Comments Add Comment

मूलपानी क्रिकेट मैदान : स्लो पिच, उवडखावड आउटफिल्ड

फास्ट बलिङलाई सुहाउँदो भएन : महबुब आलम

१४ जेठ, काठमाडौं । निर्माण सुरु भएको १३ वर्षपछि ‘खेल्न योग्य’ बनेको मूलपानी क्रिकेट मैदानमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता चलिरहेको छ । तर, पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता भइरहेको मूलपानी मैदानको स्तर अझै सन्तोषजनक नरहेको पाइएको छ ।

अन्तर्राष्ट्रियदेखि घरेलु प्रतियोगितासम्म हुने एक मात्र त्रिवि मैदान कीर्तिपुरको विकल्पका रुपमा मूलपानी बनाइएको हो । तर, लामो समयको खिचातानी र विवादका कारण अझै निर्माण पूरा भएको छैन ।

पिच र आउडफिल्डको काम सकिए पनि मैदान ‘खेल्न योग्य’ मात्रै छ ।

तत्कालिन क्यानको प्रस्तावमा सरकारले २०६१ सालमा मूलपानीमा दुई अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने गरी योजना बनाएको थियो ।

२०६२ सालमा अहिले खेल चलिरहेको माथिल्लो मैदानको निर्माण सुरु भयो । त्यसको दुई वर्षपछि क्यानले पाकिस्तानी क्यूरेटरलाई ल्याएर पीच पनि बनायो । तर, मैदान सम्याएको ६ वर्षसम्म कुनै काम भएन ।

२०६८ सालमा आएर आईसीसीको सहयोग र सरकारको लगानी गरी ४ करोडमा मैदानको पश्चिम क्षेत्रमा पेविलियन बनाइयो । त्यसको दुई वर्षपछि २०७० सालमा टंक आङबुहाङ नेतृत्वको क्यान कार्यसमितिविरुद्ध मूलपानी मैदानमा काम नगरी पैसा खाएको उजुरी परेपछि निर्माण प्रक्रिया अझै लम्बियो ।

यसैले २०७३ सालको असोजमा नेपाली टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेलसहितका क्रिकेटर र क्रिकेट संघका प्रमुख कार्यसञ्चालन अधिकृत छुम्वी लामाको पहलमा तत्कालिन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीलाई मैदान निर्माणको माग गरेर ज्ञापनपत्र बुझाए ।

त्यही वर्षको चैतमा राखेपले थप १६ लाख ४० हजार बजेट छुट्याएर क्रिकेट मैदान निर्माणको काम अघि बढ्यो । त्यसबाट मैदान तयार भएपछि २०७४ कात्तिक २५ मा मैत्रीपूर्ण खेल पनि भयो । त्यसबेला वर्तमान राष्ट्रिय टिम र राष्ट्रिय टिमका पूर्व खेलाडीबिच खेल भएको थियो ।

खेल चलिरहँदा ‘साइट स्क्रिन’ गायब

मूलपानी मैदानमा सोमबार प्रदेश नम्बर १ र प्रदेश नम्बर २ को खेलमा दोस्रो इनिङ सुरु भएको केहीबेरमा हावाहुरी चल्यो ।

त्यसले केहीबेर खेल रोकियो । पुनः खेल सुरु हुँदा तल्लोतर्फको साइट स्क्रिन भने धुजाधुजा भइसकेको थियो । पलामे पोलमा टाँगिएको पातलो कालो कपडा हावाले च्यातच्युत बनाएको हो ।

यसले राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनमा भइरहेको प्रतियोगितामा तयारी कति फितलो छ भन्ने प्रष्ट पार्छ ।

हावाले साइट स्क्रिन च्यातिएपछि खेलाडीहरु साइट स्क्रिन बिना नै ब्याटिङ गर्न थाले । तर, त्यसले ब्याट्सम्यानको आँखामा प्रकाश पर्ने र बलमा पूरा ध्यान लगाउन अप्ठ्यारो भएको थियो ।

‘यहाँ यस्तै छ । हावा चल्यो कि सबै खत्तम भयो । यस्तोमै भए पनि हाम्रा खेलाडी ब्याटिङ गर्छन्’ एक खेलाडीले हाँस्दै भने ।

‘पहिले हामीसँग यत्तिको मैदान पनि थिएन, त्यसैले नेपाल क्रिकेटको आफ्नै एउटा मैदान हुनु खुसीको कुरा नै हो । जसरी विकास हुनुपर्ने हो त्यसरी भएको छैन’ १ नम्बर प्रदेशका कप्तान महबुब आलमले भने, ‘नेपाली क्रिकेट राम्ररी अघि बढिरहेको छ । त्यही स्तरमा अन्य संरचना र भौतिक पूर्वाधार भने भएको छैन ।’

कीर्तिपुर सम्झदै दर्शक

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सात प्रदेशका ७ टिम र ३ विभागीय टिम गरी १० टिम सहभागी छन् ।

जेठ २९ गतेसम्म चल्ने प्रतियोगिताका लागि सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै म्यान अफ द सिरिजले एक लाख र विधागत उत्कृष्ट हुनेले जनही ५० हजार रुपैयाँ पाउने छन् ।

प्रतियोगिताका खेलहरु मूलपानी मैदानसँगै त्रिवि मैदानमा पनि चलिरहेको छ । त्रिवि क्रिकेट मैदानमा खेल हेर्ने बानी परेका केही दर्शक त्यहाँबाट १७ किलोमिटर टाढा मूलपानी मैदानमा बसेर त्रिवि मैदान नै सम्झिरहेका थिए ।

‘कीर्तिपुरमा भएको खेल हेर्दा र यहाँ हेर्दा त धेरै भिन्नता छ । यहाँ त दर्शक बस्ने राम्रो ठाउँ पनि छैन । चौर नै भए पनि दर्शक बस्न मिल्ने अलि अग्लो ठाउँ भए सजिलो हुन्थ्यो’ जोरपाटी माकलबारीका मौसम कार्कीले भने, ‘दर्शकलाई सजिलो हुने गरी हेर्न मिल्ने बनाइदिए हुन्थ्यो ।’

स्थानीय युवाहरु भने घर नजिकैको मैदान र राष्ट्रियस्तरका खेलाडी भेट्न पाएर खुसी थिए ।

‘घर नजिकैको मैदान भएकाले खुसी लागेको छ । यहाँ प्रतियोगिता नभएका बेला हामी पनि खेल्न पाउँछौँ । सुरुमा लेबलिङ गर्दा नै राम्ररी नभएकाले होला कुनै-कुनै ठाउँमा अलि खाल्डाखुल्डी देखिन्छ । यहाँ पहिले डम्पिङ साइट थियो, त्यसैले यस्तो भएको होला’ मूलपानीकै दिपेश फुयालले भने ।

के भन्छन् खेलाडी-प्रशिक्षक ?

मूलपानी माथिल्लो मैदानमा खेल चलिरहँदा भेटिएका खेलाडी र प्रशिक्षकले भने जस्तै नयाँ मैदान पाएको खुशी त छ तर जति राम्रो हुनुपर्ने हो उति भएको छैन ।

पुष्प थापा (कप्तान, प्रदेश १)

पिच अफ्ठ्यारो छ । विकेट राम्रो छैन । त्यही अनुसार खेल्न सक्नुपर्छ । फास्ट बलरको लागि त झनै राम्रो छैन । ५० ओभरसम्म खेल्ने सोचेर अघि बढ्दा राम्रो रन बन्न सक्छ । कीर्तिपुर मैदानमा जस्तो सोचेर खेल्दा रन बन्दैन ।

आउटफिल्ड राम्रो छैन । कुनै कुनै एरियामा डेन्जर छ । उवडखावड भएकाले फिल्डिङ गर्दा अलि जोगिनु पर्छ । भर्खर बनिरहेकोले आउँदो दिनमा मैदान राम्रो होला भन्ने आश राखौँ ।

मेहबुब आलम (कप्तान, प्रदेश २)

यहाँको पिचको कुरा गर्दा सोचेर बनाएको जस्तो लाग्दैन । किनभने स्पीनरहरुले मात्र राम्रो विकेट लिइरहेका छन् । फास्ट बलिङको लागि पिच राम्रो छैन । नेपालको क्रिकेटमा इतिहासदेखि नै स्पीनर नै हाबी छन् । यस्तोमा हामीले अन्य देशसँग प्रतिस्पर्धा गर्दा पनि फास्ट बल खेल्ने बेला कमजोर देखिन्छौँ ।

कहिलेसम्म हामी स्लो विकेटमा मात्र अभ्यास गर्ने त ? यसमा अलि ग्रासी, बाउन्सी, स्पीडी बनाउन सक्नुपर्छ । यसले यो पिचको मात्र होइन नेपालको क्रिकेट सुधार्न सहयोग पुग्छ । आउटफिल्ड त ठीकै नै छ । भर्खर बनेको भएर यत्तिको ठीकै लाग्यो । कुनै कुनै ठाउँमा भने धेरै नै तलमाथि छ ।

राजेश पोखरेल (प्रशिक्षक, प्रदेश नम्बर १)

नयाँ विकेट हो यो । खेलाडीहरुले ठीकै खेलिरहेका छन् । कुनै बल अप्रत्याशित रुपमा उठ्ने र अप्रत्याशित रुपमा फस्ने भइरहेको छ । त्रिवि मैदानमा जस्तो ब्याटमा बल आउने भएको छैन । नयाँ भएकाले पनि होला, अलि स्लो छ विकेट । बिग्रियो, खत्तमै भयो भन्ने त होइन तर बल अड्किएर आइदिँदा अप्ठेरो देखिएको छ ।

आउटफिल्ड ठीकै मात्र छ । एक साइटमा राम्रै घाँस छ, अर्को साइटमा घाँस धेरै पातलो छ । यो सिजन सकिएपछि घाँस राम्ररी उमि्रएला कि । बानी नपरेको मैदानमा राम्रै भए पनि अप्ठेरो नै लाग्छ । यत्तिको नयाँ फिल्ड राम्रो नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment