काठमाडौं । विश्वकप क्वार्टरफाइनलको पहिलो खेलमा शुक्रबार राति पौने ८ बजे उरुग्वे र फ्रान्सबीच खेल हुँदै छ । क्लब फुटबलका स्टार एउटै मैदानमा भिडेको हेर्न आतुर दर्शकले इडिसन काभानीको खेल भने छुटाउने छन् ।
स्टार स्ट्राइकर काभानीबिना मैदान उत्रन लागेको उरुग्वेका लागि फ्रान्सविरुद्धको खेल सहज हुने छैन । अन्तिम १६ को खेलमा पोर्चुगलविरुद्ध खेल्दा दुई गोल गरेका काभानी चोटका कारण बाहिरिएका थिए ।
काभानीको चोट खतरामुक्त रहेको भए पनि खेल्न नसक्ने देखिएको छ । उनको स्थानमा क्रिष्टियन स्टुआनीलाई खेलाइँदै छ ।
एक खेलको प्रतिबन्धमा रहेका फ्रान्सका मिडफिल्डर ब्लेज माटुडी उरुग्वेविरुद्धको खेलमा हुने छैनन् । साथै उसमान डेम्बेलेको स्थानमा पनि कोरेनटिन टोलिसोलाई राख्ने तयारी प्रशिक्षक डिडिएर डेसच्याम्प्सले गरेका छन् ।
बलियो डिफेन्स लाइन भएको उरुग्वेविरुद्ध सम्हालिएर खेल्ने रणनीति प्रशिक्षक डेसच्याम्प्सले बनाइरहेका छन् ।
यसअघिको भेट
उरुग्वे र फ्रान्सबीच समग्रमा यसअघि आठ पटक खेल भएका छन् । जसमा उरुग्वे तीन खेलमा र फ्रान्स एक खेलमा विजयी भएका थिए । चार खेल बराबरी भएको थियो । जसमा उरुग्वेले फ्रान्सविरुद्ध आठ गोल गरेको छ भने चार गोल खाएको छ ।
उरुग्वे र फ्रान्स विश्वकपमा चौथो पटक खेल्न लागेका भए पनि नकआउट चरणमा पहिलो पटक भेटिएका हुन् । सन् २००२ र २०१० मा विश्वकप समूह चरणमा भएको भेटमा गोलरहित बराबरी भएको थियो ।
त्यसअघि विश्वकपमै सन् १९६६ मा भएको खेलमा उरुग्वे २-१ ले विजयी भएको थियो । पछिल्लो पटक सन् २०१३ मा भएको मैत्रीपूर्ण खेलमा पनि उरुग्वे १-० ले विजयी भएको थियो । जसमा लुइस स्वारेजले गोल गरेका थिए ।
फ्रान्सले उरुग्वेलाई जितेको एकमात्र खेल सन् १९८५ मा भएको हो । घरेलु मैदानमै भएको मैत्रीपूर्ण खेलमा त्यसबेला फ्रान्स २-० ले विजयी भएको थियो ।
रसिया विश्वकपमा दुई टिम
रसिया विश्वकपमा चारै खेल जितेको उरुग्वेले ७ गोल गरेको थियो भने एक गोलमात्रै खाएको थियो । एक खेल बराबरी खेलेको प|mान्सले भने ७ गोल गरेर ४ गोल खाएको थियो ।
गोलका लागि उरुग्वेले विपक्षीको पोस्टको दिशामा ३७ प्रहार गरेको थियो भने फ्रान्सले ३८ प्रहार गरेको थियो । त्यसका लागि उरुग्वेले १ हजार ८ सय ५९ पास सही खेलेको थियो भने फ्रान्सले १ हजार ९ सय ४ पास खेलेको थियो ।
बल क्रस गर्ने कुरामा पनि दुवै टिम उस्तै देखिएका छन् । उरुग्वेले चार खेलमा ५६ क्रस गरेको थियो भने फ्रान्सले ५८ क्रस गरेको थियो ।
फाउलमा भने फ्रान्स अगाडि रहेकाले उरुग्वे टिम जोगिएर खेल्नुपर्ने देखिन्छ । चार खेलमा फ्रान्सले ५८ फाउल गरेको थियो भने उरुग्वे ४६ फाउल गरेको थियो ।
समूह चरणका तीन र अन्तिम १६ को एक खेलमा गरी उरुग्वेले विपक्षीको ३९ सट प्रहारको सामना गरेको थियो भने प|mान्सले ३१ सटको सामना गरेको थियो ।
दुवै टिमका केही तथ्य
यसपटक विश्वकपमा लगातार चार खेल जितेको उरुग्वेले फ्रान्सलाई हराउन सके लगातार पाँच खेल जितेर राष्ट्रिय कीर्तिमान बनाउने छ । उरुग्वेले विश्वकपमा लगातार चार खेल जितेको यसअघि सन् १९३० मा हो ।
फ्रान्सलाई हराए उरुग्वे समग्रमा छैठौं पटक विश्वकप सेमिफाइनलमा पुग्ने छ । सन् १९३० र १९५० को विश्व विजेता उरुग्वे पछिल्लो पटक सन् २०१० मा घानालाई हराएर सेमिफाइनल पुगेको थियो ।
त्यसअघि उरुग्वेले क्वार्टरफाइनल खेल जितेको सन् १९७० मा हो । जतिबेला उरुग्वेले सोभियन युनियनलाई १-० ले हराएको थियो ।
साथै उरुग्वे क्वार्टरफाइनलमा पुगेर हारेको पछिल्लो पटक सन् १९६६ मा हो । त्यसबेला पश्चिम जर्मनीसँग ४-० ले हारेको थियो ।
फ्रान्स पनि सन् २००६ पछि विश्वकप सेमिफाइनलमा पुगेको छैन । त्यसबेला फ्रान्स फाइनलमा इटालीसँग पराजित भएको थियो ।
सन् १९९८ को विश्व विजेता फ्रान्स सबै गरेर पाँच पटक विश्वकप सेमिफाइनल पुगेको छ । फ्रान्स पछिल्लो पटक २०१४ मै क्वार्टरफाइनलमा जर्मनीसँग पराजित भएको थियो ।
के भन्छन् प्रशिक्षक ?
ओस्कार तबरेज – उरुग्वे
फ्रान्सको बलियो पक्ष बल आक्रमण गर्ने देखिएको छ । गि्रजम्यान र एमबाप्पे राम्रो लयमा छन् । उनीहरुलाई रोक्ने र गोल गर्ने हाम्रो प्रमुख योजना हुने छ । हामीले उनीहरुलाई बल बढाउने ठाउँ दिनु हुँदैन । उनीहरुले बल बढाए भने हाम्रो लागि खतरा हुने छ ।
डिडिएर डेसच्याम्प्स – फ्रान्स
यदि काभानी खेले भने मैले हाम्रो टिमलाई केही फरक बनाउनु पर्छ । उनी खेल्छन् कि खेल्दैनन् खेल सुरु हुने ९० मिनेट अघि मात्रै हामीलाई थाहा हुन्छ । उरुग्वे टिमको सबै कुरा राम्रो छ । उनीहरु लयमा देखिन्छन् । उनीहरु सामूहिक रुपमा डिफेन्स गर्छन् । आक्रमण पनि उस्तै राम्रो छ ।
प्रतिक्रिया 4