Comments Add Comment

एडिलेडमा गञ्जिदै ‘गजल मुशायरा’

एडिलेड (अस्ट्रेलिया) / कार्यक्रम सञ्चालक स्टेजमा आउँछन् , कार्यक्रमको बारेमा सानो जानकारीसहित उपस्थित सबैलाई अभिवादन गर्छन् । र, पहिलो गजल सर्जकलाई आफ्नो प्रस्तुतिको लागि स्टेजमा निम्त्याउँछन् ।

गजल वाचनमा श्रोताहरूको ‘वाह वाह’ र तालीले हल गुञ्जाएमान हुन्छ । यो क्रम अन्तिम सर्जकसम्म चलिरहन्छ । गजल वाचनकै क्रममा केही नृत्यहरू पनि प्रस्तुत गरिन्छन् जसमा दर्शकहरू मज्जाले झुम्छन् ।

अन्त्यमा सञ्चालकले स्टेज हस्तान्तरण गर्छन् लाइभ गजल गायनको लागि । यो दृश्य हो, विगतका गजल मुशायराका श्रृंखलाहरूको । जहाँ श्रोता/दर्शकहरूले दिक्क मान्ने कारण भेटाउँदैनन् । र, पूरै समय गजलीय आनन्द ग्रहण गर्छन् ।

सिड्नीमा चार सफल श्रृंखलाहरू र ब्रिसबेनमा एउटा भव्य श्रृंखलापछि गजल मुशायरा परिवारसँगको सहकार्यमा इनास साउथ अष्ट्रेलियाको प्रस्तुति चर्चित सम्पूर्ण गजल कार्यक्रम ‘गजल मुशायरा’ को एडिलेड संस्करणको आयोजना गरिएको छ। यो कार्यक्रम आगामी जुन २२ तारिख शुक्रबारका दिन साँझ बजेदेखि नर्थ एडिलेड कम्युनिटी सेन्टरको हलमा हुन गैरहेको छ ।

गजलको एउटा सम्पूर्ण कार्यक्रम भएकाले उक्त कार्यक्रम मा १३ जना गजलकारहरुको गजल वाचन, लाइभ गजल गायन तथा गजलमा नृत्य पनि प्रस्तुत गरिने छ।

गजल वाचनमा यस पटक एडिलेडका गजलकारहरुलाई सिड्नी, ब्रिस्बेन, अल्बेरी लगायतका शहरबाटसमेत गजलकारहरुले साथ दिने कार्यक्रमका संयोजक तथा इनास साउथ अष्ट्रेलियाका अध्यक्ष मिलन दाहालले जानकारी दिए ।

मोती जयन्तीको अवसरमा २०१४ देखि सिड्नीमा आयोजना हुँदै आएको गजल मुशायरा कार्यक्रम गजल तथा साहित्य मन पराउनु हुने व्यक्तिहरु माझ अत्यन्तै लोकप्रिय कार्यक्रम भएको र एडिलेडको संस्करणले एडिलेडको साहित्यिक माहोललाई अझ तताउनेमा विश्वस्त रहेको गजल मुशायरा सिड्नीका संयोजक जितेन्द्र मल्लले दावी गरे ।

सामाजिक सञ्जालमा ‘गजल मुशायरा लाइभ संस्करण’ प्रस्तुत गर्दै आएको गजल मुशायरा परिवारलाई संसारभरी छरिएर रहेका नेपाली गजल सर्जकहरूले अगाध स्नेह देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment