Comments Add Comment

झुक्याएर महिलाको पाठेघरको शल्यक्रिया गरेको आरोप

नगरपालिकाको न्यायिक समिति र प्रहरीमा उजुरी

१८ जेठ, बर्दिबास । महोत्तरीको बर्दिबासको एक निजी स्वास्थ्य संस्थाले पाठेघरमा क्यान्सरको खतरा रहेको भन्दै झुक्याएर पाठेघरको शल्यक्रिया गरेको आरोप पीडित परिवारले लगाएको छ ।

बर्दिबास नगरपालिकास्थित डीएनबी मेडिकेयर सेन्टर प्रालिमाथि सिन्धुलीको कमलामाई नगरपालिका-१० भिमान निवासी २९ वर्षीया तोपकुमारी खड्काको झुक्याएर पाठेघरको शल्यक्रिया गरेको गरेको आरोप लागेको हो ।

अस्पतालका डा. प्रविण मिश्रले भने पीडित परिवारको सहमतिमै शल्यक्रिया गरिएको दाबी गरेका छन् ।

बिरामीका आफन्त कानुनी उपचार खोज्दै इलाका प्रहरी कार्यालय बर्दिबास पुगेपछि मात्रै घटना सार्वजनिक भएको हो । पाठेघरबाट सामान्य रक्तस्राव  हुन थालेपछि उपचार गर्न आफूहरु उक्त हस्पिटल पुगेको  पीडित महिलाका श्रीमान शेषबहादुर खड्काले बताए ।

स्वास्थ्य शिविरमा जाँच गराउँदा २९ वर्षीया खड्काको पाठेघरमा क्यान्सर भएको र ननिकाले ज्यानै जान सक्ने भन्दै शल्यक्रिया गरिदिएको शेषबहादुरले बताए ।

हस्पिटलका चिकित्सकले मेडिकल रिपोर्ट वा कुनै परीक्षण बिना क्यान्सर भन्दै झुक्याएर अप्रेसन गरेको आरोप पीडित महिलाका आफन्तको छ ।

महिलाका आफन्तका अनुसार अस्पतालका डाक्टरले त्यही दिन भर्ना गरेर त्यही दिन पाठेघर निकालिदिएका थिए ।

बिगत केही दिनदेखि पाठेघरबाट सामान्य रक्तस्राव भैरहेको भन्दै ती महिला उपचारको लागि उक्त हस्पिटल पुगेकी थिइन् ।

पीडित महिलाका आफन्तहरुले अपरेसनमा संलग्न चिकित्सकको नाम दिन पटकपटक आग्रह गर्दासमेत आनाकानी गरेपछि बिनाकारण पाठेघर निकालेर फालेको घटना सार्वजनिक भएको परिवारको दाबी छ ।

घटना लगतै महिलाका आफन्तले इलाका प्रहरी कार्यालय बर्दिबास र बर्दिबास नगरपालिकामा लिखित उजुरी दर्ता गराएपछि घटना सतहमा आएको हो ।

बिना दर्ता रहेको भारतीय चिकित्सकले आफ्नो श्रीमतीको पाठेघर निकालेर फ्याकेको र आफूहरुले सोधीखोजी गर्न थालेपछि मेडिकेयरले चिकित्सक भगाएको आफन्त आरोप छ ।

महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  घटनाको सम्बन्धमा बर्दिबास नगरपालिकाको न्यायिक समितिले छानबिन सुरु गरेको छ ।

स्वास्थ्य संस्था स्थापना संञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धी निर्देशिका अनुसार उक्त मेडिकेयरले मापदण्ड अनुसार कुनै प्रकारको शल्यक्रिया गर्न नपाउने उल्लेख छ ।

नियम मिचेर उक्त मेडिकेयरले महिलाको पाठेघर निकालिदिएको हो । यसबैबीच उक्त मेडिकेयरको मापदण्ड बिपरीत रहेको र घटनाको सम्बन्धमा बर्दिबास नगरपालिकाले छानविन अगाडि बढाएको छ ।

चिकित्सकको लापरवाहीले घट्ना घटेको आरोप लगाउँदै घटनाको छानविन गरी दोषिमाथि कारवाही हुनुपर्ने पीडितको माग छ ।

अस्पतालले भने सबै प्रक्रिया पूरा गरेर शल्यक्रिया गरेको दावी गरेको छ । अारोप झुटो भएको भन्दै बिरामीको परीक्षण रिपोर्ट पनि सुरक्षित रहेको अस्पतालले दावी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment