Comments Add Comment

प्रदेश २ को नीति तथा कार्यक्रम : वैकल्पिक उर्जाबाट ५० मेगावाट विजुली निकालिने

२४  जेठ, जनकपुरधाम । प्रदेश २ सरकारले आगामी आर्थिक वर्षमा ५० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । प्रदेश २ लाई वैकल्पिक उर्जा केन्द्रको रुपमा विकास गर्ने भन्दै प्रदेश सरकारले ५० मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको हो ।

बिहीबार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आगामी वर्षहरुमा विद्युत उत्पादन वृद्धि गर्दै जाने लक्ष्य प्रदेश सरकारले लिने बताए ।

‘प्रदेशलाई वैकल्पिक उर्जा केन्द्रको रुपमा विकास गर्न यस बर्ष ५० मेगावाट उत्पादन गर्दै क्रमशः आगामी बर्षहरुमा यस्को उत्पादन बृद्धि गर्दै जाने लक्ष्य प्रदेश सरकारले लिएको छ’  नीति तथा कार्यक्रममा भनिएको छ ‘सिञ्चाईको लागि सौर्य उर्जाको अधिकतम प्रयोग गरिने नीति लिइने छ ।’

त्यस्तै जनकपुर चुरोट कारखाना लिमिटेड क्षेत्रभित्र रहेको प्रादेशिक कार्यालय र निवासमा सौर्य उर्जा जडान गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रदेश सरकारले कृषिमा पनि विशेष कार्यक्रम घोषणा गरेको छ । उसले प्रदेश सहकारी विकास बोर्ड, प्रदेश उखु विकास बोर्ड, डेरी विकास बोर्ड, मत्स्य विकास बोर्ड, तरकारी तथा फलफुल विकास बोर्ड क्रमशः गठन गर्दै जाने नीति लिने उल्लेख गरेको छ ।

प्रदेश २ लाई अन्न भण्डार, तरकारी भण्डार, औद्योगिक बाली, दुध उत्पादन र माछा उत्पादन हुने विशेष प्रदेशको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सामुहिक गाईपालन तथा भैंसीपालनका लागि प्रोत्साहन गर्न न्यून  ब्याजदरमा ऋण दिने पनि उल्लेख गरिएको छ ।

त्यस्तै ३ वर्षभित्र ३ बर्ष भित्र प्रदेशलाई खुला दिसामुक्त बनाउने, एक घर एक शौचालय कार्यक्रम सञ्चालन गर्ने, वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताललाई हृदयरोग उपचार केन्द्रको रूपमा विकास गरिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा राखिएको छ ।

प्रदेशलाई हराभरा र स्वच्छ बनाउन हरा भरा स्वच्छ प्रदेश कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्न मुख्यमन्त्री स्वच्छता अभियानलाई निरन्तरता दिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

हेर्नुस् नीति तथा कार्यक्रमको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment