Comments Add Comment

साउदी अरबका महिलाले पहिलोपटक पाए ड्राइभिङ लाइसेन्स

२३ जेठ, काठमाडौं । साउदी अरबमा पहिलोपटक महिलाहरुले ड्राइभिङ लाइसेन्स (चालक अनुमति पत्र) पाएका छन् । सोमबार १० जना महिलाहरुलाई लाइसेन्स वितरण गरिएको छ ।

यसअघि साउदीको क्राउन पिन्स मोहम्मद बिन सलमानले महिलाहरुलाई ड्राइभिङ लाइसेन्स नदिने नियम हटाउने ऐतिहासिक निर्णय लिएका थिए ।

अब २४ जुनदेखि साउदी अरबका सडकमा महिलाहरुले पनि गाडी चलाइरहेको देखिने छ । यसका लागि सर्वसाधारणहरुलाई पनि लाइसेन्स वितरण गरिँदै छ ।

साउदीको सूचना मन्त्रालयको सेन्टर फर इन्टरनेशनल कम्युनिकेशन विभागले भनेको छ, ‘सोमबार राजधानी रियादसमेतका केही शहरमा १० महिलालाई लाइसेन्स वितरण गरिएको छ । आगामी हप्तासम्म दुई हजार महिलालाई पनि लाइसेन्स दिने सम्भावना छ ।’

लाइसेन्स पाएपछि एक महिला रेमा जवादतले भनेकी छन्, ‘साउदी अरबका सडकमा गाडी चलाउने सपना पूरा हुनेवाला छ । मेरो गाडी चलाउने मेरो अधिकार हो । स्वतन्त्र रुपमा घुम्न सक्ने अधिकार । अब हामीसँग यो विकल्प छ ।’

सामाजिक सन्जालमा ड्राइभिङ लाइसेन्स पाएकी साउदीकी पहिलो महिलाको भिडियो भाइरल भइरहेको छ ।

महिलाहरुलाई गाडी चलाउने हक दिने यो कदम रुढिवादी देशलाई आधुनिक बनाउनका लागि क्राउन प्रिन्स मोहम्मद बिन सलमानको उदारीकरण अभियानअन्तर्गत चालिएको हो । यद्यपि यो निर्णय लिँदा क्राउन प्रिन्सले आलोचना पनि खेप्नु परेको थियो ।

यसअघि साउदी अरबकी राजकुमारी हेफा बिन्त अब्दुल्ला अल साउदको तस्वीर चर्चित फेशन म्यागजिन ‘वोग’को कभर पेजमा छापिएको थियो । सो तस्वीरमा राजकुमारीले अग्लो हिल भएको स्यान्डिल लगाएकी छन् । उनले बुर्का लगाएकी छैनिन् र गाडी चालकको सिटमा बसेकी छन् ।

यो तस्वीर सार्वजनिक भएपछि केही मानवअधिकारकर्मीले आलोचना गरेका थिए । आलोचना गर्ने तिनै अधिकारकर्मीलाई पक्राउ गरिएको थियो । केहीले पक्राउ परेकाहरुलाई रिहा गर्न पनि माग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment