Comments Add Comment

जीवन पद्धतीका यी कुरा, के तपाईंले अनुसरण गर्नुभएको छ ?

मानौ कुनैदिन तपाईंले प्रख्यात व्यक्तित्वसँग भेट गर्दै हुनुहुन्छ । अब सोच्नुहोस् त, उनीसँग कसरी भेट्नुहुन्छ ? त्यसबेला तपाईको बडी ल्याङ्वेज कस्तो हुनुपर्छ ? सुरुमा के बोल्नुहुन्छ ? कसरी बस्नुहुन्छ ?

मानौं कुनैदिन तपाईंले शिष्ट पाहुनाहरुसँग डिनर गर्दै हुनुहुन्छ । अब डिनरका सुरुवात कसरी गर्नुहुन्छ ? खाँदा कसरी खानुहुन्छ ?

खासमा हरेक कुराको आफ्नै मर्यदा हुन्छ । आफ्नै शैली हुन्छ । आफ्नै शिष्टचार हुन्छ । यी कुराहरु जानेर त्यसमा अभ्यस्त हुनुहुन्छ भने, तपाईं जस्तोसुकै अवस्थामा पनि आफुलाई सवर्ग पेश गर्न सक्नुहुन्छ । तर, कसरी खाने, कसरी बोल्ने, कसरी हिँड्ने जस्ता यावत् कुरा थाहा छैन भने तपाई ग्लानीले खुम्चनुहुन्छ । तपाईको आत्माविश्वास धर्मराउँछ ।

त्यसैले केही सामाजिक शिष्टचारको ख्याल हामीलाई हुनैपर्छ । खासगरी आजको समाजमा उन्नत एवं शिष्ट जीवनशैली अपनाउने हो भने, के गर्दा कस्तो मर्यदा पालना गर्ने भन्ने कुरा जान्नैपर्छ ।

किन आवश्यक छ यी कुरा ?

तपाईलाई लाग्दो हो, यी देखावटी कुरा के गर्नु ? आफु जस्तो छौं, त्यस्तै देखाउने हो । तर, संसारमा हामी मात्र बाँचिरहेका छैनौ । तपाईं जुन रेष्टुरेन्टमा खाना खाइरहनुभएको छ, त्यहाँ अरुपनि हुन्छन् । तपाई जुन बसमा यात्रा गरिरहनुभएको छ, त्यहाँ अरुपनि हुन्छन् । शिष्टचारको पालना यसकारण गर्नुपर्छ कि, आफ्नो उपस्थिती अरुलाई भद्दा नलागोस् । आफ्नो उपस्थितीले अरुलाई असहज नहोस् । आफ्नो उपस्थिती अरुको लागि हाँसो नबनोस् ।

कुनैपनि कुरामा पालना गरिने शिष्टचारले हाम्रो स्वभाव, आनीबानीलाई पनि दर्शाउँछ । हामी कस्तो संस्कारमा हुर्किएका छौं, कसरी हुर्किएका छौं भन्ने कुरा हाम्रो आनीबानीले देखाउने हो । यसर्थ पनि यस्ता शिष्टचारबारे थाहा पाउनुपर्छ । र, त्यसलाई व्यवहारिक जीवनमा प्रयोग गर्नुपर्छ ।

शिष्टचारको कुरा

आफ्नो जीवनलाई सभ्य र शिष्ट बनाउन केहि आधारभूत शिष्टाचार र असल बानीब्यहोराको बारेमा थाहा पाइराख्दा राम्रो हुन्छ । यसले तपाईलाई अलमलमा पार्दैन र अग्रसर बनाउँछ ।

दैनिक जीवनमा कसरी राम्रो चालचलन र बानी देखाउने भन्ने बारेमा धेरै पटक सोच्नुपर्छ । कुनै पनि मानिस शिष्ट र विनम्र छैन भने उसलाई अरुले मनपराउँदैनन् र साथीहरु पनि टाढा हुन खोज्छन् ।

असल चालचलन र बानीब्यहोरा देखाउने कुरा धेरै गाह्रो काम होइन र त्यसको लागि छुट्टै समय पनि दिइराख्नु पर्दैन । मात्रै तपाईले अरुको अगाडि कसरी प्रस्तुत हुने भन्ने बारेमा अलि चासो राखेर सकेसम्म शिष्ट रुपमा प्रस्तुत भए पुग्छ ।

हाम्रो नेपाली सँस्कृतिमा पनि धेरै आमाबुबाहरुले आफ्नो छोराछोरीलाई सानैमा असल बानीब्यहोरा सिकाउँछन् तर, ठूलो हुँदै गएपछि उनीहरुले विस्तारै त्यसलाई बिर्सदै जान्छन् वा त्यसलाई खासै वास्ता गर्दैनन् ।

खासमा बच्चाको आमाबुबा हुनु पनि धेरै गाह्रो काम हो । बच्चाहरुलाई असल बानीब्यहोरा र शिष्टाचार सिकाउन धेरै समय लाग्छ । त्यस्तै कतिपय कुराहरु आमाबुबाले सिकाउन जानेका हुँदैनन् किनकी पहिलेको जमानामा त्यसको चलन नै हुँदैनथ्यो ।

त्यसैले बुबाआमालाई डिनर पार्टीमा कसरी काँटाचम्चा समाउने भनेर नसिकाएकोमा गाली नगर्नुहोस् । आफनो बानीब्यहोरो सुधार गर्ने कुरामा आफ्नो जिम्मेवारी लिन कहिल्यै पनि ढिलो हुँदैन् । तपाईले सँधै नजानेको कुरा सिक्न सक्नुहुन्छ ।

यी हुन सबैले ख्याल गनुपर्ने सजिला शिष्टाचारका टिप्स

१. मिलनसार र नम्र हुनुहोस्

घरबाट बाहिर निस्कदाँ धेरै मानिसहरुसँग भेट हुन सक्छ । उनीहरुसँग मित्रवत हुन प्रयास गर्नुहोस् । समय खराब चलिरहेको बेलामा पनि मुस्कुराउन सिक्नुपर्छ ।

यसले भेट भएको मानिसको मात्रै होइन तपाईको आफ्नै पनि मुडलाई राम्रो बनाउँछ । कसैसँग भेट हुनासाथ सम्मानपूर्वक अभिवादन गर्नुहोस् यसले त्यो मानिसले तपाईलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ ।

केहि शब्दहरुले धेरै ठूलो शक्ति बोकेको हुन्छ । ‘धन्यवाद’, ‘कृपया’, ‘माफ गर्नुहोस्’ जस्ता शब्दलाई आफ्नो शब्दकोषमा थप्नुभयो भने त्यसले धेरै फाइदा गर्छ । यस्ता शब्दको प्रयोग गरेमा तपाईको कुरा सबैले राम्रोसँग ध्यान दिन्छन् र नम्र व्यवहार प्रस्तुत गर्छन् ।

२. सँधै समयमा पुग्नुहोस्

चाहे त्यो डाक्टर होस वा आफ्नो बच्चा, कसैसँग भेट्न समय लिनुभएको छ भने सँधै समयमै पुग्नुहोस् । सँधै समयमा पुग्नाले अरु मानिसलाई तपाईले गरेको सम्मान दर्शाउँछ ।

कुनै बैठक, काम वा साथीहरुसँग भेटघाटको लागि तपाईले ढिलो गर्नुभयो र अरुलाई पर्खन बाध्य बनाउनुभयो भने त्यो अरुको समयको बर्बादी हो । उनीहरुले तपाईलाई पर्खदा गुमाएको अमुल्य समय फिर्ता पाउँदैनन् । तपाईलाई अरुलाई पर्खदा कस्तो महसुस हुन्छ त्यो ख्याल गर्नुहोस् ।

३. सहयोग गर्नुहोस्

कसैको सहयोग गर्न स्काउट वा अन्य सामाजिक संस्थामा आबद्ध हुनुपर्छ नै भन्ने छैन् । कसैलाई गाह्रो भएको देखिरहनुभएको छ र उनीहरुलाई सहयोग गर्न सक्ने अवस्थामा हुनुहुन्छ भने सहयोग गर्नुहोस् ।

त्यस्तै तपाई कुनै भवनमा छिर्दै हुनुहुन्छ र पछाडि कोहि आँउदैछ भने ढोका एकछिन खोलेर राखिदिनुहोस् जसले उनीहरुलाई फेरि ढोका खोल्नुपने झण्झट हुँदैन ।

४. अरुलाई सम्मान गर्नुहोस्

अरु मानिसहरुसँग अन्तक्रिया गर्दैहुन्छ भने उनीहरुलाई आदर गर्नुपर्छ । कसैसँग बहस गर्दा उनीहरुको विचार सुन्नुहोस् । आफूले आदर गनुपर्ने मानिससँग हुनुहुन्छ भने उनीहरुलाई उचित सम्मान गर्नुहोस् ।

‘यदि तपाईसँग भन्नको लागि कुनै राम्रो कुरा छैनभने केहि पनि नबोल्नुहोस्’ भन्ने भनाइलाई पालना गर्नुहोस् । धेरै जसो सामाजिक र व्यापारिक भेटघाटमा तपाईले यसलाई पालना गनुपर्छ । कुनै पनि हल्ला र अफवाहबाट टाढै रहनुहोस् ।

५. अरुलाई पहिले जान दिनुहोस्

अरुलाई पहिले जान दिँदा तपाईलाई कुनै समस्या हुँदैन भने जान दिनुहोस् । सँगै हिँड्दा, लाइनमा बस्दा वा गाडि यस्तो गर्न सकिन्छ । सानो बच्चासहितको महिलालाई चेकआउट लाईनमा ठाँउ छोडिदिनुपर्छ ।

गाडि चलाउँदै गर्दा अर्को ड्राइभर तपाईको लेनमा आउन खोज्छ भने उसलाई आगडि जाने संकेत दिएर जान दिनुहोस् ।

६. हल्ला कम गर्नुहोस्

यो संसार कोलाहलले भरिएको छ त्यसैले त्यसमा तपाईले अझै हल्ला नथप्नुहोस् । आफ्नो मोबाईल फोनको भोलुम सकेसम्म सानो बनाउनुहोस् । अफिसको क्युबिकलमा काम गर्नुहुन्छ भने सहकर्मी साथीहरुलाई काममा डिस्टर्ब नहोस भन्नको लागि स्वर सानो बनाउनुहोस् ।

७. खाना खाँदा सभ्य भएर खानुहोस

अफिसमा सबैसँग बसेर लञ्च खाँदै हुनुहुन्छ वा साथीहरुसँग खाजा खाँदै हुनुहुन्छ भने सबैले राम्रो टेबल म्यानर मनपराउँछन् । तपाईको आमाबुबाले सानैमा यसबारे सिकाउनुभएको छ होला । यदि छैन भने पनि पिर मान्नुपर्दैन ।

खाना खाँदा पाखुरा टेबलमा राख्नुहोस्, मुखभरी खाना भएको बेलामा नबोल्नुहोस् । औपचारिक डिनरमा धेरै शिष्टाचारको नियमहरु हुन्छन् त्यसैले तपाई यस्तो डिनरमा जाँदै हुनुहुन्छ भने के गर्ने पहिले नै थाहा पाउनुहोस् ।

त्यस्तै रेष्टुरेन्टमा खाना खाँदा पनि पालना गर्नुपर्ने थप नियमहरु हुन्छन् । तपाईले सबैलाई विचार गर्नुपर्छ ।

८. आफ्नो टोपी फुकाल्नुहोस्

शिष्टाचारको पुरानो तरिका मध्येको टोपी खोल्ने नियम विस्तारै हराउँदै छ तर, अझै पनि यसको पालना गर्नु बुद्धिमानीपूर्ण हुन्छ । यदि तपाईको टोपी ठूलो छ र मन्दिर, सिनेमाघर जस्ता भिडभाड हुने ठाँउमा अरुलाई अगाडि हेर्न अवरोध गरेको छ भने त्यसलाई फुकाल्नुपर्छ ।

यदि तपाई बिजनेस मिटिङमा हुनुहुन्छ वा जागिरको लागि अन्तवार्ता दिन जाँदै हुनुहुन्छ भने नम्र देखिन आफ्नो टोपी खोलेर जानुपर्छ । जब राष्ट्रिय गान बज्छ त्यतिखेर तपाईले आफ्नो टोपी खोल्नुपर्छ ।

९. धन्यवाद पत्र पठाउनुहोस्

कसैलाई पनि राम्रो कामको लागि धन्यवाद दिँदा तपाईलाई केहि फरक पर्दैन । जब कसैले तपाईलाई केहि सहयोग गर्छ वा उपहार पठाउँछ भने त्यस मानिसलाई हस्तलिखित धन्यवाद पत्र पठाउनुहोस् ।

त्यो मानिस जसले कम्तीमा पनि तपाईको बारेमा सोचेको छ र समय दिएको छ भने उसलाई धन्यवाद दिनु तपाईको कतव्र्य हो ।

१०. परिचय गराउनुहोस्

तपाई त्यस्तो ठाँउमा हुनुहुन्छ जहाँ दुवै पक्षलाई चिन्ने तपाई मात्रै हुनुहुन्छ भने केहि समय निकालेर सबैको परिचय गराउनुहोस् । जसको नाम लिइरहनुभएको छ उसलाई हेरेर प्रष्ट रुपमा बोल्नुहोस । त्यस्तै यस्तो भेटघाटमा आफ्नो कुरा मिल्ने मानिस खोज्नुहोस् र सबैसँग बोल्ने प्रयास गर्नुहोस् ।

-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment