Comments Add Comment

कम्प्युटर अपरटेरमा सरकारी जागिर नखुल्ने, भएका पद पनि खारेज

१८ जेठ, काठमाडौं । सरकारले कम्प्युटर अपरेटर पद खारेज गर्ने भएको छ । संघीय निजामती सेवा ऐनको मस्यौदामा कम्प्युटर अपरेटर पद खारेज गर्ने उल्लेख छ ।

हाल विविध सेवा अन्तर्गत राजपत्र अनंकित प्रथम श्रेणी कम्प्युटर अपरेटर पद र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पद छन् । कम्प्युटर अपरेटर पद नायब सुब्बा सरह र सहायक कम्प्युटर अपरेटर पद खरदारसरह हुन्छन् । ती पदहरुमा सरकारले लोकसेवा आयोगमार्फत् परीक्षा लिएर स्थायी पदपूर्ति गर्दै आएको छ ।

तर, संघीय निजामती सेवा ऐन लागू भएपछि ती पदहरुमा विज्ञापन खुलाइने छैन । संघीय निजामती सेवा ऐनको मस्यौदाको दफा ८ को उपदफा ६ मा लेखिएको छ, ‘नेपाल विविध सेवा अन्तर्गतको राजपत्र अनंकित प्रथम श्रेणी कम्प्युटर अपरेटर पद र राजपत्र अनंकित द्वितीय श्रेणीको सहायक कम्प्युटर अपरेटर पदमा स्थायी पदपूर्ति गरिने छैन । त्यस्ता पदहरु रिक्त भएमा स्वतः खारेज हुनेछन् ।’

हाल कम्प्युटर अपरेटर पदमा १ हजार ८७ जना र सहायक कम्प्युटर अपरेटर पदमा २६६ जना स्थायी कर्मचारीहरु कार्यरत रहेको निजामती किताबखानामा अभिलेख छ ।

ती कर्मचारीहरु सेवाबाट अवकाश भएसँगै दरबन्दी पनि स्वतः खारेज हुनेछन् । उनीहरुले सेवा परिवर्तन गर्न भने पाउने छन् ।

किन हुदैछ दरबन्दी खारेज ?

कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत कर्मचारीहरुले कार्यालयमा टाइपिङ, पि्रन्टिङ, डिजाइनिङ, डकुमेन्टहरु सेटिङ, इन्ट्री लगायत कम्प्युटरबाट हुने कामहरु गर्नुपर्ने जिम्मेवारी हुन्छ ।

पुराना कर्मचारीहरुलाई कम्प्युटर सम्बन्धी ज्ञान नहुने भएकाले कम्प्युटर चलाउन जान्नेहरुलाई नियुक्त गरी कार्यालयको कामकाजलाई सरल, छिटोछरितो र व्यवस्थित बनाउने उद्देश्यअनुसार कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटरमा कर्मचारीहरु नियुक्त गरिन्छ ।

तर, आजभोलि निजामती सेवामा प्रवेश गर्ने कर्मचारीहरुले दैनिक कामकाजमा आउने कम्प्युटरको ज्ञान जानेकै हुनुपर्ने नियम छ । लोकसेवा आयोगले नयाँ कर्मचारी भर्ना गर्दा कम्प्युटर सम्बन्धी सीप परीक्षण गर्दछ र त्यसमा उतीर्ण भएकालाई योग्यताक्रमअनुसार नियुक्तिको सिफारिस गर्दछ ।

पदपूर्ति गर्दाखेरि नै कम्प्युटर जानेका कर्मचारीहरु छनोट गरिने भएकाले कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर पदमा छुट्टै कर्मचारी नचाहिने तर्क सरकारी अधिकारीहरुको छ ।

कम्प्युटर अपरेटर पदमा भर्ना नलिनुको अर्को कारण पनि छ, त्यो हो- उनीहरुको पाठ्यक्रम ।

कम्प्युटर अपरेटर पद विशुद्ध प्राविधिक पद हो । कम्प्युटर चलाउने तरिका उनीहरुलाई थाहा हुन्छ । तर, सरकारी कार्यालयमा प्रशासनिक ज्ञान, निर्णय क्षमता, नेतृत्व क्षमता आदि चाहिन्छ जुन कम्प्युटर अपरेटर पदको परीक्षाको पाठ्यक्रमभित्र नै पर्दैन ।

त्यसैले प्रशासनिक नेतृत्व उनीहरुले गर्न पाउँदैनन् । उनीहरु आन्तरिक बढुवा हुँदै माथिल्लो पदमा पुग्न सक्छन् । तर, नेतृत्व तहमा पुग्दैनन् । त्यसैले कम्प्युटर अपरेटरमा जागिर खाइरहेका स्थायी कर्मचारीहरुले शैक्षिक योग्यताअनुसार अरु सेवामा प्रतिस्पर्धा गर्न पाउँछन् ।

नेता र मन्त्रीलाई अवसर !

स्थायी कर्मचारीबाट मात्र कार्यसम्पादन गर्न नसकिने/नभ्याइने कारण देखाउँदै करारमा कर्मचारी भर्ना गर्ने चलन छ । धेरैजसो कम्प्युटर अपरेटर, कार्यालय सहयोगी, गाडी चालक पदमा करारमा कर्मचारी नियुक्त गरिन्छ । राजनीतिक दलका पहुँचवाला नेता, मन्त्री, कार्यालय प्रमुख लगायतले आफ्ना नातेदार वा पार्टी कार्यकर्तालाई ती पदमा नियुक्त गर्दछन् ।

अब कम्प्युटर अपरेटर वा सहायक कम्प्युटर अपरेटर पदमा स्थायी पदपूर्ति नगर्ने भएमा पहुँचवालालाई आफ्ना मान्छे भर्ना गर्ने र जागिर खुवाउने अवसर मिल्ने जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment