Comments Add Comment

भारत लैजाँदै गरेको १२ टन बढी मरिच बरामद

दुई दिनअघि पनि पर्सा प्रहरीले १८ सय किलो मरिच बरामद गरेको थियो ।

२२ जेठ, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट सोमबार साँझ ठूलो परिमाणमा मरिच बरामद गरेको छ । तस्करी गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी १२ टन मरिच बरामद भएको हो ।

मरिच बोकेको युपी ७८ बिटी ३८०४ नम्बरको भारतीय ट्रक वीरगञ्ज रक्सौल नाकामा रहेको शंकाराचार्य गेट कटिसकेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

चालक भारतको युपी कानपुर जिल्ला घर भएका ३२ वर्षीय धमेन्द्र कुमारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सीमावर्ती प्रहरी चौकी इनर्वाले बरामद गरेको मरिचको बजार मूल्य १ करोडभन्दा बढी हुने अनुमान प्रहरीको छ ।

सोमबार साँझ ७ बजेको समयमा एक ट्रक मरिच बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले जानकारी दिए । ‘एक ट्रक मरिच बरामद गरेका छौं, अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर राखेका छौं,’ उनले भने, ‘मरिचका बारेमा थप अनुसन्धान गरिरहेका छौं ।’

मरिच आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

कलकत्ता बन्दरगाह हुँदै तेस्रो मुलुकबाट आयात हुने मरिच नेपालबाट भारततर्फ तस्करी हुने गरेको छ । मसलाको रुपमा प्रयोग गरिने मरिच नेपालमा भन्दा भारतमा दोब्बर मूल्यमा बिक्री हुने गरेको छ ।

दुई दिनअघि पनि पर्साको विन्ध्यवासिनी गाउँपालिका ४ अमरपट्टीबाट तस्करी गरेर भारत लैजाँदै गरेको १८ सय किलो मरिच बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment