Comments Add Comment

विश्वकप समूह डीः अर्जेन्टिनालाई आइसल्याण्डको चुनौती

काठमाडौं । विश्वकप फुटबलको समूह ‘डी’ मा आइसल्याण्ड, अर्जेन्टिना, क्रोयसिया र नाइजेरीया छन् । फुटबल विश्लेषकहरु यो समूहलाई ‘ग्रुप अफ डेथ’ पनि भन्छन् । सबै टिम उस्तै बलियो हुँदा हुँदै पनि यो समूहमा स्टार स्ट्राइकर लियोनल मेसी रहेका कारण अर्जेन्टिनाको चर्चा बढी छ ।

आइसल्याण्ड

दुई वर्षअघि भएको युरोकप फुटबलमा इंग्ल्याण्डलाई हराएर आइसल्याण्डले क्वाटरफाइनल पुग्दै सबैलाई चकित पारेको थियो । त्यो प्रमुख प्रतियोगितामा पाएको आइसल्याण्डको ठूलो उपलब्धी थियो ।

यसपटक विश्वकपमा पहिलो पटक छनोट भएको आइसल्याण्डको अर्को राम्रो उपलब्धी हो । यसैले आइसल्याण्डका लागि विश्वकपमा कुनै दबाब हुने छैन । आइसल्याण्ड विश्वकप खेल्ने सबैभन्दा सानो देश पनि बनेको छ । आइसल्याण्डको जनसंख्या ३ लाख ३० हजार छ ।

युरोकपमा राम्रो गरेका धेरै खेलाडी अहिले विश्वकपका लागि घोषणा भएको टिममा पनि छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाको वरियतामा २२ औँ स्थानमा रहेको आइसल्याण्डको टिममा गिल्फी सिगुडर्सन जस्ता स्टार खेलाडी छन् । आइसल्याण्डले विश्वकप खेल्ने सबै टिमलाई चुनौती दिने क्षमता राख्छ ।

आइसल्याण्ड गएको वर्षको अक्टोबर ९ मा भएको खेलमा क्रोयसियालाई २-० ले हराउँदै विश्वकप स्थान बनाएको हो । उसले युरोपियन क्षेत्रको समूह आई को विजेताको रुपमा विश्वकपमा स्थान बनाएको हो ।

मुख्य खेलाडी – गिल्फी सिगुडर्सन

गिल्फी सिगुडर्सन आइसल्याण्डका स्टार खेलाडी हुन् । घुँडाको चोटका कारण गएको मार्चदेखि मैदान बाहिर रहेका उनी नर्वेसँग भएको मैत्रीपूर्ण खेलबाट मैदान फर्किए । उनले यो खेलमा गोल पनि गरे ।
उनी गएको पाँच वर्षदेखि आइसल्याण्डका वर्ष फुटबलर पनि हुन् । उनले विश्वकप छनौटका क्रममा चार गोल गरेका थिए भने त्यति नै गोलका लागि सहयोग पनि गरे ।

प्रशिक्षक – हेमिर हलग्रिमसन

पूर्व डेन्टिस्ट हेमिर हलगि्रमसन अहिले आइसल्याण्डको प्रशिक्षक छन् । उनी पूर्व फुटबलर पनि हुन् । दुई वर्षअघि टिमले युरोकपमा राम्रो प्रदर्शन गर्दा लार्स लागेब्र्याकसँगै उनी संयुक्त रुपमा प्रशिक्षक थिए । उनको एकल प्रशिक्षणमा आइसल्याण्डले विश्वकपको यात्रा गरेको हो । सन् १९९९ देखि नै फुटबल प्रशिक्षणमा लागेका हेमिर २०११ देखि आइसल्याण्डको सहायक प्रशिक्षक र २०१३ देखि मुख्य प्रशिक्षकको भूमिकामा छन् ।

अर्जेन्टिना

सन् १९३० देखि २०१४ सम्म १६ पटक विश्वकप खेलेको अर्जेन्टिना दुई पटकको विजेता पनि हो । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो ।

पाँच पटक सेमिफाइनलमा पुगेको अर्जेन्टिना पाँच पटक नै विश्वकपको फाइनलमा पुगेको छ । चार पटक क्वाटर फाइनलमा पराजित भएको छ ।

यो विश्वकपका लागि कठीन यात्रा गरेको अर्जेन्टिनाको सम्भावनालाई स्टार स्ट्राइकर लियोनल मेसीका कारण पनि कसैले नकार्न सक्दैन ।

अर्जेन्टिना मेसीकै हृयाटि्रकको सहयोगमा विश्वकपका लागि छनौट भएको थियो । दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गत अन्तिम खेलमा इक्वेडरविरुद्ध मेसीको हृयाटि्रकमा अर्जेन्टिनाले रुस यात्रा तय गरेको थियो ।

मुख्य खेलाडी – लियोनल मेसी

अर्जेन्टिना र स्पेनिस क्लब बार्सिलोनाका समर्थक मात्रै होइन, विश्वभर रहेका फुटबल समर्थक मेसीको उत्कृष्ट खेल शैलीसँग परिचित छन् । गएको विश्वकपमा पनि उनकै उत्कृष्ट खेल लयमा अर्जेन्टिना फाइनलसम्म पुगेको थियो । पाँच पटकका बलोन डि’ओर विजेता मेसीले यसपटक पनि विश्वकपमा राम्रो खेल प्रदर्शन गर्ने विश्वास गरिएको छ ।

उनले यो सिजन बार्सिलोनाबाट खेलेका ५४ खेलमा ४५ गोल गरे । ला लिगाको ३६ खेलमा उनले गरेको ३४ गोल यो वर्षको गोल्डेन बुट उपाधिको गोल पनि बन्यो ।

मेसीले यसअघि तीन वटा विश्वकप खेलिसकेका छन् । मेस्सीसहितको अर्जेन्टिना २००६ को विश्वकपमा जर्मनीसँग क्वाटरफाइनलमा पराजित भयो । २०१० को विश्वकपमा जर्मनीसँग नै क्वाटरफाइनलमा पराजित भएको अर्जेन्टिना २०१४ मा जर्मनीसँगै फाइनलमा १-० ले पराजित भएको थियो ।

प्रशिक्षक – जर्ज सामपाओली

सन् २०१२ देखि ०१६ सम्म चिलीको प्रशिक्षक रहेका सामपाओली सन् २०१७ देखि अर्जेन्टिनाको प्रशिक्षक छन् । सन् २००२ मा पेरुको फुटबल क्लबबाट प्रशिक्षण सुरुवात गरेका उनले त्यसयता आˆनो क्षमता देखाइसकेका छन् । उनले सन् २०१६ देखि ०१७ सम्म स्पेनिस क्लब सेभियामा रहेर पनि काम गरे । ५८ वर्षका उनले यसपटक अर्जेन्टिनालाई विश्वकप दाबेदारको रुपमा प्रस्तुत गरेका छन् ।

क्रोयसिया

फिफा वरियतामा १८ औँ स्थानमा रहेको क्रोयसियाको यो पाँचौ विश्वकप सहभागिता हो । सन् १९९० अघि युगोस्लाभियामा रहेर विश्वकप खेल्ने क्रोयसिया सन् १९९८ को पहिलो सहभागितामा नै तेस्रो भएको थियो । त्यसपछि सन् २००२, २००६ र २०१४ मा क्रोयसियाले विश्वकप खेलेको छ । पछिल्लो तीनै विश्वकपमा भने क्रोयसिया समूह चरणबाट अघि जान सकेको छैन ।

सन् १९९८ को विश्वकपको क्वाटरफाइनलमा जर्मनीलाई ३-० ले हराएपछि क्रोयसियाको चर्चा विश्व फुटबलमा चुलिएको थियो ।

विश्व फुटबलका ठूला भनिएका क्लबबाट खेल्ने खेलाडीको वर्चस्वले गर्दा पनि क्रोयसिया टिम सरपाइज प्याकेज बन्न सक्छ । स्पेनिस क्लब रियल मडि्रडका लुका मोडरिक, बार्सिलोनाका इभान र्‍याकिटिक जस्ता खेलाडी क्रोयसियन टिममा छन् ।

मुख्य खेलाडी – लुका मोडरिक

विश्व फुटबलमा अहिलेको सयमका उत्कृष्ट मिडफिल्डर लुका मोडरिक क्रोयसिन टिमका मुख्य खेलाडी हुन् । सन् २००६ देखि क्रोयसियन टिममा रहेका मोडरिकले १०५ खेलमा १२ गोल पनि गरेका छन् । कप्तान समेत रहेका उनले अर्का मिडफिल्डर इभान र्‍याकिटिकसँगको तालमेलमा क्रोयसियालाई विश्वकप दाबेदारका रुपमा प्रस्तुत गर्ने छन् ।

प्रशिक्षक – लाट्को डालिस

डालिस सन् २०१७ देखि क्रोयसियन टिमको प्रशिक्षक बनेका हुन् । त्यसअघि उनी सन् २००६ देखि ०११ सम्म क्रोयसियन यु २१ टिमका सहायक प्रशिक्षक पनि थिए । पूर्व खेलाडीसमेत रहेका युगोस्लाभियाका डालिस डिफेन्सिभ मिडफिल्डबाट खेल्थे । विश्वकप छनोटको अन्तिम सयममा क्रोयसियन टिमलाई सम्हालेका उनले युक्रेनविरुद्धको अन्तिम खेल र प्ले अफ खेलमा गि्रसलाई हराउन महत्वपूर्ण भूमिका निभाए ।

नाइजेरिया

नाइजेरिया यसपटक अफ्रिकाबाट विश्वकपमा छनोट हुने पहिलो टिम हो । नाइजेरियाले सन् १९९४, १९९८, २००२ मा लगातार तीन पटक विश्वकप खेलेको थियो । २००६ मा छनोट हुन नसकेको नाइजेरिया त्यसपछिका तीन वटै विश्वकपमा छनोट भएको छ ।

नाइजेरियाको यो छैठौँ विश्वकप सहभागिता हो । दुई पटक समूह चरणबाटै बाहिरिएको नाइजेरिया यसअघि तीन पटक अन्तिम १६ मा पुगेको छ ।

क्यामरुन, जाम्बिया र अल्जेरिया रहेको विश्वकप छनोटको समूहमा नाइजेरियाले आˆनो उत्कृष्ट खेल देखाएर विश्वकपमा राम्रो गर्ने सम्भावना प्रस्तुत गरेको थियो । विश्वकपको समूह ‘डी’ मा रहेका जुनसुकै टिमविरुद्ध नाइजेरिया हाबी हुन सक्छ ।

मुख्य खेलाडी – जोन ओबी मिकेल

नाइजेरियाका कप्तानसमेत रहेका मिकेल सेन्ट्रल मिडफिल्डबाट उत्कृष्ट तालमेल बनाउँछन् । सन् २००६ देखि २०१७ सम्म इंग्लिस क्लब चेल्सीमा रहेका मिकेल अहिले चाइनिज क्लबमा आबद्ध छन् । उनी सन् २००६ देखि नै नाइजेरियन राष्ट्रिय टिममा सामेल छन् । नाइजेरियालाई विश्वकपसम्म ल्याउन उनको खेल महत्वपूर्ण रहेको छ । सेन्ट्रल मिडफिल्डबाट बल जोगाउने र विपक्षीको पोस्टमा आक्रमणमा बढाउने उनको शैली राम्रो छ ।

प्रशिक्षक – ग्रेनट रोह

नाइजेरियाले गएको ब्राजिल विश्वकप २०१४ देखि दुई वर्षमा आठ पटक प्रशिक्षक परिवर्तन गर्‍यो । त्यसैले पनि ग्रेनट रोह नाइजेरियामा उत्कृष्ट शैली र तालमेल बनाइरहेका प्रशिक्षक हुन । पूर्व खेलाडीसमेत रहेका जर्मनीका रोहले सन् २०१६ देखि नाइजेरियाको रााष्ट्रिय टिम सम्हालिरहेका छन् । नाइजेरियालाई विश्वकपसम्म लग्न उनको भूमिका महत्वपूर्ण रहृयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment