+
+
Shares

लुम्बिनी प्रदेश प्रहरी प्रमुखको टोलीद्वारा सुस्ताको निरीक्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते ९:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुस्तावासीको समस्या समाधान गर्न सुरक्षा निकायका प्रतिनिधिले सीमा क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।
  • प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले स्थानीयको समस्याबारे गृह मन्त्रालयमा प्रतिवेदन बुझाइने बताएका छन् ।
  • सुस्ता गाउँपालिकाका करिब एक सय परिवार नागरिकता र जग्गाको लालपुर्जा नपाउँदा वर्षौंदेखि समस्यामा परेका छन् ।

४ साउन, बुटवल । भारतीय पक्षबाट हुने सीमा अतिक्रमण रोक्न तथा नागरिकता र लालपुर्जा उपलब्ध गराउन माग गर्दै सुस्तावासीले काठमाडौंमा धर्ना दिएपछि सरकारले उनीहरूको समस्या समाधानमा चासो देखाएको छ ।

गृह मन्त्रालयको परिपत्रअनुसार आइतबार लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुखसहित नेपाल प्रहरी र अन्य सुरक्षा निकायका प्रतिनिधिले सुस्ता क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा सीमा क्षेत्रको अवस्था, डुबानको समस्या, स्थानीयको सुरक्षा, नागरिकता र लालपुर्जालगायत विषयमा जानकारी लिँदै समस्या समाधानका लागि गृह मन्त्रालयमा प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाइएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले स्थलगत निरीक्षणबाट सुस्तावासीका समस्या पहिचान भएको भन्दै त्यसबारे औपचारिक रूपमा गृह मन्त्रालयलाई जानकारी गराइने बताए ।

गत जेठ २९ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी) सुस्ता गाउँपालिका–५ को थारु टोलमा प्रवेश गरी निर्माणाधीन तटबन्धको काम रोक्न दबाब दिएको आरोप स्थानीयले लगाएका थिए । त्यसपछि सरकारको ध्यानाकर्षण गराउन सुस्तावासी असारको पहिलो साता काठमाडौंको माइतीघर मण्डलमा धर्नामा बसेका थिए । केही दिनपछि उनीहरू सुस्ता फर्किएका थिए ।

नारायणी नदीपारि भारतीय सीमासँग जोडिएको सुस्ता गाउँपालिका–५ मा भारतीय पक्षबाट नेपालीमाथि हस्तक्षेप हुने गरेको स्थानीयको गुनासो छ । त्यहाँका करिब एक सय परिवारका सदस्यले नागरिकता नपाएका कारण वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जासमेत प्राप्त गर्न सकेका छैनन् ।

निरीक्षणका क्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सुस्ता गाउँपालिका–५ स्थित जनता दलित आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री पनि वितरण गरेको छ । प्रहरी नायब महानिरीक्षक खत्री र स्थानीय जनप्रतिनिधि आदम खानले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमाल खानमार्फत विद्यार्थीलाई सामग्री हस्तान्तरण गरेका थिए ।

स्थलगत निरीक्षण टोलीमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दयानिधि ज्ञवाली, जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक रामबहादुर केसी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक निशान राना, प्रहरी विशेष सुरक्षा गण नवलपरासीका प्रहरी उपरीक्षक डीबी मल्ल तथा सुस्ता बचाउ युवा अभियानका योगेन्द्र गौतमलगायत सहभागी थिए ।

टोलीले सुस्ताका अगुवा नेतासँग भेटेर स्थानीय समस्याबारे जानकारी लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?