Comments Add Comment

बर्षायाममा लाग्नसक्छ यी रोग, यस्तो छ घरेलु उपचार

दर्के झरीमा बेपर्वाह भिज्नुको आफ्नै मज्जा छ । आकाशको पानी भुँइमा तप्कदा पैदा हुने ध्वनीमा एकोहोरिनुको पनि बिछट्टै मज्जा छ । भुँइमा पानीको थोप्पा तप्किएको र पानी फोका उठेको हेर्दै त्यसैमा ध्यानमग्न हुनुको पनि मज्जा छ ।

अर्थात बर्षायाममा आफैमा रोमाञ्चक मौसम हो । यतिबेला चारैतिर हरियाली हुन्छ । तुवालो हट्छ ।

तर, बर्षायामले उमंग मात्र ल्याउँदैन, रोग पनि ल्याउँछ । यतिबेला विभिन्न किसिमको संक्रमणको भय रहन्छ, अरुबेला भन्दा बढी । मौसमी तापमान बढ्ने हुँदा खानेकुरा सड्ने, गल्ने, कुहिने हुन्छ । यतिबेला लामखुट्टे, झिँगा, साङ्लको पनि बिगबिगी हुन्छ । यी रोग फैलाउने कारक हुन् ।

बर्षायाममा स्वस्थप्रति निकै सजग रहनुपर्छ । भनिन्छ, यो मौसममा प्रतिरक्षा प्रणाली पनि कमजोर भएको हुन्छ । त्यही कारण हाम्रा परम्परागत संस्कारले यतिबेला सुपाच्य, स्वस्थ्य र सात्विक भोजनमा जोड दिएको छ ।

बर्षायाममा भिज्दै नभिज्ने भन्ने होइन । पानी नखेल्ने भन्ने कुरै भएन । बेपर्वाह मौसमको मज्जा लिए हुन्छ । तर, त्यससँगै सरसफाई र खानपानमा सजग हुनुपर्छ ।

अक्सर हामी पानीमा भिजिसकेपछि लामो समय भिजेकै कपडामा बस्छौं । कतिले त शरीरमै लुगा सुकाउँछन् । किनभने यतिबेला जाडो हुँदैन । तर, भिजेको कपडा लामो समय लगाउनु हुँदैन । यसमा विभिन्न संक्रमणको भय रहन्छ । साथै भिजेको लुगाले शरीरमा चिसो पनि लाग्छ ।

बाहिरको पानीमा भिजेपछि त्यतीकै अर्को लुगा लगाउनु उपयुक्त हुँदैन । संभव भएसम्म राम्ररी नुहाउनुपर्छ । कम्तीमा सफा पानीले शरीर पखाल्नुपर्छ ।

यतिबेला तुलसी, सोप, बेसार, दालचिनी, तेजपत्ता, अदुवा, मरिच निकै उपयोगी हुन्छ । यसले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

बर्षाको मौसममा बिमार हुनुको केही कारण छन् । फोहोरमैला, लामखुट्टे वा किरा, अशुद्ध पानी, ओसिलो वातावरण आदि । यी सबैको कारण भाइरल फिभर, पखला, मलेरिया, जन्डिज, डेंगु वा छालासम्बन्धी समस्या आउन सक्छ ।

कसरी बच्ने त ?

भाइरल फिभर झरीको मौसममा हुने आम समस्या हो । यस सिजनमा चिसो लाग्ने, ज्वरो आउने, हात-खुट्टा दुख्ने, टाउको दुख्ने हुन्छ । यी सबैले भाइरल फिभर भएको जनाउ दिन्छ ।

बषर्ामा भिजेर, चिसो हावाबाट, तापमान परिवर्तन र निद्रा पुरा नहुँदा प्रतिरक्षा प्रणाली कमजोर हुनपुग्छ । यसमा हावामा फैलने भाइरल, दुषित एवं अशुद्ध खानपिन आदिले भाइरल फिभर हुन्छ । यदि भाइरल फिभर भएमा निम्न उपचार विधी अपनाउन सकिन्छ ।

तुलसीको पात, मरिच, अदुवालाई पानीमा उमाल्ने । त्यसलाई छानेर चिया जस्तै पिउनुपर्छ । यसले प्रभावकारी काम गर्छ ।
झरीको मौसमा जोर्नी दुख्ने समस्या पनि हुनसक्छ । यसका लागि एक चम्चा महमा आधा चम्चा अदुवाको धुलो मिलाएर एक पटक पिउनुपर्छ । यसको नियमित प्रयोगले जोर्नी दुख्ने समस्या ठिक हुन्छ ।

यतिबेला पौष्टिक भोजन लिनुपर्छ । भिटामिन सियुक्त फलफूल सेवन गरौं ।

यो मौसममा पखला पनि लाग्नसक्छ । दुषित खानपानको कारण पेट गडबड हुने र पखला लाग्ने गर्छ । यस मौसमा ई कोलाई, साल्मोनेला, रोटा भाइरस, नोरा भइरसको संक्रमण बढ्छ । यसको कारण पेट एवं आन्द्रामा समस्या आउँछ र बान्ता हुन्छ । पखला लाग्छ ।

सामान्यत पखला तीन, चार दिनमा त्यसै ठिक हुन्छ । यस्तो अवस्थामा खासगरी बालबच्चा, बुढाबुढी, रोगीको बढी ख्याल गर्नुपर्छ ।

एक, दुई पटक बान्ता हुनु, पखला लाग्नु सामान्य हो । अत्तालिनु पर्दैन । तर, धेरै पटक भइरह्यो भने, सावधान हुनुपर्छ । यो हैजा पनि हुनसक्छ । हैजा हुँदा चामलमो पानी जस्तै पातलो दिसा बारम्बार जान्छ । वान्ता हुन्छ । यसले शरीरमा पानीको मात्रा एकदमै कमी हुनपुग्छ । यस्तो अवस्थामा उपचार गरिएन भने जटिलता निम्तन सक्छ ।

यसबाट बच्नका लागि विशेष ध्यान दिनुपर्छ । खानपानमा सर्तक रहनुपर्छ । पानीपुरी, चटपटे जस्ता खुला स्थानमा राखेको खानेकुरा सेवन गर्नु हुँदैन । काटेको फल वा सलाद धेरै समय राखेर सेवन गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment