Comments Add Comment

भदौमा ठूला चलचित्रको घम्साघम्सी


नेपाली चलचित्रकर्मी र सिने पत्रकारको ध्यान यतिबेला भदौ महिनाले तानेको छ । लगातार २ महिनासम्म एउटै चलचित्र सफल नभएको अवस्थामा भदौमा रिलिज हुन लागेका चलचित्रले आशा देखाएका छन् ।

भदौ महिनामा पर्ने केही सार्वजनिक बिदाले निर्मातालाई आफ्नो चलचित्र रिलिज गर्न हतारो भएको देखिन्छ । यसैले पनि भदौमा चलचित्रको जाम लाग्ने देखिएको छ ।

भदौको १ गतेबाट हेर्ने हो भने पनि चलचित्रका सेड्यूल प्याक छन् । भदौ १ मा ‘मिस्टर भर्जिन, जय शम्भु र ब्ल्याक’ नामक चलचित्रले मिति तोकेका छन् । अघिल्लो हप्ता पनि हलमा एउटा चलचित्र रिलिज हुने भएकाले भदौ १ मा ३ चलचित्रलाई हल पाउन मुश्किल पर्छ । त्यसमाथि ठूलो बलिउड चलचित्र आयो भने हरिविजोग नै हुन्छ ।

भदौ १ का चलचित्रलाई भदौ ८ मा आउन लागेको चलचित्र ‘नाई नभन्नु ल ५’ ले ठूलो चुनौती दिनेछ । ब्रान्ड र कलाकारका कारण चर्चामा रहेको ‘नाई नभन्नु ल ५’ लाई भदौ १ मा रिलिज हुने ३ चलचित्रले चाडै हल खाली गर्नुपर्ने देखिन्छ ।

यस्तै, भदौ १५ मा चलचित्र ‘चंगाचेट’ आउने फाइनल भएको छ । यो चलचित्र पनि ठूलो ब्यानरको भएकाले मल्टिप्लेक्समा कि त यसलाई ‘नाई नभन्नु ल ५’ले असर गर्नेछ या यसले ‘नाई नभन्नु ल ५’लाई असर गर्नेछ । तर, भदौ १५ मा रिलिज हुन लागेको दिपेन्द्र के खनाल निर्देशित चलचित्रलाई भदौ २२ मा रिलिज हुन लागेका २ चलचित्रले ठाडो चुनौती दिनेछन् ।

भदौ २२ मा नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाको चलचित्र ‘रामकहानी’ रिलिज हुनेछ । यस्तै, यही दिन सलोन बस्नेत र साराको चलचित्र ‘सुश्री सम्पत्ती’ आउने पनि फाइनल भैसकेको छ । यस्तो अवस्थामा भदौमा चलचित्रको जाम हुने अवस्था देखिएको छ । अझै, केही चलचित्रले प्रदर्शन मिति तोक्ने अवस्था बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment