Comments Add Comment

मेलम्ची ठेकेदारको म्याद थपिएकोमा खानेपानी मन्त्री असन्तुष्ट

'नसच्याए अदालत जान्छौं'

११ असार, काठमाडौं । खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजना र ठेकेदारबीचको विवाद टुंग्याउन गठित समिति डिस्प्युट बोर्ड (डीबी) को पूर्ण फैसला नआउन्जेलसम्म मात्रै ठेकेदारको म्याद थपेको बताएकी छन् ।

बोर्डले हालै ठेकेदार कम्पनी सीएमसीको म्याद थप्नुपर्ने प्रारम्भिक राय दिएपछि मन्त्रालय र मेलम्ची खानेपानी विकास समिति तीन महिना म्याद थप्नुपर्ने निर्णयमा पुगेको हो ।

तर बोर्डले अपव्याख्या गरेर ठेकेदार कम्पनीको म्याद २१२ दिन थप्न प्रारम्भिक राय दिएको मन्त्रालयको आरोप छ । यदि निर्णय नसच्चिएमा मध्यस्थताको लागि तोकिएको अदालत जाने मन्त्री मगरले चेतावनी दिइन् ।

नेपाली पक्षले मेलम्चीको ठेकेदार कम्पनी सीएमसीको म्याद पहिले नै २१२ दिन थपिइसकेको र सो म्याद यही जुन १४ मा समाप्त भएको दावी गरेको छ । तर, बोर्डले भने यही जुन २३ अर्थात् गत शनिबारबाट २१२ दिन म्याद थपिनुपर्ने प्रारम्भिक राय दिएको छ ।

मेलम्ची विकास समिति र इन्जिनियरले पेश गरेको पत्रको अपब्याख्या गरेर म्याद थपको निर्णय गरिएकाले असन्तुष्टि पत्र पठाएर बोर्डसँग जानकारी माग गरिएको मन्त्री मगरले बताइन् । बोर्डको निर्णय सच्चिएर नआएमा आर्विटेसनमा (मध्यस्थताको लागि तोकिएको अदालत) जाने नीतिगत निर्णयसमेत गरिसकेको उनले बताइन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले भनिन्, ‘हामीले यसअघि नै समयावधि थप गरिएकोले जुन १४ मा यो समय सकिने स्पष्ट पत्राचार गरेको तथ्यलाई जुन २३ देखि लागू हुने व्याख्या गरिएपछि हाम्रो असन्तुष्टि व्यक्त गरिसकेका छौं । त्यसैले डिस्प्युट बोर्डको पूर्ण फैसला नआउँदासम्मका लागि मात्रै हामीले निर्माण कम्पनीको म्याद थप गरेका छौं । डिस्प्युट बोर्डको निर्णय सच्चिएर नआएमा हामी आर्विटेसनमा जानेसमेत नीतिगत निर्णय गरिसकेका छौं ।’

यस सम्बन्धी विवाद निरुपणका लागि सिंगापुरस्थित अदालत जानुपर्दछ जुन निकै खर्चिलो हुन्छ । यो अदालतको झमेलामा पर्नुको साटो क्षतिपूर्ति दिँदा सस्तो पर्ने जानकारहरु बताउँछन् ।

इटलीको ठेकेदार कम्पनी सीएमसीले भूकम्पका कारण बढी समय काम गर्नुपरेको र लागत पनि बढेको भन्दै १ अर्ब ६५ करोड क्षतिपूर्ति तथा थप ५७० दिन म्याद थपिनुपर्ने दावी बोर्डमा पेश गरेको थियो ।

ठेकेदारको यो दावीबारे बोर्डमा गत ३० जेठमा छलफल भएको थियो । सो बोर्डले २१२ दिन म्याद थप्न उपयुक्त हुने प्रारम्भिक राय सुनाएको छ । बोर्डले पूर्ण फैसला ८४ दिनभित्र दिइसक्नुपर्छ । पूर्ण फैसला आउन बाँकी नै रहे पनि प्रारम्भिक रायमा समेत आफूहरुको असहमति रहेको मन्त्री मगरको भनाइ छ ।

मेलम्चीको पानी दशैंभित्रै काठमाडौं आउने दावी

यसैबीच खानेपानी मन्त्री बिना मगरले मेलम्चीको पानी आगामी दशैंभित्रै काठमाडौं आउने दावी गरेकी छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री मगरले दशैं अगाडि नै पानी ल्याउन ठेकेदार कम्पनी सहमत भएको जानकारीसमेत दिइन् ।

मन्त्री मगरले इटालीबाट आएको ठेकेदारको उच्चस्तरीय टोलीसँग लिखित सहमति गरेकाले दशैं अगाडि नै पानी ल्याइने बताइन् ।

उनले भनिन्, ‘निर्माण कम्पनीले दशैं अगाडि नै राजधानीमा पानी उपलब्ध गराउन आगामी सेप्टेम्बर ३० भित्र मेलम्चीको पानी सुन्दरीजल पठाउने सहमति गरेको छ । यसका साथै कम्पनीले नगद प्रवाहमा देखिएको समस्या हल गर्ने, अब उप्रान्त सिएमसीमार्फत काम गरिरहेका नेपाली निर्माण व्यवसायीहरुलाई सहजरुपमा रकम उपलब्ध गराउन एलसी र विकास समितिबाट सोझै भुक्तानीका लागि सहमति व्यक्त गरेको छ ।’

मन्त्री मगरकाअनुसार सुरुङमा भेन्टिलेसन साफ्ट निर्माणका लागि जुलाई १० भित्र इन्जिनियर र निर्माण कम्पनीले मोडालिटी तयार गरी विकास समितिलाई पेश गर्ने सहमति भएको छ । यही सहमतिका आधारमा नयाँ कार्ययोजना बनाउने र प्रत्येक दिनको कार्यप्रगति विवरण पेश गर्ने समझदारीसमेत भएको छ ।

यसअघि ठेकेदारले कम्पनीले काममा ढिलासुस्ती गरेपछि मन्त्रालयले इटालीस्थित केन्द्रीय कार्यालयमा पत्र लेखेर उच्चस्तरीय टोली नेपाल पठाइदिएर अनुगमन गर्न र छिटो काम सक्न भनेको थियो । सोही पत्रको आधारमा कम्पनीको बोर्ड सदस्य पाउलो पोर्सेलीको नेतृत्वको टोली नेपाल आएर आयोजनाको निर्माणस्थल अनुगमन गरेको थियो ।

उनीहरुले अवलोकन गरेपछि खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी आयोजना विकास समिति, एसियाली विकास बैंक परामर्शदाता कम्पनी इप्टिसा र निर्माण कम्पनीबीच दशैं अगाडि नै मेलम्चीको पानी काठमाडौं ल्याउन लिखित सहमति भएको मन्त्री मगरले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment