+
+
Shares

रेणुलाई भोट माग्दा नदिने, प्रचण्डलाई भोट दिने भन्दै चितवनमा देउवा रिसाएपछि …

सुवास पण्डित सुवास पण्डित
२०७५ असार ५ गते ०:००

४ असार, चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसदको निर्वाचनमा चितवनका कांग्रेस कार्यकर्ताले प्रचण्डलाई भोट दिएको भन्दै गुनासो गरेका छन् ।

सोमबार नेपाल दलित संघले गरेको कार्यक्रममा उनले स्थानीय निर्वाचनमा माओवादीसँग तालमेल गर्दा आफ्नो आलोचना गर्नेहरुले नै पछि प्रचण्डलाई भोट दिएको गुनासो गरेका हुन् । ‘मैले रेनुलाई पो भोट देउ भनेको थिएँ प्रचण्डलाई देउ भनेको थिए र ? किन जिताएको’ देउवाले कार्यकर्तालाई प्रश्न गरे ।

स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेसले तत्कालिन माओवादी उम्मेदवार रेणु दाहाललाई समर्थन गरेको थियो । त्यतिबेला रेणुका लागि मत माग्दा आफूलाई कालो झण्डा देखाउने र पुत्ला जलाउनेहरुले संघीय संसदको निर्वाचनमा प्रचण्डलाई भोट दिएको भन्दै उनले भन्दै देउवाले आक्रोश व्यक्त गरे ।

तर संघीय संसदको चुनावमा कांग्रेसले समर्थन गरेको उम्मेदवार राप्रपाका विक्रम पाण्डेलाई भोट नदिई कार्यकर्ताले वाम गठबन्धनका उम्मेदवार प्रचण्डलाएई मत दिएको देउवाको आरोप थियो ।

कांग्रेसले निर्वाचन हारेको जिम्मा एक्लैले नलिने संकेत गर्दै देउवाले भने, ‘चुनाव हार्नेले भन्नुपर्‍यो कसरी चुनाव हारेको ? टिकट बाँड्ने काम सबैले मिलेर बाडेको हो, मैले मात्र होइन ।’

पार्टी भित्र हारको दोष सवै आफ्नो टाउकोमा हाल्न खोजिएको भन्दै देउवाले भने ‘यस्तो वातावरण बनाए कि शेरबहादुर देउवाका कारण सबै हारे, हद हुन्छ नि, हार्नुको कारण भन्नुपर्‍यो, आफू जित्न नसक्ने अनि दोष अरुलाई दिने ?’

देउवाले दुईवटा कम्युनिस्ट पार्टी एक भइसके पनि कांग्रेस पार्टीभित्रै एकता हुन नसकेको बताएका छन् । ‘उता दुई वटा पार्टी एक भइसके, हाम्रो एउटा पार्टी दुईवटा जस्तो छ, अनि कहाँ हुन्छ ? पार्टी अब एक नबनाइकन चल्दैन’ उनले भने ।

सभापति देउवाले पार्टी भित्रको अन्र्तघातका कारण गएको संघीय संसदको निर्वाचनमा कांग्रेसको २५ सिट घटेको दावी गरेका छन् ।

उनले अन्तर्घातीलाई कारवाही गर्दै पार्टीलाई एक ढिक्का बनाउने अभियानमा लागेको बताए । ‘दुईवटा पार्टी एक भएर लड्दा, कांग्रेस एक्लै लडेको हो, म ग्यारेन्टीका साथ भन्छु २५ सिट हाम्रो अन्तरघातले घटेको हो’ देउवाले भने ‘अब पार्टी भित्रका अन्र्तघातीलाई छाडिन्न ।’

उनले पार्टी एक हुनुको विकल्प नरहेको भन्दै कांग्रेसलाई अन्तरघात मुक्त पार्टी बनाउने उद्घोष गरे । अन्र्तघातीलाई कारवाही गरेर पार्टीलाई एक गराउने र देशकै ठूलो पार्टी बनाउने चाहना रहेको सभापति देउवाले सुनाए ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?