनविश्वास हो। तर पछिल्ला वर्षहरूमा राजनीतिक दल र नेताहरूप्रति नागरिकहरूको विश्वास निरन्तर कमजोर हुँदै गएको छ। सस्ता र पूरा गर्न नसकिने वाचा, काल्पनिक विकासका आश्वासनका पृष्ठभूमिमा सुशासनका प्रतिबद्धता र भ्रष्टाचार नियन्त्रणका नाराहरू व्यवहारमा रूपान्तरण हुन सकेनन्, तब राजनीतिप्रति निराशा बढेको थियो।

यही पृष्ठभूमिमा नयाँ शक्तिका रूपमा उदाएका राजनीतिक दल र व्यक्तिहरूले जनसमर्थन प्राप्त गरे भन्ने कुरा नै आजको सत्य हो। अल्गोरिदम वा अरू तिकडम ‘असफलता ढाक्ने बहाना’ हुन सक्दछन्। तर चुनौती पुराना दलहरूका लागि मात्र होइन, नयाँ दल, नेता र सरकारका लागि पनि उत्तिकै गम्भीर छ। परिवर्तनको अपेक्षा अत्यधिक उच्च छ; परिणाम दिन नसके जनमत स्थायी हुँदैन, जनविश्वास पुनः सङ्कटमा पर्न सक्छ। इतिहासले देखाएको छ कि जनताको आशा र विश्वास जित्नुभन्दा त्यसलाई टिकाइराख्न अझ कठिन हुन्छ।

पुराना दलहरूको आत्मसमीक्षाको आवश्यकता

जेनजी आन्दोलनका बखत दुईतिहाइको बलशाली समर्थनका साथ सत्तामा रहेको काङ्ग्रेस-एमालेको गठबन्धन सरकार र बलियो प्रतिपक्षमा रहेको माओवादीलाई निर्वाचनले नराम्ररी खुम्च्याइदियो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि त्याग, बलिदान र समर्पण गर्ने नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी केन्द्रजस्ता पुराना र स्थापित दलहरूलाई गम्भीर आत्मसमीक्षाको अवस्थामा पुर्‍याएको छ।

राजनीतिक आन्दोलनका ऐतिहासिक योगदानहरू निर्विवाद भए पनि जनताले अब विगतको इतिहासभन्दा सहज वर्तमान र सुनिश्चित भविष्यको सोच र दृष्टिकोण खोजिरहेका छन्। दलभित्र वैचारिक बहस कमजोर हुँदै जानु, गुटगत राजनीति मौलाउनु, नेतृत्वको अति-केन्द्रीकरण, नेतृत्वको प्राधिकार वा मनोमानीपन र आन्तरिक लोकतन्त्रको सख्त अभावले परम्परागत दलहरूलाई कमजोर बनाएको भन्ने कुरामा अब विवाद रहेन।

यदि यी दलहरूले सङ्गठनात्मक सुधार, नेतृत्वको पुस्तान्तरण र नीतिगत पुनरावलोकन गर्न सकेनन् भने उनीहरूको सङ्कट अझ गहिरिन सक्छ।

जेनजी पुस्ताको राजनीति : नाराभन्दा नतिजाको खोजी

जेनजी पुस्ता वैचारिक रूपमा परम्परागत राजनीतिक ध्रुवीकरणभन्दा फरक छ। यो पुस्ता विचारधाराभन्दा कार्यसम्पादन, राष्ट्रवादभन्दा रोजगारी, भाषणभन्दा सेवा प्रवाह र नाराभन्दा नतिजालाई बढी महत्त्व दिन्छ। नवयुवाहरू ‘डिजिटल नागरिक’ हुन्। उनीहरूको राजनीतिक सहभागिता सभामा छैन; सामाजिक सञ्जालमा, लाइनमा हैन अनलाइन अभियानमा सक्रिय छन्।

यसकारण आजका राजनीतिज्ञहरूले चुनाव जित्ने रणनीति मात्र होइन, नेता र कार्यकर्ता बीचकै खाडल मेट्न र जनतासँग भिन्न ढङ्गले निरन्तर संवाद गर्ने संस्कृति विकास गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

अर्थतन्त्र राजनीतिका लागि सबैभन्दा ठूलो परीक्षा

२०८२ को निर्वाचनले एउटा स्पष्ट सन्देश दिएको छ- समयको आवाज बुझ्न नसक्दा पुराना दल दण्डित हुनुपरे जस्तै, नयाँ पुस्ताले पनि समयको आवाज बुझ्न नसक्ने हो भने त्योभन्दा बुरी हालत हुनेछ भन्ने कुराको पनि सन्देश छाडेको छ ।

कुनै पनि सरकारको अन्तिम मूल्याङ्कन आर्थिक उपलब्धिका आधारमा हुने गर्छ। नेपाल अहिले बेरोजगारी, उत्पादनमूलक क्षेत्रको कमजोरी, युवा पलायन, आयातमुखी अर्थतन्त्र र न्यून निजी लगानी जस्ता समस्यासँग जुधिरहेको छ। युवाहरूको मुख्य माग रोजगारीको अवसर हो। रोजगारीका निम्ति विदेश जान बाध्य भएका लाखौं युवालाई स्वदेशमै सम्भावना देखाउन सकिएन भने राजनीतिक परिवर्तनको ऊर्जा पनि छिट्टै निराशामा परिणत हुने खतरा त्यत्तिकै छ।

त्यसैले आजको सबैभन्दा ठूलो राजनीतिक चुनौती सत्ता-व्यवस्थापन होइन, सत्ता-नेतृत्वको हो; सो नेतृत्वको दायित्व आर्थिक रूपान्तरण र रोजगारी सिर्जनाको हो ।

कृत्रिम बुद्धिमत्ता र डिजिटल युगको राजनीति

आजको विश्व एआई, डिजिटल अर्थतन्त्र र चौथो औद्योगिक क्रान्तितर्फ तीव्र गतिमा अघि बढिरहेको छ। तर नेपालको राजनीतिक बहस अझै पनि विगतका वीरगाथा, त्याग-बलिदान र अनावश्यक विवादहरूमा अल्झिएको छ।

आगामी केही दशक नेतृत्वले डेटा, प्रविधि, साइबर सुरक्षा, डिजिटल अर्थतन्त्र र नवप्रवर्तनलाई राष्ट्रको विकासको केन्द्रमा राख्नुपर्नेछ। अन्यथा नेपाल विश्व प्रतिस्पर्धामा पछाडि पर्ने खतरा मात्रै हैन, त्यसको राजनीतिक असरको शिकार हुने खतरा पनि त्यत्तिकै रहन्छ।

भूराजनीतिक सन्तुलनको चुनौती

अमेरिका, रूस र चीन बीचको टसल, प्रोक्सी वारहरूको सिर्जना, सञ्चालन र बैठानको रिहर्सल तीव्र रूपमा भइरहेको छ। नेपाल भारत र चीन बीच अवस्थित छ, जसको विदेश नीति सधैं संवेदनशील विषय रहँदै आएको छ। बदलिंदो विश्व-शक्ति सन्तुलन र क्षेत्रीय प्रतिस्पर्धा बीच नेपालको राष्ट्रिय हित सुरक्षित राख्नु कुनै पनि सरकारका लागि जटिल चुनौती हो।

यस्तो अवस्थामा राजनीतिक दलहरू बीच न्यूनतम राष्ट्रिय सहमति र परिपक्व कूटनीतिक दृष्टिकोण अपरिहार्य देखिन्छ, तर दलहरू बीचको स्वस्थ संवादकै अभाव छ। आन्तरिक अस्थिरताले बाह्य सम्बन्धलाई समेत प्रभावित गर्न सक्छ भन्ने कुरालाई गम्भीरताका साथ लिन जरुरी छ।

राजनीतिको नयाँ प्रश्न

विगतको निर्वाचनले केही महत्त्वपूर्ण प्रश्नहरू उठाएको छ— के नेपालमा अब व्यक्तिभन्दा संस्था बलियो बन्नेछन् ? कि झन् व्यक्तिवादिता हावी हुनेछ ?  के राजनीतिक दलहरूले आफूलाई नयाँ युग अनुसार पुनः परिभाषित गर्न सक्नेछन् ? वा नयाँ दलहरू पनि पुरानै दलको पदचिह्नमा हिंड्ने गल्ती गर्नेछन् ? र, के नयाँ पुस्ताले देखाएको आशा दीर्घकालीन राजनीतिक संस्कृतिमा रूपान्तरण हुन सक्नेछ ?

यी प्रश्नहरूको उत्तर केवल नयाँ सरकारको सफलतामा निर्भर गर्दैन; पुराना दलहरूको सुधार, लोकतान्त्रिक संस्थाहरूको सबलीकरण र राजनीतिक संस्कृतिको रूपान्तरणमा पनि त्यत्तिकै निर्भर गर्छ।

निष्कर्ष

नेपालको राजनीतिले जेनजी आन्दोलन, सो क्रममा भएको धनजनको क्षति र आगजनी अनि सोही पृष्ठभूमिमा सम्पन्न निर्वाचनका माध्यमबाट एउटा ऐतिहासिक मोड पार गरेको छ। यो परिवर्तन कुनै एक दलको विजय वा अर्को दलको पराजय होइन। यो नयाँ पुस्ताले पुरानो राजनीतिक शैलीमाथि उठाएको प्रश्नको सोझो जवाफ हो।

आज नेपाली राजनीतिज्ञहरूका सामुन्ने सबैभन्दा ठूलो चुनौती ‘गुमेको सत्ता पुनः प्राप्ति’ होइन, बरु गुमेको विश्वासको पुनर्निर्माण हो। जनताले अब भाषण होइन, परिणाम खोजिरहेका छन्। जनता नाराभन्दा नीतिलाई प्राथमिकता दिइरहेका छन्। इतिहासभन्दा वर्तमान र भविष्य हेर्न आतुर देखिन्छन्।

शायद यही कारणले २०८२ को निर्वाचनले एउटा स्पष्ट सन्देश दिएको छ— नेपालको राजनीतिमा अब पुस्तागत परिवर्तनको समय शुरु भएको छ। ‘जसले समयको आवाज बुझ्छ, उसैले भविष्यको नेतृत्व गर्नेछ’ भन्ने तथ्य जबर्जस्त थोपरिदिएको छ। समयको आवाज बुझ्न नसक्दा पुराना दल दण्डित हुनुपरे जस्तै, नयाँ पुस्ताले पनि समयको आवाज बुझ्न नसक्ने हो भने त्योभन्दा बुरी हालत हुनेछ भन्ने कुराको पनि सन्देश छाडेको छ ।

लेखक
डा. खिमलाल देवकोटा-

अन्तरिम संविधान मस्यौदा समितिका सदस्य र संविधानसभा सदस्य समेत रहेका लेखक वरिष्ठ अधिवक्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?