Comments Add Comment

बाह्र छोरा तेह्र नाति, आफ्नो दुःख आफैंमाथि !

हामी भ्रुण थियौं । शिशु भयौं । बालक भयौं । किशोर भयौं । युवा भयौं । वयस्क भयौं । बूढा हुन्छौं । त्यसपछि ?

हाम्रो देह माटोमा विलय हुन्छ । जीवनको सारा चमक-धमक, इच्छा-आकंक्षा, खुसी-उमंग, दुःख-पीडा, रिस-राग, दम्भ-अहंकार केही पनि बाँकी रहँदैन ।

जतिबेला हामी बच्चा थियौं, हात-पाउ टेकेर हिँड्थ्यौं । बिस्तारै उभिन सिक्यौं । ठिंग उभियौं । र, फेरि क्रमशः हामी कुपि्रँदै गयौं । अन्ततः आफ्नै ज्यान थेग्नका लागि हात-पाउको आड लिनुपर्ने भयो । अर्थात हामी बूढा भयौं ।

यस्तै वृत्तकार जीवन-रेखाबाट हाम्रो जीवन गुज्रिन्छ ।

भगवान बुद्धले भनेका छन्, ‘जन्म, जरा (बुढ्यौली) र मृत्यु मानिसका दुःख हुन् ।’

र, हरेक मानिस दुःखको यो भवचक्रबाट गुज्रनैपर्छ ।

अहिले तपाईं कति वर्ष पुग्नुभयो ? २२ ? होइन २८ ? ३२ वर्ष ? आखिर यो हिसाब-किताब दिनदिनै बढ्दै जाने हो । हिजो २० वर्षको लक्का जवान हुनुहुन्थ्यो । आज गृहस्थीमा फसिसक्नुभएको छ । भोलि बूढो हुनुहुन्छ ।

बूढापाकासँग जीवन भोगाईको खास अनुभव हुन्छ । ति अनुभवहरु हामीले हार्वर्ड वा क्याब्रिज विश्वविद्यालयबाट समेत आर्जन गर्न सक्दैनौं ।

बूढो त आखिर हुनु नै छ ।

त्यसो भए, तपाईं आफ्नो बुढ्यौली कसरी कटाउनुहुन्छ होला ?

यो प्रश्नको जवाफ सम्भवत तपाईंले खोज्नु भएकै थिएन । हामी जीवनको रसरंगमा यति धेरै मग्न हुन्छौं कि, आफ्नो बुढ्यौलीबारे घोत्लिन नै फुर्सद हुँदैन । तर, तपाईंको हजुरबुवा-हजुरआमा, बुवा-आमा, काका-काकी त्यही चरणमा छन्, जो तपाईंले सोच्नु पनि भएको छैन ।

जब शरीरलाई बुढ्यौलीले गाँज्दै लैजान्छ, त्यसबेला तपाईंको दिनचर्या कस्तो हुन्छ होला ? तपाईंको मनोदसा कस्तो हुन्छ होला ? तपाईंको जीवन-भोगाई कस्तो हुन्छ होला ?

जब पुग्छ साठी…

भनाइ नै छ, ‘जब पुग्छ साठी, हातमा लाठी ।’

अर्थात जीवनको यो चरणमा आइपुग्दा हामीसँग आफ्नै शरीर थेग्ने ताकत हुँदैन । आफ्नो ज्यान उठाउनका लागि लठ्ठीको सहारा खोज्छौं । यसो हात समाएर ममतापूर्वक उठाउने नाती-नातिना नहोलान् । श्रद्धापूर्वक कक्रिएको हात-गोडा मुसार्न छोरो-बुहारीलाई फुर्सद नहोला ।

त्यही ओछ्यान, त्यही कोठा, त्यही घर, त्यही कौशी । एकै ठाउँमा मिनेट, घण्टा, दिन र महिनौं-महिना गुजार्नु पर्दो हो । त्यहाँभन्दा पर पुगेर ताजा हावा खान मन लागेर के गर्नु ?

‘बूढो मान्छेलाई कति सकसक लागेको’ भनेर छोरा-बुहारी रिसाउलान् । रिसाएर वृद्धाश्रम पठाइदेलान् । छोरा-बुहारीले भन्लान्, ‘सबैथोक यहीँ ल्याइदिन्छौं, ढुक्कले बस्नू ।’

तर, मन ढुक्क होला र ? भर्खरै गुमाएका आफ्नो जीवनसाथीको झल्को आउँदो हो । बैँसालु उमेरमा एकअर्कासँग छिल्लिदै बसेको यादले सताउँदो हो । साना छोराछोरीलाई काखमा सुताएर ‘एकादेशको कथा’ भनेको सम्झनाले मन कटुक्क खाँदो हो ।

विस्मृत हुँदै गएको यादले मनमा भक्कानो छुट्दो हो । भाँसिएको गहिरो आँखा टिलपिल हुँदो हो ।

यसरी सोच्दा-सोच्दै हातखुट्टा गल्दो हो । यसो मन बहलाउन कौसीसम्म पुगौं भन्ने लाग्दैन र ? तर, बाथले कक्रिएको जोर्नी । जर्‍याक-जुरुक गर्न पनि नमिल्ने । उच्च रक्तचाप, मधुमेह, दमको औषधी ठीक समयमा खान आइपुग्नैपर्ला । अर्कोतिर अल्जाइमरले गाँज्दो हो, न समयको ख्याल हुने । न राखेको कुनै सामानको । औषधी खाइयो, खाइएन भनेर समेत हेक्का रहँदैन सायद ।

पट्यारलाग्दो दैनिकी

बुढ्यौंली, जसलाई हामी सबैले भोग्नैपर्छ ।

ज्येष्ठ नागरिकका क्षेत्रमा काम गरिरहेकी आरती कटुवालको अनुभवमा, ‘हाम्रो जस्तो पारिवारिक संरचनामा बुढ्यौली जीवन पट्यारलाग्दो हुनेगर्छ ।’

पट्यारलाग्दो यसकारण कि, त्यसबेला आफ्ना मनको दुःखसुख बाँड्ने जीवनसाथी नहुन सक्छ । दुःखको कुरा कसलाई सुनाउने ? कसरी मन बहलाउने ?

जति-जति बुढौलीले छोप्दै जान्छ, जीवन एक्लो हुन्छ । चाख मानेर राजनीति वा सिनेमाको गफ गर्ने साथीभाइहरु पातलिन्छन् । हिजो जो आफूसँग बोल्न, खेल्न, ख्यालठट्टा गर्न झ्याम्मिन्थे, उनीहरु नहुँदा हुन् । आफ्ना छोराछोरीसँग भलाकुसारी गर्ने फुर्सद हुँदैन । नाती-नातिनालाई आफ्नो उपस्थिति ‘झ्याउलाग्दो’ लाग्नसक्छ ।

यस्तो अवस्थामा एउटा घरभित्र, अझ भनौं एउटा कोठाभित्र थुनिएर बस्नुपर्दा कति विरक्त लाग्दो हो । ‘पहिले संयुक्त परिवार हुन्थ्यो, घरभरि मान्छे हुन्थे,’ आरती भन्छिन्, ‘अहिले त्यो पनि छैन । धेरैजसोको एकल परिवार छ । कतिपय पढ्न र काम गर्न बिदेशिएका छन् । यस्तो अवस्थामा बूढाबुढी झन् एक्लो भएका छन् ।’

आमाबुबा बूढो भएपछि ‘पाल्नुपर्छ’ भन्ने संस्कार त छ । तर, कसरी पाल्ने भन्ने मानवीय भावना भने हराउँदै गएको आरतीको बुझाइ छ ।

‘बूढाबुढीलाई खान, लाउन दिएर मात्र हुँदैन,’ उनी भन्छिन्, ‘उनीहरुसँग बोल्ने, दुःखसुखको कुरा गर्ने, रमाइलो गर्ने पनि त गर्नुपर्छ । तर, अहिले त्यस्तो चलन देखिँदैन ।’

बूढाबुढीलाई या त घरकै कोठामा बन्द गरिदिने, या त वृद्धाश्रममा लगेर थन्काइदिने, या त सडकमा लगेर छाडिदिने प्रवृत्ति व्यापक छ ।

‘बूढाबुढी भनेपछि त्यसलाई बोझको रुपमा लिने मनोविज्ञान छ । त्यहीकारण बुढ्यौली जीवन पीडादायी बन्दैछ’, आरती भन्छिन् ।

आफ्नै शरीरको बोझ 

यो त्यस्तो चरण हो, जतिबेला आफूले मन लागेको खानेकुरा खान पाइँदैन । गर्न मन लागेको कुरा गर्न सकिँदैन । खाने, लाउने रहर खुम्चिदै जान्छ । जब शरीर जीर्ण र बूढो हुँदै जान्छ, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । पाचन यन्त्रले राम्ररी काम गर्दैन । मुटु, कलेजो, मिर्गौलाको कार्यक्षमता घट्छ ।

बुढ्यौली जीवन भनेको सबै कुरा निखि्रएको जस्तै अवस्था हो । न त्यसबेला मिठो-मसिनो खाने रहर हुन्छ । न राम्रो लगाउने । न रमझम गर्ने । आफ्नो ऊर्जा, ताकत सबै सकिएपछि, आफ्नै घर-परिवारबाट अपहेलित हुन्छन्, बूढापाकाहरु । उनीहरु ‘आश्रति’ जीवन बाँच्न बाध्य हुन्छन् । कमाई ल्याउनेहरुले हेला गर्छन् । होच्याउँछन् । त्यस्तो बेला उनीहरुको मनमा कति आघात पर्दो हो । बुढ्यौली जीवन स-सम्मान बाँच्न पाउन गाह्रो छ ।

केही समयअघि पर्यावरण सम्बन्धी प्रख्यात अष्ट्रेलियन वैज्ञानिक डेभिड गुडअल बटनीले स्वेछिक मृत्यु रोजे । उनी १ सय ४ वर्षका थिए ।  यसरी स्वेच्छिक मृत्यु रोज्नुको एउटै कारण थियो, सम्मानजनक अन्त्य । मृत्युअघि उनले भनेका थिए, ‘मलाई यो उमेरमा पुगेको पछुतो छ । म खुसी छैन ।’

हरेक मानिस स्वभावैले सम्मानजनक जीवन बाँच्न चाहन्छ । तर आफू कमजोर हुँदै गएपछि समाज, परिवारले त्यो सम्मान दिँदैन, जो जवान छँदा दिने गर्थ्यो । बुढ्यौली अवस्थामा ‘न मरिजानु, न गरिखानु’को अवस्थामा पुगिन्छ ।

बूढाबुढीलाई या त घरकै कोठामा बन्द गरिदिने, या त वृद्धाश्रममा लगेर थन्काइदिने, या त सडकमा लगेर छाडिदिने प्रवृत्ति व्यापक रहेको छ ।

को चाहन्छन्, आफ्नो दिसा-पिसाब अरुले सोहोर्नु परोस् । आफ्नो गाँस अरुले ख्वाइदिनु परोस् । आफ्नो ज्यान उठाउन अरुको बल प्रयोग गर्नुपरोस् । तर, नचाहेर पनि हामी त्यही चरणमा पुग्छौं, जतिबेला हामीले चाहेजस्तो केही हुँदैन ।

आरती भन्छिन्, ‘धेरैजसो बूढापाकाहरु अहिले चिन्ताग्रस्त छन् । उनीहरुमा डिप्रेसन छ ।’

शान-शौकत खोसिएपछि

आफ्नो बल, ताकत, पेशा, व्यवसाय, रोजगार, धन, दौलत सबैले पूर्ण हुँदा उनीहरुको आफ्नै शान-शौकत हुन्छ । समाजले उनीहरुलाई ‘गन्यमान्य’ व्यक्तिको दर्जा दिन्छ । सामाजिक प्रतिष्ठा, सम्मान सबै कुरा प्राप्त हुन्छ । आफ्ना ग्राहक, आफ्ना सहकर्मी, आफ्ना कर्मचारी, आफ्ना साझेदार सबैसँग उठबस, ख्यालठट्टा हुन्छ । जीवन रनघन हुन्छ ।

तर, जुन दिन मानिसले आफ्नो जागिरबाट अवकास पाउँछ । उद्यम-व्यवसायबाट विश्राम पाउँछ । ठीक त्यही दिनदेखि उसको वरिपरि झ्याम्मिन आउने सहकर्मी, ग्राहक, कर्मचारी पर-पर हुन्छन् ।

‘अवकास पाएपछि उनीहरुमा पहिलेजस्तो शान-शौकत बाँकी रहँदैन,’ आरती भन्छिन्, ‘उनीहरु एक्लिँदै जान्छन् । त्यसले सबैभन्दा पहिला उनीहरुलाई डिप्रेसनमा पुर्‍याउँछ ।’

अहिले शहरी क्षेत्रका घर-घरमा बूढापाकाहरु डिप्रेसनग्रस्त रहेको उनले बताइन् । पद-प्रतिष्ठामा रहिसेककाहरु अवकासपछि डिमेन्सिया, अल्जाइमर जस्ता रोगका शिकार हुने आरतीको भनाइ छ ।

बूढोको धोक्रो काँधै माथि

‘बाह्र छोरा, तेह्र नाती, बूढाको धोक्रो काँधै माथि’ हाम्रो पारिवारिक संरचना र संस्कार कसरी धरासायी हुँदै आएको छ भन्नका लागि यो उखान पर्याप्त छ । बुढ्यौली आफैमा रोग होइन । समस्या होइन । बोझ होइन । यो त प्राकृतिक नियम हो । प्राकृतिक चक्र हो । जन्मिएपछि हरेकले त्यो चरणमा पुग्नैपर्छ । त्यो चरण, जतिबेला हामी सम्पूर्ण रुपमा थाकिसकेका हुन्छौं । गलिसकेका हुन्छौं ।

न कुनै आकांक्षा, न कुनै रहर, न कुनै मोह, न कुनै तृष्णा । जीवनको यो चरणमा मात्र एउटै कुराको आवश्यक हुन्छ, श्रद्धा र सम्मान ।

यो भनेको दया होइन, करुणा होइन । कोही चाहँदैन टिठलाग्दो जीवन व्यतित गर्न । तर, हाम्रो संस्कार कसरी बिगि्रँदै गएको छ भने, बूढापाकाप्रति न हामी सम्मानजनक व्यवहार गर्छौं, न श्रद्धा । बूढापाकालाई अलग कोठामा थन्काउने र उनीहरुमाथि हाम्रो शासन लाद्ने प्रवृत्ति अहिले हावी भएको छ ।

कतिले ‘पाल्नैपर्छ’ भन्ने मानसिकताको कारण औपचारिकता निर्वाह गरिरहेका छन् । कतिले बृद्धाश्रममा लगेर थन्काइदिएका छन् । मानौं, बूढापाकाभित्र ‘निर्जीव मन’ मात्र बाँकी छ । उनीहरुलाई जे-जसरी हुन्छ पाखा लगाउनु पाए पुग्यो । जेसुकै गरेपनि उनीहरुले त्यसमा विद्रोह गर्ने होइन । आनाकानी गर्ने होइन । त्यही कमजोरीको फाइदा उठाएर हामी बूढापाकालाई कुनै संग्रहालयको बस्तु झै थन्काएर राख्ने चेष्टा गर्छौं ।

एउटा कथा छ,

बृद्ध भएका बुवालाई उनको छोरोले डोकोमा बोकेर भिरबाट मिल्काइदिएछन् । घरमा फर्किपछि उनको छोरोले भनेछन्, ‘बुवा, त्यो डोको जतनसाथ राख्नुहोला है ।’

बुबाले सोधेछन्, ‘किन ?’

छोरोले प्रतिप्रश्न गरेछ, ‘हजुरबालाई जस्तै, हजुरलाई भिरमा लाने बेला त्यो डोको चाहिँदैन त ?’

आरती भन्छिन्, ‘अहिले हामीकहाँ यस्तो मानसिकता बनिसकेको छ कि, अब छोराछोरीले हामीलाई पाल्नेवाला छैनन् । किनभने उसले पनि आफ्ना आमाबुवालाई पालेन । त्यहीकारण आफ्ना छोराछोरीले कसरी पाल्छन् भन्ने शंका छ ।’ यही कारण अहिले धेरैजसो दम्पतीले बुढ्यौलीका लागि धन-सम्पति जगेर्ना गर्ने चलन रहेको उनले बताइन् ।

बुढ्यौलीः एक असुरक्षा

हामी जति-जति बुढ्यौलीमा पुग्दै जान्छौं, उत्तिनै असुरक्षित हुँदै जान्छौं । मानसिक तथा भौतिक रुपले हामी कमजोर हुन्छौं ।

बुढ्यौलीमा आवश्यक औषधीपानी, उपचार, खानपान, बसोबासका लागि हामीसँग संचित धन नहुन सक्छ । यस्तो किनपनि हुन्छ भने, छोराछोरी हुर्कनासाथ अंशबन्डा गर्ने चलन छ । छोराछोरीलाई अंश दिइसकेपछि अक्सर बूढाबुढी रित्तिन्छन् । उनीहरुसँग धनदौलत बाँकी रहँदैन ।

आफ्नो ऊर्जा, ताकत सबै सकिएपछि, आफ्नै घर-परिवारबाट अपहेलित हुन्छन्, बूढापाकाहरु । उनीहरु ‘आश्रति’ जीवन बाँच्न बाध्य हुन्छन् ।

यस्तो अवस्थामा बुढ्यौली जीवनमा आर्थिक असुरक्षा जटिल समस्या बन्छ । आफूसँग पुग्दो धन-सम्पति नभएपछि आफ्नो कोखबाट जन्माएका छोराछोरीले समेत हेला गर्न थाल्छन् । आफूलाई पाल्नुपर्ने, छोराछोरीलाई हुर्काउनु-पढाउनुपर्ने परिस्थितिमा बुवा-आमालाई पनि पाल्नुपर्ने कुरा निम्न मध्यम, मध्यमवर्गीय परिवारले बोझ ठान्छन् ।

हाम्रो पारिवारिक संरचनाअनुसार बुवा-आमालाई छोराछोरीले पाल्नुपर्छ । तर, छोराछोरी स्वयंलाई आफ्नो जीवन धान्न धौ-धौ परिरहेको अवस्थामा आमाबुवा थप बोझिलो लाग्ने नै भयो ।

विकसित मुलुकमा जेष्ठ नागरिकको जीवन हामीकहाँ जस्तो कहालीलाग्दो नभएको जानकारहरु बताउँछन् । जेष्ठ नागरिकको पालन-पोषण, औषधी-उपचारदेखि सम्मानजनक जीवनयापनका लागि राज्यले नै समुचित व्यवस्था गरिदिन्छ । यसका लागि नागरिकले पनि राज्यप्रति आफ्नो दायित्व पूरा गरेको हुन्छ ।

बुढ्यौलीमा औषधी सेवन गर्नुपरेमा, उपचार चाहिएमा तुरुन्तै सरकारले उक्त सेवा उपलब्ध गराउँछ । त्यसबाहेक आरामदायक जीवनयापनका लागि समेत उचित व्यवस्था गरिदिन्छ ।

अनुदार राज्य

एक पर्यटन व्यवसायी भन्थे, ‘जीवनभर मैले जे-जति काम गर्छु, गरेको छु त्यसबाट राज्यले प्रत्यक्ष फाइदा लिन्छ । मैले आफ्नो बुद्धि, विवेक, बल, शक्ति, समय खर्च गरेर जे जस्तो उद्यम व्यवसाय गर्छु, त्यसको केही हिस्सा राज्यले प्राप्त गर्छ । मैले यहाँ उपभोग गर्ने सलाइदेखि गाडीसम्मबाट पनि राज्य लाभान्वित हुन्छ । तर, जब म बूढो हुन्छु, मप्रति राज्य कत्तिपनि जिम्मेवार हुँदैन । जबकी विकसित राज्यमा हरेक नागरिकको आर्थिक, सामाजिक सुरक्षामा राज्य जिम्मेवार र वफादार हुन्छ । त्यही कारण ति देशहरुमा कर छली गर्न मनले मान्दैन । किनभने त्यो अन्ततः आफ्नै लागि हो भन्ने बोध हरेक नागरिकमा छ ।’

विकसित मुलुकमा जेष्ठ नागरिकको सुरक्षा एवं संरक्षण मात्र होइन, थुप्रै छुट र सुविधा पनि उपलब्ध गराएको पाइन्छ । तर, हामीकहाँ जेष्ठ नागरिक अपमानजनक जीवन बाँचिरहेका छन् । सार्वजनिक स्थानमा बूढाबुढीमाथि भेदभाव हुने, तिरस्कार गर्ने, शारीरिक उत्पीडन दिने घटना पनि सतहमा देखिन्छन् ।

जेष्ठ नागरिकका हकमा राज्यको प्रत्यक्ष उत्तरदायित्व भनेको वृद्धभत्ता हो, जो मासिक दुई हजार दिइन्छ । दुई हजारले अहिले सामान्य औषधीसमेत खान पुग्दैन । यो दुई हजार रुपैयाँ भत्ता पाउनका लागि पनि ५६ वर्ष पूरा गर्नुपर्छ । जबकी नेपालीको औसत आयु ७१ वर्ष छ । झट्ट हेर्दा यो ‘मर्ने बेला हरियो काँक्रो’ भनेजस्तै मात्र छ ।

कुरा सुन्नु बूढाको

‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बूढाको’

अक्सर नाती-नातिना आफ्ना हजुरबा, हजुरआमासँग झ्याम्मिने गर्छन् । उनीहरुको काखमा बसेर ‘एकादेशको कथा’ सुन्न लालायित हुन्छन् । उनीहरुको ममतामयी स्पर्शमा फुरुङ्ग हुन्छन् ।

बूढापाका भनेको घरका शोभा हुन् । सौन्दर्य हुन् । खजना हुन् । उनीहरुले बाँचेको युग, समाज, संस्कार हाम्रो लागि प्रेरणाको स्रोत बन्न सक्छ । बूढापाकाहरु आफैमा एउटा कालखण्डको जिउँदा साक्षी हुन् ।

बूढापाकासँग जीवन भोगाइको खास अनुभव हुन्छ । ति अनुभवहरु हामीले हार्वर्ड वा क्याबि्रज विश्वविद्यालयबाट समेत आर्जन गर्न सक्दैनौं । बूढापाका यस्तो आँखीझ्याल पनि हो, जहाँबाट हामी जीवन र जगतलाई हेर्न, बुझ्न सक्छौं ।

सामान्य रुघाखोकी लाग्दा घरेलु औषधी कसरी बनाउने भन्नेदेखि जीवनका असफलताहरुसँग कसरी जुध्ने भन्नेसम्मको ज्ञान र अनुभव उनीहरुसँग सुरक्षित हुन्छ । तर, यति अनमोल बूढापाका हामीलाई ‘घाँडो’ लाग्छ । किनभने, आज हामी भ्रष्ट संस्कारको शिकार भइरहेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment