Comments Add Comment

मेस्सी र रोनाल्डो : विश्वकपमा कीर्तिमान बन्दा चुकेका दुई स्टार

अर्को पटक पाउलान् अवसर ?

काठमाडौं । विश्व फुटबलको इतिहासमा सन् १९७० पछि एकै दिनमा सबैभन्दा धेरै गोल भएका बेला विश्व फुटबलमा राज गरेका दुई स्टार लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको प्रहारले भने जाली चुम्न सकेन ।

विश्वकपमा शनिबार भएका दुई खेलमा गरेर १० गोल भयो । यो सन् १९७० यता विश्वकपको नकआउट चरणका खेलमा एकै दिन भएको सबैभन्दा धेरै गोल हो ।

यस्तोमा मेस्सी र रोनाल्डोले आˆनो टिमका लागि अन्तिम १६ को खेलमा गोल गर्न सकेनन् । मेस्सीले गोलका लागि राम्रो अवसर भने बनाएका थिए ।

फ्रान्ससँग अर्जेन्टिनाको ४-३ तथा उरुग्वेसँग पोर्चुगलको २-१ ले हारेको हो । हारसँगै ३१ वर्षका मेस्सी र ३३ वर्षका रोनाल्डोको विश्वकप जित्ने सपना टाढिएको छ । अर्कोपटक कतारमा हुने विश्वकपसम्म उनीहरुसँग यही समय नरहिरहन सक्छ ।

मेस्सी घर फर्किएको हेर्नु दुःखद

मेस्सीले रसियामा अर्जेन्टिनी कप्तानको जिम्मेवारी त राम्ररी निभाए । बल मिलाए, गोलका अवसर बनाए । तर, उनी टिमका लागि अघिल्लो चरण लैजान आवश्यक गोल गर्नबाट भने चुके ।

शनिबार बेलुका रुसको कजानमा कप्तानको आर्मब्याण्ड उतार्दै गर्दा मेस्सी निराश र थकित देखिन्थे । उनी आकाशतिर हेरेर लामो सास फेरिरहेका थिए ।

जर्मनीका विश्वकप विजेता जर्गेन क्लिन्सम्यानका अनुसार अर्जेन्टिनाले मेस्सीको कला पाउने गरी उनलाई व्यवस्थित गर्न नै सकेन ।

मेस्सीले समस्याग्रस्त अवस्थामा देशको विश्वकप अभियान सम्हालेको जर्गेनको भनाइ छ । उनले भने, ‘मेस्सी पहिलो हाफमा एक्लै भए । दोस्रो हाफमा उनले बल छुन निकै बेर पर्खनु पर्‍यो ।’

बार्सिलोनमा जस्तो अर्जेन्टिनाको टिमबाट खेल्दा मेस्सीले साथी खेलाडीको साथ नपाएको उनको बुझाइ छ । फ्रान्ससँगको खेलमा मेस्सीले पेनाल्टी एरियामा चार पटक मात्रै बल छुन पाए र एक पटक मात्रै पोस्टको दिशामा प्रहार गरे ।

यो अन्तर्राष्ट्रिय स्तरमा मेस्सीका लागि निराशाजन अनुभवको अर्को पाटो बन्यो । मेस्सीले सन् २०१६ मा कोपा अमेरिकाको फाइनलमा पेनाल्टीमा चुकेपछि सन्यासको घोषणा गरेका थिए । पछि उनी सन्यास फिर्ता लिँदै मैदान फर्किए ।

‘यसपटक मेस्सीलाई हेर्दा निराशा थियो, अहिलेसम्मकै उत्कृष्ट खेलाडी घर गएको हेर्नु निकै नै दुःखदायी पनि बन्यो । मेस्सीले यो टिमबाट धेरै गर्न सकिँदैन भन्ने बुझेका छन्’ स्पेनिस फुटबलका विशेषज्ञ जिलियम बालागुले भने, ‘आफूले मात्रै केही गर्न सक्दिन भन्ने उनलाई थाहा छ । अर्जेन्टिनासँग खेल जित्ने मन मात्रै थियो, तर टिम व्यवस्थित थिएन । फ्रान्स उत्कृष्ट टिम थियो यसैले विजयी भयो ।’

यस्तोमा पनि मेस्सीका लागि रुस विश्वकप चर्चामै रहृयो । पहिलो खेलमा आइसल्याण्डसँगको पेनाल्टी मिस र बराबरी, दोस्रो खेलमा क्रोएसियासँगको ३-० को हार र तनाव, तेस्रो खेलमा नाइजेरियाविरुद्धको रोमाञ्चक जित सबैमा मेस्सी केन्द्रमा थिए ।

अन्तिम १६ बाट बाहिरिएपछि प्रशिक्षक जर्ज साम्पाओलीले भने, ‘मेस्सीलाई सहयोग गर्नका लागि सबै गर्ने प्रयास भयो । हामीसँग विश्वकै उत्कृष्ट खेलाडी थिए । हामीले एकीकृत हुने प्रयास गर्‍यौ‌ं ।’

विश्वकपमा मेस्सीको खेल

मेस्सीले सन् २००६ यता विश्वकपको नकआउट चरणमा ७ सय ५६ मिनेट खेलेका छन् । जसमा उनले एक गोल पनि गर्न सकेनन् ।

नाइजेरियासँगको खेलमा उनले गरेको गोल विश्वकपमा ६ सय ६२ मिनेटपछि भएको गोल थियो । उनले विश्वकपमा ६ गोल गरेका छन् । जसमा तीन गोल नाइजेरियाविरुद्ध नै छ ।

मेस्सीले सन् २०१४ को विश्वकपमा उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल पाएका थिए । त्यो बेला अर्जेन्टिना उपविजेता बनेको थियो ।

मेस्सीसहितको अर्जेन्टिना २००६ को विश्वकपमा जर्मनीसँग क्वार्टरफाइनलमा पराजित भयो । २०१० को विश्वकपमा जर्मनीसँग नै क्वार्टरफाइनलमा पराजित भएको अर्जेन्टिना २०१४ मा जर्मनीसँगै फाइनलमा १-० ले पराजित भएको थियो ।

रोनाल्डोले अझै केही गर्लान् ?

रुस विश्वकपमा पोर्चुगलको पहिलो खेलमा रोनाल्डोले फ्रीकिकमा उत्कृष्ट गोल गरेर स्पेनविरुद्ध हृयाटि्रक पूरा गरेका थिए । त्यसबेला रोनाल्डोलाई विश्वकपमा कसैले रोक्ला र जस्तो देखिन्थ्यो ।

त्यसबेला उनले विश्व फुटबलका उत्कृष्ट खेलाडीले पाउने बालोन डिओरमा पनि फेरि आफ्नो नाम लेखाउने भए जस्तो देखिन्थ्यो । मोरक्कोसँगको कठिन जित र इरानसँग पेनाल्टी मिस भएपछि भने उनको कठिन समय सुरु भयो ।

अन्तिम १६ को खेलमा उरुग्वेविरुद्धको खेलमा टिमलाई हारबाट जोगाउन उनी सक्षम भएनन् । एडिसन काभानीको दुई गोलमा उरुग्वे २-१ ले विजयी भयो र पोर्चुगल घर फर्किन बाध्य बन्यो ।

दुई वर्षअघि युरोपियन च्याम्पियन बनेका रोनाल्डोको लागि अन्तर्राष्ट्रिय फुटबलमा यो नै अन्त्य हो त ? उनको उमेर र बढ्दो चुनौतीले गर्दा धेरैलाई राष्ट्रिय टिमबाट उनको समय सकियो भन्ने नै लाग्छ ।

तर, पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले भने रोनाल्डोले फुटबलमा अझै धेरै कुरा दिन बाँकी रहेको बताएका छन् । उनले भने, ‘फुटबलका लागि रोनाल्डोले अझै धेरै कुरा दिनु छ । सेप्टेम्बरमा प्रतियोगिता हुँदैछ (युइएफए नेसन्स लिग) र हामीसँग रोनाल्डो हुनेछन् भन्ने आश छ । उनले खेलाडीलाई माथि उठ्न सहयोग पक्कै गर्ने छन् ।’

विश्वकपमा रोनाल्डोको खेल

स्पेनसँगको खेलमा सीधै फ्रीकिकमार्फत गरेको गोल उनले पोर्चुगलका लागि मुख्य प्रतिस्पर्धामा सिधै फ्री-किकबाट गरेको पहिलो गोल थियो । जुन उनको ४५ औं प्रयासमा सफल भएको थियो ।

रोनाल्डोले राष्ट्रिय टिमबाट मुख्य प्रतिस्पर्धामा पेनाल्टी प्रहार गरेका आधामात्रै गोल गरेका छन् । उनले यसपटक स्पेन तथा सन् २००६ को विश्वकपमा इरानसँगको खेलमा पेनाल्टी प्रहार गरेका थिए । यस्तै उनले सन् २०१६ को युरोकपमा अस्टि्रयासँगको खेलमा तथा यसपटक इरानसँगको खेलमा पेनाल्टीमा गोल गर्न सकेनन् ।

रोनाल्डोले विश्वकप फुटबलको नकआउट चरणमा ५ सय १४ मिनेट खेलेका छन् । जसमा उनले एक गोल पनि गरेका छैनन् । सन् २००६ यताका चार विश्वकपमा रोनाल्डोले सात गोल गरेका छन् ।

सन् २००६ को विश्वकपमा रोनाल्डोसहितको पोर्चुगल फ्रान्ससँग सेमिफाइनलमा १-० ले हारेको थियो । सन् २०१० मा अन्तिम १६ को खेलमा स्पेनसँग १-० ले हार्‍यो । साथै सन् २०१४ मा पोर्चुगल समूह चरणबाटै बाहिरिएको थियो ।

अब रसिया विश्वकपपछि कतारमा सन् २०२२ मा हुने विश्वकपमा पनि दुबै खेलाडी रहन सक्ने सम्भावनालाई भने नकार्न मिल्दैन । त्यो समय रोनाल्डो ३७ र मेस्सी ३५ वर्षका हुने छन् ।

सन् १९३० पछि विश्वकप जित्ने टिममा रहेर ४ सय २२ जनाले फुटबल खेलिसकेका छन् । जसमा ३५ वर्षमाथिका ७ जना खेलाडी रहेका छन् । यसैले मेस्सी रोनाल्डोको खेलशैली रहिरहोस् र विश्व फुटबलको महाकुम्भमा फेरि उनीहरुलाई हेर्न पाइयोस् भन्ने आशमा समर्थक रहने छन् ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment