News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी सेनाले इरानका सैन्य केन्द्रहरू, मिसाइल साइट र सञ्चार सञ्जाललाई लक्ष्य गरी नवौँ दिन पनि लगातार हवाई हमला गरेको छ।
- राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक मिसाइल निर्माण गर्ने क्षमतालाई पूर्ण रूपमा समाप्त पार्न सैन्य कारबाही भइरहेको बताउनुभएको छ।
- इरानले खाडीका अमेरिकी अखडामा प्रत्याक्रमण गर्दा थप एक अमेरिकी सैनिकको मृत्यु भएको छ भने क्षेत्रीय युद्धको जोखिम बढेको छ।
४ साउन, काठमाडौं । अमेरिकी सेनाले सोमबार राति पनि इरानमाथि लगातार नवौँ दिन हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार इरानका कमाण्ड सेन्टर, एयर डिफेन्स सिस्टम, मिसाइल र ड्रोन लन्च साइट, समुद्री सम्पत्ति तथा सञ्चार सञ्जालहरूलाई निसाना बनाइएको छ।
अमेरिकी सेनाले इरानको दक्षिण–पश्चिमी सहर खुर्मोज, बुशहर, र होर्मोजगानका साथै उत्तर–पश्चिमी सहर तबरीजमा समेत हमला गरेको छ। चाबहार र बन्दर इमाम जस्ता महत्त्वपूर्ण बन्दरगाह सहरहरू पनि निसानामा परेका छन्।
हमलापछि उत्तर–पश्चिमी इरानको ’तबरीज मिसाइल फिल्ड’ मा आगलागी भएको खबर छ। स्थानीय बासिन्दाका अनुसार अमेरिकी हमलालगत्तै उक्त मिसाइल केन्द्रमा आगो दन्किएको थियो। यो मिसाइल केन्द्र इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) को एयरोस्पेस फोर्सले सञ्चालन गर्दै आएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले होर्मुज जलमार्गलाई युद्धमा दबाब सिर्जना गर्ने हतियार बनाएको बताउँदै विश्वका अन्य राष्ट्रहरूलाई पनि यस जलमार्गको सुरक्षाका लागि उपकरण वा कोषको रूपमा योगदान गर्न अपिल गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको हालको सैन्य कारबाहीको मुख्य उद्देश्य इरानले आणविक मिसाइल बनाउन सक्ने सम्पूर्ण सम्भावनाहरूलाई जरैदेखि समाप्त पार्नु रहेको बताएका छन्।
यसैबीच, उत्तरी इराकमा खसालिएको एउटा इरानी ड्रोन विष्फोट नभएको अवस्थामा नियन्त्रित रूपमा नष्ट गर्ने क्रममा एक अमेरिकी सैनिकको मृत्यु भएको सेन्टकमले जनाएको छ। घटनामा अर्का एक सैनिक घाइते भएका छन्, जसको उपचार भइरहेको छ। योसँगै यस युद्धमा मारिने अमेरिकी सैनिकको सङ्ख्या १७ पुगेको छ।
विभिन्न देशका अमेरिकी अखडामा इरानको प्रत्याक्रमण
आईआरजीसीले जोर्डन, कुवेत, ओमान लगायतका देशहरूमा रहेका अमेरिकी सैन्य अखडाहरूमा भारी हमला गरेको दाबी गर्दै यो अभियान अझै जारी रहने चेतावनी दिएको छ।
कुवेतको विद्युत् उत्पादन र पानी प्रशोधन संयन्त्रमा लगातार दोस्रो दिन हमला भएको छ। हमलाका कारण कैयौँ विद्युत् उत्पादन एकाइहरूमा आगलागी भएको र राहत कार्य जारी रहेको त्यहाँको मन्त्रालयले जनाएको छ।
आईआरजीसीले कुवेतको अली अल–सलेम एयर बेसमा ड्रोन हमला गरी राडार सिस्टम र अमेरिकी एमक्यू–९ ड्रोन राखिएको ह्याङ्गर नष्ट गरेको दाबी गरेको छ।
यता बहराइनमा एयर रेड सायरन बजाइएको छ भने त्यहाँस्थित अमेरिकी दूतावासले मनामाको मध्य क्षेत्रमा इरानले हमला गर्न सक्ने भन्दै अमेरिकी नागरिकहरूलाई सतर्क रहन सुरक्षा अलर्ट जारी गरेको छ।
आणविक केन्द्रमा हमला गरियो: इरान
इरानको आणविक ऊर्जा सङ्गठनले खुजेस्तान प्रान्तमा निर्माणाधीन ’डारखोविन आणविक ऊर्जा केन्द्र’ को साइटमा अमेरिकाले हमला गरेको आरोप लगाएको छ।
यसैबीच, अमेरिकी हमला र अत्यधिक गर्मीका बीच इरानमा विद्युत् सङ्कट गहिरिएको छ। राजधानी तेहरानसहित धेरै क्षेत्रमा दैनिक रूपमा भइरहेको लोडसेडिङले जनजीवन र पठनपाठन नराम्ररी प्रभावित भएको छ।
इराकले आफ्नो तेल निर्यातका लागि होर्मुज स्ट्रेटमाथिको निर्भरता कम गर्न बसरादेखि टर्की र सिरियासम्म नयाँ तेल पाइपलाइन बिछ्याउने योजनामा काम सुरु गरेको छ।
पूर्व अमेरिकी रक्षा अधिकारी माइकल मुलरयका अनुसार अमेरिका र इरान दुवैले एकअर्कालाई सम्झौता गर्न बाध्य पार्न सैन्य कारबाही बढाइरहेका छन्। अमेरिकाले इरानको आर्थिक मेरुदण्ड तोड्न पूर्वाधारहरूमा हमला गरिरहेको छ भने इरानले खाडी राष्ट्रहरूसँगको आफ्नो सम्बन्ध बिगारेरै भए पनि यसलाई ’अस्तित्वको लडाइँ’ मानेर खाडीमा रहेका अमेरिकी अखडाहरूमा प्रत्याक्रमण गरिरहेको छ।
(एजेन्सीहरूको सहयोगमा)
प्रतिक्रिया 4