१० असार, रौतहट । रौतहटको बौधीमाई नगरपालिका ७ बन्कुलमा गएराति सडक विस्तारको क्रममा विवाद हुँदा भएको झडपमा ४ जना घाइते भएका छन् ।
विवादित जग्गामा सडक निर्माणका क्रममा वडाअध्यक्ष विजय कुशवाह पक्षका व्यक्तिले खुकुरी प्रहार गर्दा जग्गाधनी शिवगोविन्द कुशवाह, जयगोविन्द कुशवाह, राधेश्याम कुशवाह र राजकुमार कुशवाह घाइते भएका हुन् ।
घाइते चारै जनाको टाउकोमा चोट लागेको छ । घाइतेमध्ये शिवगोविन्द र राजकुमार कुशवाहको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि वीरगञ्ज पठाइएको रौतहटका प्रहरी उपरीक्षक रवीन्द्र केसीले बताए ।
वडा कार्यालयको ५० लाखको बजेटमा ५ सय मिटर सडक ढलान गर्ने योजनामा जग्गाधनीले अनावश्यक विवाद उत्पन्न गरेपछि झडप भएको वडाअध्यक्ष कुशवाहले बताए ।
उनले उक्त झडपमा आफ्नो संलग्नता भने अस्वीकार गरेका छन् । वडा कार्यालयले अर्काको जग्गा मिचेर सडक ढलान गर्न खोजे पछि जग्गाधनीसँग विवाद भएको थियो ।
घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया 4