Comments Add Comment

रुसी अर्बपति रोमन अब्रामोविच बने इजरायलको नागरिक


१५ जेठ, काठमाडौं । रुसको यहुदी अर्बपति व्यापारी एवम् चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोविच इजरायलको नागरिक बनेका छन् । इजरायलको नागरिकता पाएपछि उनी तेल अविव पुगेका छन् ।

५१ वर्षे अब्रामोविच अब इजरायलको सबैभन्दा धनाड्य व्यक्ति छन् । फोर्ब्स पत्रिकाका अनुसार अब्रामोविचको कुल सम्पत्ति ११.५ अर्ब डलर छ ।

इजरायली मिडियाका अनुसार ल अफ रिटर्न अर्थात् फिर्ता सम्बन्धी कानुनअनुसार उनलाई पहिचान पत्र दिइएको हो । यस कानुन अनुसार यहुदी इजरायलको नागरिकता लिन पाउनेछन् ।

द टाइम्स अफ इजरायलले गृहमन्त्रालयलाई उद्धृत गर्दै लेखेअनुसार इब्रामोविच सोमबार नै इजरायल पुगिसकेका छन् ।

उनी इजरायल आउने–जाने गरिरहन्छन् । सन् २०१५ मा उनले तेल अविवमा एक होटल पनि किनेका थिए । रिपोर्टका अनुसार यो होटल नै अब उनको घर हुने छ ।

ब्रिटेनको भिसा अवधि समाप्त भइसक्दा पनि अब्रामोविचलाई ब्रिटेनले भिसा दिन ढिलाइ गरिरहेको थियो । ब्रिटेनमा पूर्वी रुसी जासुस सर्गेइ स्क्रिपल र उनकी छोरीमाथि हमला भएपछि ब्रिटेन र रुसबीच कुटनीतिक तनाव भएका कारण उनलाई भिसा दिन ढिलाइ गरिएको थियो ।

यसै महिना वेम्बली स्टेडियममा चेल्सीले एफए कपको फाइनलमा म्यानचेस्टरलाई हराउँदै उपाधि जित्दा पनि अब्रामोविच अनुपस्थित थिए ।

इजरायलका पासपोर्टधारीहरुलाई छोटो समयको लागि विना भिसा ब्रिटेन जान पाउने सुविधा छ । इजरायलको नागरिकता पाएपछि उनलाई आर्थिक रुपमा पनि फाइदा हुने छ किनभने यहाँको नागरिकता पाउनेहरुलाई १० वर्षसम्म विदेशबाट हुने कमाइमा कर तिर्नु पर्दैन ।

को हुन् अब्रामोविच ?

अब्रामोविच रुसको सबैभन्दा धनी व्यक्तिहरुमध्येका एक हुन् । उनले सन् २००३ मा चर्चित फुटबल क्लब चेल्सीलाई खरिद गरेका थिए ।

१९९० को दशकमा तेल क्षेत्रमा अथाह सम्पत्ति कमाउनु भन्दाअघि उनले खेलौनाहरु बेच्ने गर्दथे ।

एक समय उनी दिवंगत उद्योगपति बोरिस बेरेजोब्कीको पार्टनर थिए । बेरेजोब्की पूर्व रुसी राष्ट्रपति बोरिस येल्तिसिनको निकट थिए ।

आलोचकका अनुसार यी दुवै उद्योगपतिले क्रेमलिन (रुसी सरकार)मा आफ्नो सम्पर्क प्रयोग गरेर सरकारी तेल कम्पनीलाई निकै कम मूल्यमा खरिद गरेका थिए ।

अब्रामोविच रुसको चुकोट्का प्रान्तको गभर्नर पनि बनिसकेका छन् ।

अब्रामोविचलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन निकट मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment