Comments Add Comment

वीर अस्पतालमा रंगरोगन जारी, आफ्नै रिस्कमा काम गराउँदै धुर्मुस

२० जेठ, काठमाडौं । अरबौं बजेट खेलाउने सरकारी अस्पतालको रंगरोगन खर्च एक व्यक्तिले बहन गर्नुपर्ने अवस्था कतिसम्म बिडम्बनापूर्ण हो ? वीर अस्पतालमा अहिले त्यही भइरहेको छ । त्यहाँ अहिले जारी रहेको रंगरोगनको खर्च सरकारले सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) को थाप्लोमा हालिदिएको छ ।

स्वास्थ्य मन्त्रालय र वीर अस्पतालसँगको समन्वयमा धुर्मुसले केही दिन अघिदेखि रंगरोगनको काम सुरु गरेका थिए । तर, मन्त्रालय र अस्पताल यसको आर्थिक दायित्वबाट पन्छिएपछि धुर्मुसको थाप्लोमा परेको हो । अर्कोतर्फ स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले यसका लागि चन्दा लिन नपाउने बताएपछि धुर्मुस झन् ट्र्यापमा परेका छन् । यद्यपि, उनले अझ तदारुकताका साथ आफ्नै रिस्कमा कामलाई निरन्तरता दिइरहेका छन् । अबको १५ दिन भित्रमा रंगरोगन सिध्याउने उनको योजना छ ।

रंगरोगनका लागि हालसम्म ५० लाखभन्दा बढि खर्च भइसकेको छ, भने कुल खर्च १ करोड नाघ्नसक्ने अनुमान गरिएको छ । अस्पतालले अहिलेसम्म एक रुपैयाँ दिएको छैन । चन्दामार्फत १४ लाख रुपैयाँ जुटेको थियो । तर, मन्त्रीको अभिव्यक्तिपछि धुर्मुसले अहिले चन्दा लिन बन्द गरेका छन् । उनी अहिले नजिकका साथीभाई-इष्टमित्र गुहारिरहेका छन् । व्यक्तिगत ऋण लिएर भए पनि यो काम फत्ते गर्ने उनको योजना छ ।

यतिबेला रंगरोगनका लागि दैनिक सञ्चालन खर्च डेढ लाख रुपैयाँ लाग्ने गरेको छ । ९० जना कामदारहहरु खटाइएको छ । भोलीदेखि उनीहरुलाई रात्रिकालिन सिफ्टमा पनि काम गराउने धुर्मुसको तयारी छ । अहिले उनीहरुले उधारोमा काम गरिरहेका छन् । अस्पतालले पैसा नदिने खबर सार्वजनिक भएपछि कामदारहरुले आफूहरु खाली पेट पनि काम गर्न तयार रहेको भनेर धुर्मुसलाई हौसला दिइरहेका छन् । धुर्मुसले अहिलेसम्म ८१ बाल्टी रंग विभिन्न कम्पनीहरुबाट निशूल्क प्राप्त गरेका छन् ।

कतिपयले. उनलाई सरकारले पैसा नदिए काम बन्द गर्न सुझाव पनि नदिएका होइनन् । तर, उनको विवेकले त्यो मानिरहेको छैन । हात हालेको काम अलपत्र छोड्न उनी तयार छैनन् ।

हामीले स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई सोध्यौं- वीर अस्पताल रंगरोगनको दायित्व सरकारको कि धुर्मुसको ? उनले यस्तो जवाफ दिइन्, ‘हाम्रै अगूवाईमा भएको काम हो । उहाँले हामीसँग समन्वय गरेर नै गरिरहनु भएको छ ।’

खर्चको सम्वन्धमा उनले भनिन्, ‘व्यक्तिलाई आर्थिक भार बोकाउने हाम्रो अभिप्राय होइन । मैले यस विषयमा अस्पतालका निर्देशकज्यूसँग पनि कुरा गरिरहेकी छु । अस्पतालसँग भएको स्रोत पनि प्रयोग गर्नुपर्छ । उहाँहरुले निशुल्क रंग पनि ल्याउनुभएको छ । काम थालिसकेपछि जसरी पनि सिध्याउनुपर्छ’

राज्यमन्त्रीले धुर्मुसलाई आर्थिक भार नपार्ने भने तापनि स्रोतका अनुसार रंगरोगनको लागि बजेट निकासा हुने कुनै सम्भावना छैन । अस्पताल व्यवस्थापनले धुर्मुससमक्ष आफ्नो लाचारी प्रकट गरिसकेको छ । पाँच लाख रुपैयाँभन्दा बढिको काम गर्दा टेन्डर प्रक्रियामा जानुपर्ने भएकाले रकम निकासा गर्न नमिल्ने अस्पतालको भनाई छ ।

धुर्मुस अहिले यस विषयमा केही बोल्न चाहँदैनन् । तर, सरकारकै आग्रहमा निस्वार्थ काम गर्दा उत्पन्न विवादबाट उनी खिन्न छन् । गत बिहिबार आयोजित पत्रकार सम्मेलनमा राज्यमन्त्रीको अगाडि उनलाई केही पत्रकारले तिखा प्रश्नहरु सोधेका थिए । एक पत्रकारले आफ्नो कालो धन अस्पतालमा प्रयोग गरेकोसम्म आरोप लगाए । जसको जवाफ दिने क्रममा धुर्मुस निकै भावुक बनेका थिए । उनले आफूले एक रुपैयाँ हिसाब तलमाथि गरेको भए मर्न तयार रहेको बताए ।

हुन पनि आफ्नो पेशालाई थाँति राखेर, घर-परिवार छोडेर देशकै पुरानो सरकारी अस्पताललाई आमूल सुधार गर्न रातोदिन जुटिरहेको बेला उल्टै अपजस आउँदा दुखी नहुन् पनि किन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment