Comments Add Comment

स्पेनमा समाजवादी सत्ता, सान्चेज बने इतिहासकै पहिलो नास्तिक प्रधानमन्त्री

२० जेठ, काठमाडौं । पेद्रो सान्चेज स्पेनको नयाँ प्रधानमन्त्री बनेका छन् । सोशलिस्ट पार्टीका नेता सान्चेज नास्तिक भएकाले बिना बाइबलको शपथ ग्रहण गरे ।

स्पेनको प्रधानमन्त्रीले बाइबल बिना शपथ ग्रहण गरेको यो इतिहासमै पहिलो हो ।

यसअघिका प्रधानमन्त्री मारियानो रखायको पिपुल्स पार्टी भ्रष्टाचार मुद्दामा मुछिएपछि विपक्षी सोशलिस्ट पार्टीको तर्फबाट सान्चेजले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । आधुनिक स्पेनको इतिहासमा रखाय यस्तो पहिलो प्रधानमन्त्री हुन् जसलाई अविश्वासको प्रस्तावमा हारेर पद त्याग्नु पर्‍यो ।

नयाँ प्रधानमन्त्री बनेका सान्चेजले संसदीय कार्यकालको बाँकी दुई वर्ष स्पेन सरकारको नेतृत्व सम्हाल्ने छन् । सान्चेजको पार्टी केबल एक चौथाइ सिटसहित संसदमा छ । उनलाई अरु ६ दलका सांसदहरुले समर्थन गरेका छन् ।

आगामी हप्ता उनले मन्त्रिपरिषद बिस्तार गर्ने बताइएको छ ।

को हुन् सान्चेज ?

पेद्रो सान्चेजको जन्म स्पेनको राजधानी मड्रिडमा २९ फेब्रुअरी, १९७२ मा भएको थियो । उनले क्यामिलो जोस सेला युनिभर्सिटीमा पढेका थिए ।

४६ वर्षीय सान्चेज एक अर्थशास्त्री र बास्केटबल खेलाडीसमेत हुन् । उनी सन् २०१४ सम्म कुनै ठूलो नेता थिएनन् । तर, २०१४ मा स्पेनिश सोशलिस्ट पार्टीको प्रमुख बने । त्यसपछि उनले पार्टीलाई एकढिक्का बनाउने र समाजवादीलाई सत्तामा ल्याउने बाचासहित चुनाव जिते ।

चुनावको क्रममा उनले हजारौं किलोमिटर यात्रा कारबाट गरेका थिए । त्यसक्रममा उनले शहरका बिभिन्न स्थानमा कार्यकर्ताहरुको घेरामा रात गुजारेका थिए ।

सोशलिस्ट पार्टीमा आवद्ध हुनुअघि उनी मड्रिड शहरको काउन्सिलर थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment