Comments Add Comment

गोरखामा काम नगर्ने ९ जना ठेकेदारविरुद्ध पक्राउ पुर्जी जारी


१७ जेठ, गोरखा । काममा लापरवाही गर्ने ९ जना ठेकेदारविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेको छ ।

आयोजनाको म्याद सकिदा पनि काम नगर्ने र सम्पर्कमा नआउने ठेकेदारविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । ‘आयोजनाको म्याद सकियो तर कामको प्रगति छैन, फेरि ठेकेदारहरु सम्पर्कमा पनि छैनन्,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने, ‘त्यस्ता लापरवाही गर्ने ठेकेदारविरुद्ध पक्राउ पुर्जी जारी गरेका हौं ।’ उनीहरुको खोजी कार्य भइरहेको उनले बताए ।

ठेकेदारको लापरवाहीका कारण विकास निर्माणका काम प्रभावित बनेको गुनासो बढ्न थालेपछि प्रशासनले काम नगर्ने विरुद्ध कारवाही सुरु गरेको हो । बिहीबार कार्यालयमा बैठक बोलाएर प्रजिअ भट्टराईले समयमै काम सक्न ठेकेदारहरुलाइ सचेत गराएका छन् ।

‘हाम्रो अभिप्राय कारवाही गर्ने भन्दा पनि विकास निर्माणको कामले गति पाओस् भन्ने हो, नियम संगत तरिकाले काममा आवश्यक सहयोग गर्न हामी तयार छौं, तर यति गर्दा पनि काम नगर्ने र सम्पर्कमा नआउने ठेकेदारलाई हामी छाड्दैनौं’, उनले भने ।

राम्रो काम गर्ने ठेकेदारलाई पुरस्कृत गर्ने र लापरवाही गर्नेलाइ कारवाही गर्ने उनले बताए । काममा लापरवाही गर्ने ठेकेदारको नाम गृह मन्त्रालयमा पठाएकाले जिल्लाबाट मात्र नभइ केन्द्रबाट पनि निरीक्षण भइरहेको प्रजिअ भट्टराईले बताए ।

समस्याबारे मौखिक होइन लिखित जानकारी गराउन आग्रह

काम गर्दै जादा केही समस्या भएमा सम्बन्धित आयोजनाको कार्यालयमा लिखित जानकारी गराउन प्रजिअ भट्टराईले ठेकेदारलाई आग्रह गरेका छन् । ‘समस्या मुखले भनेर हुदैन, लिखित हुनुपर्‍यो, समस्याको बारेमा लिखित जानकारी सम्बन्धित आयोजनाको कार्यालयमा पुर्‍याउनु भएर पनि सुनुवाइ भएको छैन भने त्यो कार्यालयको दोष हो, म घचघच्याउछु,’ उनले भने ।

ठेकेदारलाई मात्र नभई सम्बन्धित आयोजनाको कार्यालयलाई पनि आफूले घचघच्याइरहेको भट्टराईले बताए । सरकारले विकास निर्माणको कामलाई पहिलो प्राथमिकतामा राखेको भन्दै प्रजिअलेे काममा आलटाल नगर्न ठेकेदारहरुलाई सचेत गराएका छन् ।

कच्ची सडकमा बर्खामा पनि चल्ने गरी काम गर्न निर्देशन

बर्खाको समयमा अवरुद्ध हुने कच्चि सडकखण्डमा बाह्रै महिना सवारी संचालन हुने गरी काम गर्न प्रजिअले ठेकेदारहरुलाई निर्देशन दिएका छन् । आठ वटा कच्ची सडकखण्डमा यसपटकको बर्खायाममा सवारी सञ्चालन नियमित हुनुपर्ने उनले बताए ।

गोरखा-आरुघाट-घ्याम्पेशाल, गोरखा-नाम्जुङ-फुजेल, १२ किलो-भालुस्वाँरा-वारपाक, वेनिघाट-आरुघाट-आर्खेत, १२ किलो-छोप्राक-भच्चेक, घ्याम्पेशाल-ताकुकोट-सौरपानीलगायतका कच्ची सडकखण्डमा बर्खामा पनि सवारी चल्ने गरी काम गर्न प्रजिअ भट्टराईले निर्देशन दिएका हुन् ।

‘यी सडकमा बर्खाभरी पनि गाडी चल्नुपर्छ, जिल्ला विपद व्यवस्थापन समितिले निर्णय गरिसकेको छ, यसमा कुनै बाहना चल्दैन, प्राथमिकतामा राखेर काम गर्नुस्, समस्या भएको ठाउँमा भन्नुहोला,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment