+
+

थाइल्याण्ड : फुटबल खेल्न गएका १३ जना किन गएका थिए गुफामा ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २५ गते १९:११

२५ असार, काठमाडौं । थाइल्याण्डको एक गुफामा फसेका १२ बालकमध्ये सोमबार चार जनालाई सुरक्षित रुपमा बाहिर निकालिएको छ । चार जनाको आइतबार नै उद्दार भएको थियो ।

गुफाभित्र रहेका चार बालक र उनीहरुका फुटबल प्रशिक्षकलाई उद्दार गर्ने क्रम चलिरहेको छ ।

उनीहरुको उद्दारमा थाइल्याण्डले त आफ्नो सबै शक्ति लगाएको छ नै, ४० भन्दा बढी देशले पनि काम गरेका छन् । विश्वभरका सञ्चार माध्यमहरुले यो उद्दार प्रयासका एक एक खबरलाई उच्च प्राथमिकताका साथ प्रसारण गरिरहेका छन् ।

तर, यो हेरिरहँदा सबैको मनमा प्रश्न उठ्छ, फुटबल खेल्न गएका उनीहरु गुफामा किन गएका थिए ?

२३ जुनको स्थानीय समयअनुसार १० बजे यो टिम फुटबलको अभ्यास गर्न पुगेको थियो । १०ः४२ मा फुटबल प्रशिक्षकले अभ्यासको भिडियो फेसबुकमा पोष्ट पनि गरेका छन् ।

दिउँसो करिव ३ बजे १३ वटा साइकल गुफामा प्रवेश गरेको त्यहाँको राष्ट्रिय निकुञ्जका कर्मचारीहरुले देखेका थिए ।

फुटबल खेल्न गएका छोराहरु नआएपछि अभिभावकले सोधेखोजी गरेका थिए । शनिबार राति माएसई पुलिसले बच्चाहरु हराएको बतायो र २४ जुनबाट खोजी सुरु भयो ।

एक रिपोर्ट अनुसार फुटबल अभ्यासपछि उनीहरु सरप्राइज पार्टीका लागि गुफामा गएका थिए । यो टिमका एक खेलाडीको नाम गेम छ, जो यो पटक गुफामा गएका थिएनन् ।

उनले कासोद अखबारलाई बताएअनुसार टिम यसअघि तीन पटक गुफामा गइसकेको थियो । उनले भने, ‘हामी गुफामा जानुअघि तयारी गर्थ्यौं । हामीसँग टर्च हुन्थ्यो र सबै जान फिट छन् कि छैनन् पहिले नै पत्ता लगाउँथ्यौं ।’

गेमका अनुसार उनको स्वास्थ्य ठीक नभएका कारण उनी यो पटक गुफामा नगएका हुन् । उनले भने, ‘हामी कि अभ्यासका लागि गुफामा जान्थ्यौं कि टिमका कुनै सदस्यको बर्थडेमा । यो कुनै बर्थ डे योजना हुनसक्छ ।’

यो साता गुफाबाट एउटा चिठ्ठी आयो । फुटबल प्रशिक्षक एकापोलले आफ्नो हजुरआमालाई निराश नहुन आग्रह गरेका छन् । साथै बच्चाका आमाबुबासँग माफी मागेका छन् ।

यसअघि गुफामा जाँदा पानी नपरेकाले उनीहरु आफैं फर्किन्थे । तर, यो पटक मुसलधारे पानी पर्‍यो । जंगलमा आएको पानीले गुफाको प्रवेशद्वार बन्द भएपछि १२ बालक र फुटबल प्रशिक्षक गुफाभित्रै फसे । गुफामा पानी लगातार बढ्यो ।

ताम लुङ्ग गुफाको लम्बाई १० हजार ३१६ मिटर लामो छ र थाइल्याण्डको चौथो लामो गुफा हो ।

बेलायती उद्दार विभागका बिल वाइटहाउसका अनुसार गोताखोरहरु अधिकांश रुपमा बाढीग्रस्त र साँधुरो गल्लीमा १५०० मिटरसम्म गएर पत्ता लगाएका थिए ।

यो गुफामा १९८६ मा एक जना विदेशी ७ दिनसम्म हराएको र पछि उद्दार गरिएको स्थानीय समुदायका एक नेताले बताएको स्थानीय अखबारहरुमा उल्लेख छ । यद्यपि त्यसबेला बाढी आएको थिएन । २०१६ मा पनि एक चिनियाँ भाषाका शिक्षक तीन महिनासम्म हराएका थिए । उनले आफू तपस्या गर्न गएको बताएका थिए ।

खोजीका क्रममा उनी भेटिएनन् तर, पछि नजिकैको एक होटलमा घुमिरहेको अवस्थामा भेटिएको थियो ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?