Comments Add Comment

चार करोडले अपमानित भयौं भन्दै सांसदको रोदन

१७ जेठ, काठमाडौं । अर्थमन्त्रीले सांसदहरुलाई वडाध्यक्षको हैसियतमा राखेर अपमान गरेको भन्दै सत्तारूढ दल नेकपाका सांसद गजेन्द्रबहादुर महतले प्रतिनिधिसभा बैठकमा गुनासो गरेका छन् ।

आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटमाथि छलफलमा भाग लिँदै जुम्लाका सांसद महत भावुक भए ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा ४ करोड छुट्याए पनि योजना छनोटका लागि स्थानीय प्रतिनिधिसमेत रहेको समिति बनाउनु गलत भएको उनले बताए ।

सांसद तह लगाउने बजेट आएको भन्दै उनले भने, ‘कोही मन्त्री भएँ भन्दैमा हामीलाई बाँधेर राख्न पाइन्छ भन्या ? हामीलाई तह लगाउन पाइन्छ ? हामीलाई वडाअध्यक्षको ठाउँमा लिएर राख्न पाइन्छ भन्या ? चाहिएको छैन हामीलाई ४ करोड ।’

आफ्नो विरोधले केही नहुने जान्दाजान्दै असन्तुष्टि राख्नुपरेको उल्लेख गर्दे उनले भने ‘बजेटको मैले बचाउ गरिरनुपर्छ जस्तो लाग्दैन । कमजोर बस्तुको बचाउ गरिन्छ, बलियो बस्तुको सायद बचाउ गरिन्न । सितिमिति सायद यो हल्लिदैन ।’

‘स्वर्गीय गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो, तपाईहरुको विरोधले मलाई केही हल्लाउदैन । मैले त्यही शब्द सापटी लिएँ । विरोधले खासै हल्लिने देख्दिनँ । तर पनि बजेटले मलाई हल्लाइरहेको छ । हुम्लालाई हल्लाइरहेको छ ।’

बजेट शहर केन्द्रित भएको भन्दै उनले कर्णाली र जुम्लालाई सम्बोधन गर्न नसकेको गुनासो गरे । उनले भने, ‘यो बजेट जुम्ला जिल्लाका लागि न हर्ष छ,न विस्मात छ ।’

नेताहरुको ठाउँमा जति बजेट गएको छ, त्यति आफ्नो ठाउँमा जानुपर्ने उनको माग छ ।

सांसदको नाममा सबै सांसदलाई मुछ्ने काम गरेको भन्दै महतले असन्तुष्टि जनाए । दिनभरी संसदमा बस्दा पनि तपाई त हुनुहुन्न रे भन्दै जनताले फोन गर्ने गरेको भन्दै उनले भने, ‘फलानो सांसद छैनन, एनजीओको कार्यक्रममा छ भन्नुपर्‍यो । हामी सोझालाई बलीको बोका बनाउने ?’

स‌ंसद बैठकमा सांसद महतको प्रस्तुति देख्दा धेरैले उनी रोएको भनेका थिए । तर उनले रोएको नभई आफ्नो स्वर नै त्यस्तै रहेको बताए ।

हेर्नुस् भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment