Comments Add Comment

‘सुनकेसरी’ करोड क्लव नजिक, सिक्वेल बनाउने ऋचाको घोषणा

समिक्षा गतिलो नआए पनि नायिका ऋचा शर्माले निर्माण गरेको हरर फिल्म ‘सुनकेसरी’ लाई दर्शकले रुचाइरहेका छन् । रिलिज भएको तीन दिनमा फिल्म एक करोड कलेक्सनको नजिक पुगेको छ ।

गत शुक्रबार रिलिज भएको फिल्मले अहिलेसम्म करिब ८३ लाख कलेक्सन गरेको ऋचाले जानकारी दिइन् । सोमबारको व्यापारलाई जोड्दा करोड नाघ्ने उनले विश्वास लिएकी छिन् । फिल्मले मल्टिप्लेक्समा उच्च शो पाएको थियो ।

हलिउडका हरर फिल्म हेर्न बानी परेका दर्शकलाई फिल्मले खासै लोभ्याउन नसके पनि नेपाली फिल्मका दर्शकका लागि भने सुनकेशरी नौलो खजाना बनेको छ । समिक्षकले भने फिल्मले डर भन्दा हाँसो बढि पैदा गरेको भनेर आलोचना गरेका थिए । यस सम्वन्धमा ऋचाले भनिन्, ‘यो फिल्म कमेडी प्लस हरर हो, तर हामीले हरर मात्रै भनेर प्रचार गर्‍यौं । हररमा कमेडी मिसाएको समिक्षकले सायद मन पराउनु भएन । तर, कमेडी नमिसाएको भए मोनोटोनस हुन सक्थ्यो ।’

फिल्म हेर्दा दर्शक कति डराएको पाउनुभयो भन्ने प्रश्नमा ऋचाले भनिन्, ‘यो व्यक्तिअनुसार हुँदो रहेछ । कोही डराउनुभयो कोही डराउनुभएन ।’

ऋचाले फिल्मको प्रारम्भिक व्यापारबाट आफू सन्तुष्ट रहेको जनाउँदै सुनकेशरीको सिक्वेल बनाउने घोषणा गरेकी छिन् । उनले भनिन्, ‘फिल्मको इन्डिङ हामीले सिक्वेल बनाउने हिसाबले नै खुला राखेका थियाैं । त्यसैले सिक्वेल जरुर बनाउँछौं ।’

त्यसो त करिब डेड करोड बजेटमा बनेको फिल्मले आफ्नो लगानी सुरक्षित गर्न अझै निकै कसरत गर्नुपर्ने छ । तर, ऋचाले विभिन्न देशमा फिल्म प्रदर्शन गरेर तथा डिजिटल राइट्सबाट लगानी उठ्ने आशा लिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment