Comments Add Comment

बाढीले नवलपरासीमा १७० घर डुबानमा, सडकसमेत बगायो

१८ असार नवलपरासी । गएरातिदेखि परेको वषर्ाका कारण नवलपरासीको बर्दघाट नगरपालिकाका ७० घर परिवार विस्थापित भएका छन् ।

बर्दघाट नगरपालिका ३ लगुनाहाको विसई टोलमा बाढीको कारण घरभित्रको अन्नपात, खाद्यान्न, लत्ताकपडा, हास, कुखुरासमेत बगाएको बडा नं. ३ का वडाअध्यक्ष रुद्रप्रसाद न्यौपानेले जानकारी दिए ।

डुवानमा परेकाहरुलाई इलाका प्रहरी कार्यालय बर्दघाटको टोली र सशस्त्र प्रहरी बल वेसक्याम्प सेमरीको टोलीले उद्दार गरी अग्लो ठाउँमा रहेको महिला समूहको भवनमा राखिएको छ । बाढीको कारण के कत्ति क्षति भयो भन्ने यकिन तथ्यांक आइनसकेकोे इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

वडा नं. ६ मा विद्युतटोल, शिवालय टोल र बेताहानी गाउँ डुवानमा परेको छ । जसमा २५ घरपरिवार विस्थापित भएको वडाअध्यक्ष रोहित थारुले जानकारी दिए । त्यसैगरी वडा नं. ४, १०, र १३ मा समेत डुवान भएको छ ।

बर्षाको कारणले सरावल गाउँपालिकाको भुजहवा, रामपूर खडौना, मझौलिया, र बडसारी क्षेत्रमा बाढी पसेको छ ।

सुस्ता गाउँपालिकामा १ बरुवाबजार र आसपासको क्षेत्रमा बाढी पसेको छ । क्षतिको विवरण आउन बाँकी रहेको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताए ।

प्रतापपुरमा खोलाको बाँध फुट्दा सय घर डुवानमा

प्रतापपुर गाउँपालिका ३ मा धनेवा खोलाको बाँध फुटेर बाढी बस्तीमा पस्दा एक सय भन्दा बढी घर डुवानमा परेका छन् ।

वर्षाका कारण धनेवा खोलामा पानीको सतह बढेर विहान १० बजे तिरको समयमा उत्तर पश्चिमको बाँध फुटेपछि अमहवा, नन्दपुर, धनेवा, बरगदवा लगायतका क्षेत्र डुवानमा परेको प्रतापपुर ३ का वडा अध्यक्ष दिवाकर चौधरीले जानकारी दिए ।

पहाडी मार्ग अवरुद्ध

वर्षाका कारण नवलपरासीका पहाडी मार्गहरु अवरुद्ध भएका छन् ।

पूर्वी नवलपरासीको कावासोती, दलदले, अरुणखोला, चोरमाराबाट पहाड जाने कृषिमार्गहरु अवरुद्ध भएका हुन् ।
नवलपुरका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार बुलिङटार जाने पहाडी मार्ग ठाउँठाउँमा साना तथा ठूला पहिरोले अवरुद्ध भएका छन् ।

त्यस्तै पूर्वी नवलपरासीको रहजरको बोटे टोलमा डुबानमा परेको छ । रहजर प्रहरीले उक्त क्षेत्रमा उद्दार गरेपछि अहिले स्थिति सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक सुवेदीले बताए ।

बाढीले सडक बगायो

नवलपरासीको बर्दघाट बरुवा सडकखण्ड अन्तर्गत खजुरी खोलामा बाढीले सडकको सतह बगाएपछि त्यस सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको छ ।

अहिले खजुरी खोलामा मोटरसाइकलसमेत चलाउन नमिल्ने गरी खोलाको सतह गहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment