१८ असार, विराटनगर । सहकारीको माध्यमबाट मोरङको उर्लाबारीमा व्यवसायिक तरकारी खेती शुरु भएको छ ।
स्थानीय पाठशाला कृषि सहकारीले पहिलोपटक उर्लाबारी ६ मा ४ विघा ११ कठ्ठा जमिन भाडामा लिएर व्यवसायिक तरकारी खेती शुरु गरेको हो ।
स्थानीय शोभा पालुङगाको जमिन पाँच बर्षको लागि भाडामा लिएर करिब पाँच लाख लगानीमा व्यवसायिक तरकारी खेती शुरु गरिएको पाठशाला कृषि सहकारी संस्थाको अध्यक्ष दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।
उनले गएको जेठ महिनाबाट शुरु गरेको तरकारीले छोटो समयममै उत्पादन पनि दिन थालेका जानकारी दिए ।
अध्यक्ष खतिवडाका अनुसार व्यवसायिक तरकारी खेतीमा अहिले क्राँक्रा, बोडी, तीतेकरेला, फर्सी, भन्टालगायतका तरकारी लगाइएको छ ।
सरकारले विषयगत सहकारीले बिषयगत व्यवसाय गर्नुपर्ने नीति ल्याएपछि आफूहरुले पनि सरकारी नीति अनुसार प्रारम्भिक चरणमा व्यवसायिक तरकारी खेती शुरु गरेको अध्यक्ष खतिवडाले जानकारी दिए ।
उनले छोटो समयमै तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिने भएकाले तरकारी खेतीलाई थप विस्तार गदै लैजाने योजनासमेत रहेको सुनाए ।
अध्यक्ष खतिवडाले भने ‘हरियो तरकारीको माग सधै बजारमा उच्च्ा रहन्छ, मागको पूर्तिका लागि अन्यत्रबाट तरकारी ल्याउने अवस्था छ स्थानीय स्तरको उत्पादित तरकारीलाई बजारसम्म पुर्याएर बिक्री गर्न कुनै समस्या देखिदैन’ उनले भने ।
उनले अहिले संस्थाले गरेको तरकारी खेतीमा व्यापारीहरु आफै तरकारी खरिदका लागि पुग्ने गरेका छन् । संस्थाले तरकारी खेतीमा अहिले दैनिक १० जनालाई रोजगारी समेत प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया 4