
२० आसार, जनकपुरधाम । प्रदेश २ को सरकारले बाढीपहिरोबाट मृत्यु भएका मृतकका परिवारलाई तत्काल ५० हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीस्तरीय बैठकले ५० हजार नगद सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
केही दिन यताको लगातारको वर्षाले आएको बाढीका कारण प्रदेश २ मा २ जनाको मृत्यु भएपछि मुख्यमन्त्री राहत कोषबाट तत्कालका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको हो ।
बाढीका कारण गत मंगलवार पर्सा जिल्लाको पर्सा गढी गाउँपालिका-८ रमौली बस्ने प्रतिमा राम र सुरेन्द्र महतोको मृत्यु भएको हो । यसका साथै बाढीपहिरोको कारण मृत्यु भएकाहरुको परिवारप्रति मुख्यमन्त्री लालबाबु राउतले समवेदना व्यक्त गरेका छन् ।
विगत ३ दिनदेखि परेको वर्षाको कारण प्रदेश २ को जनजीवन प्रभावित भएको छ । प्रदेशका कतिपय स्थानको खोलानालामा बाढी आएको छ भने बाढीले नदी कटान गरेका कारण गाउँवस्तीमा बाढीको पानी प्रवेश गर्ने खतरा बढेको छ ।
केही दिन यता भै रहेको निरन्तरको वर्षाका कारण प्रदेशमा देखिएको बाढीलाई मध्यनजर गर्दै प्रदेश सरकारले आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको विपद व्यवस्थापन समितिलाई स्थानीय तहको समितिलाई राहत र उद्धारको लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
प्रतिक्रिया 4