Comments Add Comment

सिन्धुली-खुर्कोटमा ठूला सवारीसाधन गुड्न पाउनुपर्ने सांसदहरुको माग

२४ जेठ, रामेछाप । बिपी राजमार्गअन्तर्गत सिन्धुली-खुर्कोट सडकखण्डमा सबै खालका ठूला सवारीसाधन चल्न पाउनु पर्ने रामेछाप, दोलखा, सिन्धुली र काभ्रेका सांसदहरुले माग गरेका छन् ।

सांसदहरुले ७ बुँदे संयुक्त बिज्ञप्ति प्रकाशित गर्दै सिन्धुली-खुर्कोट सडकमा ठूला सवारीसाधन सञ्चालन गर्न नदिएको भन्दै आपत्ति जनाएका छन् ।

सांसदहरुले सो सडकमा प्रतिएक्सल भार १० टनको क्षमताको सवारीसाधन चलाउन मिल्ने भएपनि ठूला सवारीसाधन चलाउन रोक लगाउनु विधिसम्वत् नभएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षनसमेत गराएका छन् ।

उनीहरुले सो सडक खण्डहुँदै तराईबाट ल्याउने सिमेन्ट, रड, इटा लगायतका पुनर्निर्माणसँग सम्बन्धी सामग्री तथा औषधि र दैनिक उपभोग्य सामग्री ल्याउन कठिन भएको विज्ञप्तिमा उल्लेख छ ।

ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउँदा पूनर्निर्माणको समयमा भूकम्प पीडितहरु अझ बढी मारमा परेको विज्ञप्तिमा जनाइएको । विज्ञप्तिमा प्रदेश ३ अन्तर्गतका १५ जना सांसदहरुले हस्ताक्षर गरेका छन् ।

सिन्धुली खुर्कोट सडकमा ठूला सवारीसाधन नचल्दा र लामोसाँघुदेखि चरिकोटसम्मको सडकको दुरावस्थाका कारण रामेछाप, सिन्धुली, दोलखा, काभ्रेपलान्चोक लगायतका जिल्लावासी समस्यामा परेका छन् ।

उक्त सडकखण्डमा ठूला सवारीसाधन नचल्दा रामेछाप, दोलखा, लगायतका जिल्ला नाकाबन्दीमा परेको भन्दै यो बिषय प्रदेश सदनमा समेत उठाउने प्रदेश नम्बर ३ का सांसद शान्तिप्रसाद पौडेलले जानकारी दिए ।

उनले सिन्धुली-खुर्कोट सडकमा ठूला सवारीसाधन चलाउँदा अत्याधिक क्षति भएर दुर्घटना बढेको भन्ने बहानामा ठूला सवारी रोक्नु दुःखद भएको बताए ।

सर्वाेच्च अदालतले बिपी मार्गमा ठूला सवारीसाधन चलाउने गरी मन्त्री स्तरबाट भएको निर्णयमाथि कारणदेखाउ आदेश जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment