Comments Add Comment

सगरमाथा आधार शिविरसम्म केबलकार ! चतरा सुनकोशीमा जलमार्ग

यस्तो छ प्रदेश १ सरकारको नीति तथा कार्यक्रम

२७ जेठ, बिराटनगर । प्रदेश १ को सरकारले सगरमाथाको वेसक्याम्पसम्म केबलकार चलाउने योजना अघि सारेको छ ।

प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले आइतबार प्रदेशसभामा पेश गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा फाप्लुबाट लुक्ला, नाम्चे हुँदै आधार शिविरसम्म केवलकार चलाउन सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ ।

यस्तै फुङ्गलिङ्ग-पाथिभरा, धरान-भेडेटार, जयरामघाट-हलेसी, वराहक्षेत्र-सूूर्यकुण्ड, वाह्रविसे-सभापोखरी, केरावारी-जेफाले र अन्तुडाँडा- मंगलवारे लगायतका स्थानमा पनि केबलकार चलाउन सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश सरकारले चतरा सुनकोशी जलमार्ग संचालनको संभाव्यता अध्ययन गर्ने बताएको छ ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममा केही महत्वकांक्षी योजनाहरु पनि अघि सारेको छ ।

जलविद्युतमा महत्वकांक्षी लक्ष्य

प्रदेश समृद्धिको मुख्य आधार जलस्रोत भएको भन्दै सरकारले प्रदेशमा ५ वर्षभित्रमा १५०० मेघावाट, १० वर्षभित्रमा ३००० र १५ वर्षभित्र ४५०० मेघावट विजुली उत्पादन गरिने लक्ष्य राखेको छ । यसका लागि अरुण तेस्रो, तमोर र दुधकोसी जलविद्युुत आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण थाल्न संघीय सरकारको विशेष ध्यानकर्षण गराउने प्रदेश सरकारले बताएको छ ।

तमोर सिचाइ डाइभर्सन बहुुउद्देश्यीय जलाशययुक्त आयोजनालाई प्रादेशिक गौरवको आयोजनाका रुपमा संचालन गर्ने र जनतालाई जल, जमीन र जंगलको मालिक बनाउदै समाजवादको पूूर्वाधार तयार गर्न प्रदेशको पानी जनताको लगानी-घरघरमा विजुली जनजनमा शेयरको नीति लागूू गर्ने सरकारले बताएको छ ।

प्रदेश सरकारको प्रत्यक्ष लगानी, सार्वजनिक नीजि साझेदारी तथा सार्वजनिक नीजि सहकारीको आधारमा संचालन गर्ने र वैदेशिक रोजगारमा गएकाहरुलाई शेयरमार्फत र गैरआवासीय नेपालीलाई लगानी गर्न आहृजा गर्ने योजना छ ।

नारै नारा

प्रदेश सरकारको नीति तथा कार्यक्रममा थुप्रै नारा पनि समावेश गरिएको छ । ‘सबैभन्दा वेश, १ नम्बर प्रदेश’, ‘एक समूह, एक उत्पादन’, ‘उत्पादन गरौं, प्रदेश समृद्ध बनाऔं’, ‘जस्ता माटो, उस्तो बाली’, ‘बचत गरौं, समृद्ध बनौं’, ‘एक नम्बर प्रदेशको शान, सवैको अनुहारमा मुस्कान’ ‘हाम्रो गौरव हामै शान, सगरमाथा र केचनाले प्रदेशकै राख्छ उच्च मान’ जस्ता नारा दिइएको कार्यक्रम अघि सारिएको छ । स्वास्थ नागरिक, स्वस्थ प्रदेश, ‘संघीय गणतन्त्र नेपालको उपहारः एक परिवार एक रोजगार’ लगायतका नारा पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment