Comments Add Comment

छाला भन्दै झुक्याएर गरिन्छ मरिचको तस्करी

२२ जेठ, वीरगञ्ज । छाला भनेर वीरगञ्जस्थित मुख्य भन्सार नाकाबाटै मरिचको तस्करी गर्न खोजिएको रहस्य खुलेको छ ।

वीरगञ्ज भन्सार हुँदै शंकराचार्य गेट कटिसकेपछि ५० मिटर दक्षिण तर्फ एक ट्रक मरिच नियन्त्रणमा लिएपछि पर्सा प्रहरीले यस्तो जानकारी दिएको हो ।

सोमबार साँझ नेपालबाट भारततर्फ जाँदै गरेको युपी ७८ बिटी ३८०४ नम्बरको भारतीय ट्रकमा १२ टन २ क्वीन्टल मरिच फेला परेको थियो । मरिचको बोरालाई जुटको बोराभित्र हालेर छाला निर्यात गर्न खोजिएको जस्तै देखाउन खोजिएको थियो ।

सोमबार साँझ बरामद गरिएको १२ टन मरिचको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले चालकलाई छाला भनेर मरिच लोड गरेको तथ्य खुलेको जानकारी दिए ।

‘मालवस्तुको बारेमा सोधपुछ गर्दा मरिच लोड गरिएको र मरिच सम्बन्धी आवश्यक कागजपत्र भेटिएन, त्यसपछि हामीले मरिचसहितको ट्रक र भारतीय चालकलाई नियन्त्रणमा लिएका छौं’ उनले भने ‘चालकले आफू पहिलोपटक वीरगञ्ज आएको बताएका छन्, आलु लिएर रक्सौलसम्म आएका उनलाई वीरगञ्जबाट छाला लोड हुन्छ त्यो लिएर आउनु भनिएको रहेछ । चालकले धेरै कुरा जानकारी दिन सकेका छैनन् ।’

चालक भारतको युपी कानपुर जिल्ला थाना सचेन्डी भौती ग्राम पञ्चायत बस्ने ३२ बषर्ीय धमेन्द्र कुमारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सीमावर्ती प्रहरी चौकी इनर्वा प्रहरी चौकीले बरामद गरेको मरिचको बजार ६२ हजार भन्दा बढी हुने अनुमान प्रहरीको छ ।

प्रहरी स्रोतका अनुसार धमेन्द्र दुई दिनअघि रक्सौलमा आलु अनलोड गरेर खाली ट्रक लिएर नेपाल प्रवेश गरेका थिए । उनलाई नेपालबाट छाला लोड हुन्छ भनिएको थियो । सोही आधारमा उनी नेपाल आएका थिए । वाइपास क्षेत्रबाट कन्टेनरबाट ट्रकमा समान लोड गरिएको थियो । धमेन्द्रले समानको बारेमा आफूलाई जानकारी नभएको बताएको प्रहरीले जनाएको छ ।

ठूलो परिमाणमा मरिच बोकेको ट्रक भन्सार कसरी कट्यो ? भन्ने विषय अहिले वीरगञ्जमा चर्चाको विषय बनेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत सेवन्तक पोखरेलले यसबारेमा गम्भीर ढंगले अनुसन्धान भइरहेको जानकारी दिए ।

मुख्य भन्सार नाकाबाटै मरिच जानु स्रोतका अनुसार सोमबार राति भन्सार क्षेत्रमा सशस्त्र प्रहरी र प्रहरीबीच मरिचकै विषयलाई लिएर भनाभनसमेत भएको थियो । तर प्रहरी उपरीक्षक ढकालले त्यस्तो कुनै विवाद नभएको दावी गरे ।

भियतनामबाट कलकत्ता बन्दगाह हुँदै आयात हुने मरिच नेपालबाट भारतमा महंगोमा बिक्री हुने भएकोले भारत तर्फ तस्करी हुने गरेको छ । मसलाको रुपमा प्रयोग गरिने मरिच नेपालमा भन्दा भारतमा झण्डै दोब्बर मुल्यमा बिक्री हुने गरेको व्यापारीहरु बताउँछन् ।

छिपहरमाई गाउँपालिकाको भिश्वाको सिक्टा बजारमा ५ सय रुपैयाँ प्रतिकिलो पाइने मरिच भारतको सीमावर्ती बजारहरुमा भारतीय रुपैयाँ ५ सय अर्थात नेपाली ८ सय रुपैयाँ प्रतिकिलोमा बिक्री हुने गरेको छ ।

एक किलोमा तीन सय भन्दा बढी नाफा हुने भएका कारण सीमावर्ती क्षेत्रका व्यापारीहरुले ठूलो परिमाणमा मरिच खरिद गरेर लैजाने र भारत तर्फ अवैध निर्यात गर्दै आएका छन् । सीमावर्ती क्षेत्रका व्यापारीहरुले वीरगञ्जबाट खरिद गरेर लगेको मरिच बुडगाई, टिहुकी र जयमंगलापुर नाका हुँदै भारततर्फ सिक्टा, बल्थरको र मैनाटाड बजारमा लगेर बेच्ने गरेका छन् ।

अवैध रुपमा भारततर्फ निकासी गर्दै गरेको अवस्थामा प्रहरीले २०७४ साउन १४ गतेदेखि हालसम्म पर्साको विभिन्न स्थानबाट १८ टन मरिच बरामद गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

१० चक्के ट्रक, दुई वटा ट्याक्टर एउटा मोटरसाइकल र ८ जना मानिसलाई समेत नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । नियन्त्रणमा लिएको मरिच, सवारी साधन र मानिसहरुलाई समेत आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजन लिम्बुले जानकारी दिए ।

‘हामीले मरिच खरिद गर्ने व्यापारीहरु माथि पनि निगरानी बढाएका छौं । ठूलो परिमाणमा खरिद गर्ने र भारततर्फ तस्करी गर्नेहरुलाई कानुनले छोड्दैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment