Comments Add Comment

पोर्चुगल फिट, मोरक्को चोटमा : रोनाल्डो रोकिएलान् ?

६ असार, काठमाडौं । विश्वकपमा समूह चरणको पहिलो खेलमा स्पेनमाथि ३-३ को बराबरी गरेको पोर्चुगल र इरानसँग १-० ले पराजित मोरक्कोबीच बुधबार बेलुका पौने ६ बजे खेल हुँदैछ ।

समूह ‘बी’ को पहिलो खेलमा हृयाटि्रक गरेका स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डो नै मोरक्कोका लागि विशेष चुनौती हुने छन् । इरानसँग हारेर कमजोर मनोबल भएको मोरक्कोले अघिल्लो चरणमा जाने सम्भावना बचाउन पोर्चुगललाई हराउनुपर्ने हुन्छ ।

पोर्चुगल टिमका सबै खेलाडी फिट छन् । तर मोरक्कोको टिममा भने चोटले दुःख दिएको छ । फरवार्ड नोर्दिन अमराबत इरानसँगको खेलमा टाउको ठोक्किएर घाइते भएका कारण पोर्चुगलविरुद्धको खेलमा हुने छैनन् । साथै अर्का नियमित राइट-ब्याक डिफेन्डर नबिल डियरर पनि घुँडाको चोटका कारण खेल्न नसक्ने अवस्थामा छन् ।

मोरक्को सन् १९९८ पछि विश्वकपमा फर्किएको हो । पाँचौं पटक विश्वकप खेलिरहेको मोरक्को पहिलो खेलमा बलमा नियन्त्रण हुँदाहुँदै पनि आत्मघाती गोलका कारण इरानसँग पराजित हुन पुग्यो ।

इरानसँगको खेलमा मोरक्कोले बलमा ६८ प्रतिशत समय आफ्नो नियन्त्रण राखेको थियो । यो सन् २०१० पछि खेल हारेर पनि बल पोसेसन धेरै हुने कीर्तिमान हो । त्यसबेला स्पेन स्वीट्जल्याण्डसँग पराजित हुँदा स्पेनको बल पोसेसन ७३ प्रतिशत थियो । यसैले पनि हारका बाबजुद मोरक्को टिमलाई कमजोर आँक्न भने मिल्दैन ।

विश्वकपमा मोरक्कोले पाएको सबैभन्दा ठूलो सफलता अन्तिम १६ सम्मको यात्रा हो । सन् १९८६ मा मोरक्कोले समूह चरण पार गरेको थियो । त्यही बेला मोरक्कोले पोर्चुगललाई हराएको थियो ।

पोर्चुगल सन् २००२ पछि युरोपियन बाहेकका देशसँग विश्वकपमा पराजित भएको छैन । त्यसपछिका ८ खेलमा ५ जित र ३ बराबरी भएको छ । त्यसबेला पोर्चुगल दक्षिण कोरियासँग हारेको थियो ।

महत्वपूर्ण खेलाडी

क्रिष्टियानो रोनाल्डो – पोर्चुगल

स्पेनसँगको खेलमा ३३ वर्ष १३० दिनको उमेरमा हृयाटि्रक गरेका रोनाल्डो विश्वकपमा बढी उमेरमा हृयाटि्रक गर्ने खेलाडी हुन् ।
चौथो पटक विश्वकप खेलिरहेका रोनाल्डोले अघिल्ला तीन विश्वकपमा गरेको जति गोल यो विश्वकपको पहिलो खेलमै गरे । यसले गर्दा समग्र पोर्चुगिज टिममा उनीमाथिको भरोसा र विश्वास झनै बढेको छ ।

यो विश्वकप अघिसम्म रोनाल्डोले तीन विश्वकपका १३ खेलमा मात्रै तीन गोल गरेका थिए । यसैले उत्कृष्ट लयमा रहेका रोनाल्डो मोरक्कोका लागि प्रमुख चुनौती हुन् ।

मोरक्को – हकिम जिच

हकिम जिच मोरक्कन टिमका प्ले मेकर हुन् । नेदरल्याण्ड्सको क्लब अजाक्सबाट व्यवसायिक फुटबल खेल्ने उनी सन् २०१५ देखि मोरक्कोको राष्ट्रिय टिममा छन् ।

अजाक्सका लागि उनले गएको सिजन २१ गोलको अवसर सिर्जना गरेका थिए । उनी डिफेन्स लाइनदेखि अट्याकसम्म बल मिलाउन सक्छन् ।
अप्ठ्यारा परिस्थितिमा पनि सम्हालिएर खेल्ने र उत्कृष्ट पास दिने उनको कला राम्रो छ । यसैले २५ वर्षका उनी यो विश्वकपमा नै ‘गेम चेन्जर’ को रुपमा देखिन सक्छन् ।

नेदरल्याण्ड्सकै ड्रोनटेनमा जन्मिएका उनले नेदरल्याण्ड्सको यु-१९, यु-२०, यु-२१ राष्ट्रिय टिमबाट पनि खेलिसकेका छन् ।
उनले मोरक्कोको राष्ट्रिय टिमबाट खेलेका १८ खेलमा ९ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment