Comments Add Comment

छापामा आजः शल्यक्रिया कक्षमा नर्सको भान्सा, बन्नासाथ रिङरोड भत्काइने !


१० असार, काठमाडौं । राजधानीबाट आज प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा परेको छ । शनिबार प्रकाशित एसईई नतिजालाई पत्रपत्रिकाहरुले विभिन्न जोड कोणहरुबाट केलाएका छन् । कुनैले नतिजा थप खस्किएको लेखेका छन् भने  केहीले सुध्रिएको हिसाब निकालेका छन् ।

एसईई नतिजा प्रकाशनको खबरलाई ब्यानर बनाएर छापेको कान्तिपुरले रिजल्ट थप खस्किएको निष्कर्ष निकालेको छ । अनिवार्य गणितबाहेकका सबै विषयमा प्रयोगात्मक नम्बरको व्यवस्था गरिँदा पनि नतिजा गतवर्षको भन्दा ६.४६ प्रतिशतले खस्किएको कान्तिपुर समाचारको सार छ ।

नागरिकले पनि नतिजा थप बिग्रिएको हिसाब निकालेको छ । तर अन्नपूर्णको हिसाब भने अलि फरक छ । उसले नतिजामा झिनो सुधार आएको दाबी गरेको छ । नयाँ पत्रिकाले यो विषयलाई अलि फरक कोणबाट समाचार बनाएको छ । दुई लाख विद्यार्थीलाई भर्ना पाउन कठिन हुने नयाँ पत्रिकाको दाबी छ ।

यसका अलावा अन्य विषयहरुले पनि आजका पत्रपत्रिकाहरुमा उत्तिकै महत्त्व र स्थान पाएका छन् । ५ राजमार्ग पहिरोको उच्च जोखिममा रहेको खबर कान्तिपुरले छापेको छ भने अन्नपूर्णले नेकपाको मासिक आम्दानी नै १० करोड हुने हिसाब निकालेको छ । पर्साको पोखरिया अस्पतालको बेथितीलाई पनि अन्नपूर्णले आज उधिनेको छ । समाचार अनुसार, अस्पतालमा कतिसम्म लापरबाही हुने गरेको छ भने शल्यक्रिया कक्षमा समेत नर्सको भान्छा र बिछ्यौना छ ।

नयाँ पत्रिकामा ‘रिङरोड बन्नासाथ भत्काइने’ शीर्षकको मुख्य खबर छ भने सरकारी मुखपत्र गोरखापत्रमा नेपाल–चीन सम्बन्ध अभूतपूर्व भनेर प्रधानमन्त्रीले व्यक्त गरेको भनाइ छापिएको छ ।

नेकपाको मासिक आम्दानी १० करोड


पार्टी सदस्यबाट उठ्ने लेभीबाटै सत्तारुढ दल नेकपाले मासिक १० करोड रूपैयाँभन्दा बढी आम्दानी गर्ने गरेको हिसाब आज अन्नपूर्ण पोस्ट दैनिकले निकालेको छ ।

पार्टीका संगठित सदस्यबाट मासिक सय रूपैयाँ र साधारण सदस्यबाट मासिक २० रूपैयाँका दरले लेभी उठाउने गरी पार्टी विधानको नियमावली बनाएपछि नेकपाले लेभीबाटै करोडौं रकम आम्दानी गर्ने भएको समाचारमा उल्लेख छ ।

नेकपाले आफ्नो नवनिर्मित पार्टीको संगठन सदस्य नै ७ लाखभन्दा बढी रहेको दाबी गर्दै आएको छ । पूर्व एमालेको ३ लाख र पूर्व माओवादीको (विराटनगर महाधिवेशन २०६९ सालअनुसार) ४ लाख संगठित सदस्य रहेको दाबी छ । यी दुुईको संगठित सदस्यता जोड्दा ७ लाख पुुग्छ ।

नेकपाका संगठित सदस्यले अब पार्टी सदस्यता कायम राख्न विधान तथा नियमावलीमा व्यवस्था भएबमोजिम मासिक एक सय रूपैयाँ पार्टीलाई बुुझाउनुु पर्ने हुुन्छ । ७ लाख संगठित सदस्यले मासिक सय रूपैयाँका दरले लेभी बुुझाउँदा नेकपाले ७ करोड रूपैयाँ आम्दानी गर्नेछ ।

साधारण सदस्यले मासिक २० रूपैयाँ लेभी बुुझाउनुु पर्नेछ । नेकपाको विधानले सदस्य, संगठित सदस्य र मानार्थ सदस्य गरी तीन प्रकारका सदस्यको व्यवस्था गरेको छ । मानार्थ सदस्यका लागि भने विधानमा लेभी रकम तोकिएको छैन । स्वेच्छिक सहयोग गरेमा नेकपाले मानार्थ सदस्यबाट पनि लिनेछ ।

शल्यक्रिया कक्षमा नर्सको भान्सा

पर्साको पोखरीया जिल्ला अस्पतालमा शल्यक्रिया कक्ष छ । तर त्यहाँ शल्यक्रिया हुँदैन । अस्पतालका नर्स सुत्ने कोठा र खाना पकाउने भान्साका रुपमा ती कक्ष प्रयोग हुने गरेका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, अस्पतालमा सर्जन डाक्टर नभएका कारण निर्माण भएको ५ वर्षयता अस्पतालको शल्यक्रिया विभाग सञ्चालनमा नआउँदा अपरेसन थिएटरका कोठा नर्सले आवास र भान्सा घरका रुपमा प्रयोग गर्दै आएका हुन् ।

नर्सका लागि निर्माण गरिएको आवास भवन भने डाक्टरले प्रयोग गर्दै आएका छन् ।

रिङरोड बन्नासाथ भत्काइने

नयाँ पत्रिका दैनिकले रिङरोड बन्नासाथ फेरि भत्काइने भएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ । पुसमा चीनले हस्तान्तरण गर्ने र लगत्तै ठाउँ ठाउँमा भत्काइने योजना छ ।

चिनियाँ प्रविधि र प्राविधिक प्रयोग गरी निर्माण भएको कोटेश्वर–कलंकी सडक रोड सेफ्टीका हिसाबले असुरक्षित देखिएको छ । त्यही कारण सडक भत्काउन लागिएको हो ।

नयाँ पत्रिकाका अनुसार, ट्राफिक लाइट, डिजाइन सडक बत्तीको व्यवस्था, आकासे पुल र डिभाइडरको व्यवस्था नगरिएका कारण सडक बन्नासाथ भत्काउने योजना बनाइएको हो ।

भन्सारदर घटनाउन डब्लूटीओको दबाव

विश्व व्यापार संगठन (डब्लूटीओ) ले नेपाललाई भन्सार दर घटाउन दबाव दिएको छ । नेपालले डब्लूटीओसँग गरेको सम्झौताविपरीत केही वस्तुमा भन्सारदर बढाएको भन्दै सवारीसाधन र विद्यत्तीय उपकरणमा भन्सार दर घटाउन दबाव दिएको हो ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले भन्सारदर बढाएकोमा यस्ता दरहरु डब्लूटीओको सम्झौताविपरीत भएको भन्दै यस्ता दरमा पुनर्विचार गर्न पत्राचारसमेत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार पत्रमा सवारीसाधन र विद्युत्तीय उपकरणलगायतका वस्तुको भन्सारदर घटाउन भनिएको छ ।

जन्म र मृत्युमा चामल दिने कार्यक्रम प्रभावहीन


सरकारले कर्णाली अञ्चलमा जन्म र मृत्युमा २० किलो चामल दिने कार्यक्रमअ लागू गरे पनि यसतप्रति स्थानीयको आकर्षण घट्दै गएको छ ।

कारोबार दैनिक लेख्छ– कर्णालीका ५ जिल्लामा जन्मँदा र मृत्युका बेला परिवारलाई वितरण गर्ने चामल लिन स्थानीय नआएपछि कार्यक्रम प्रभावकारी बन्न नसकेको हो ।

चालू आर्थिक वर्षका लागि यस शीर्षकमा छुट्याइएको ४ करोड रुपैयाँमध्ये २ लाख ८६ हजार ५ सय रुपैयाँमात्र खर्च भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

५ राजमार्ग पहिरोको उच्च जोखिममा

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक । फाइल तस्वीर

सरकारले राजधानीलगायत देशका प्रमुख सहरसँग जोडिएका पाँचवटा राजमार्ग पहिरोको उच्च जोखिममा रहेको जनाएको छ ।

देशभर मनसुन सक्रिय हुनै लाग्दा सरकारले त्रिभुवन, पृथ्वी, अरनिको, सिद्धार्थ र नारायणगढ–मुग्लिन सडकलाई पहिरोको उच्च जोखिम सूचीमा राख्दै तत्काल अवरोध हटाउन सक्ने गरी तयारी गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

कान्तिपुरका अनुसार गृह मन्त्रालयले हालै सार्वजनिक गरेको विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१७–२०३० मा मुख्य राजमार्गहरु पहिरोको उच्च जोखिममा रहेको औंल्याइएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment