Comments Add Comment

अफगानिस्तानमा युद्धविराम लम्ब्याउने प्रयास असफल, तालिवानले थाल्यो आक्रमण

४ असार, काठमाडौं । अफगानिस्तान सरकारले गरेको युद्धबिरामको प्रयास असफल भएको छ । तालिवानले युद्ध विराम समाप्त भएको घोषणा गर्दै सरकारी सुरक्षाकर्मीहरुमाथि आक्रमण सुरु गरेको छ ।

ईदको अवसरमा घोषणा गरिएको युद्धविरामलाई अफगान राष्ट्रपति असरफ गनीले थप बढाउन तालिवानलाई अपिल गरेका थिए । तर, तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले आइतबार रातिदेखि युद्धविराम समाप्त भएको र सरकारी सुरक्षाकर्मीविरुद्ध लडाइँ सुरु भएको घोषणा गरेका छन् ।

सरकार र तालिवान दुवै पक्षले ईदको अवसरमा घोषणा गरेको तीन दिनको युद्धविराम २० जुनमा समाप्त हुनेवाला थियो । ईदमा तालिवान लडाकु र सरकारी सुरक्षाकर्मीहरुले संयुक्तरुपमा शुभकामना साटासाट गरेर मनाएका थिए ।  अफगान सुरक्षाकर्मी र तालिवान विद्रोहीले एकअर्कालाई अंगालो हाल्दै शुभकामना आदान प्रदान गरेको दृष्य साच्चिकै दुर्लभ थियो ।

यसलाई सकारात्मक भन्दै राष्ट्रपति गनीले युद्धविरामको अवधि थप १० दिन बढाएको घोषणा गरेका थिए । उनले तालिवानलाई पनि युद्धविराम लम्बाउन अपिल गरेका थिए । स्थायी शान्तिको तर्फ कदम बढाउन सरकारले चाहेको बताउँदै राष्ट्रपति गनीले तालिवानलाई पनि सर्वसाधारण नागरिकलाई जस्तै सरकारी सेवा सुविधा दिइने बताएका थिए ।

तर, बीबीसीका अनुसार तालिवानले भनेको छ- युद्धविरामको अवधि लम्बाउने कुनै मनसाय छैन र सोमबार बिहानै सरकार नियन्त्रित क्षेत्र तोडिने छ । सोमबार अफगान मिडियाबाट प्राप्त जानकारी अनुसार हेलमन्ड र कान्धार प्रान्तमा तालिवानले अफगानिस्तानका सरकारी सुरक्षाकर्मीहरुमाथि आक्रमण सुरु गरिसकेको छ ।

सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणमा तालिवान सत्ता गुमेपछि अफगानिस्तानमा पहिलो पटक ईदको दिन युद्धविराम भएको थियो । राष्ट्रपति गनी फेब्रुअरीमा विना सर्त शान्तिवार्ता गर्न पनि तयार भएका थिए । उनले भनेका थिए- यदि तालिवानले कानुनको सम्मान गरेमा उसलाई एक वैध राजनीतिक समूहको दर्जा दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment