Comments Add Comment

बेल्जियम भर्सेस फ्रान्स : बेल्जियमको बलियो इतिहास

२६ असार, काठमाडौं । विश्वकप फाइनल यात्राका लागि मंगलबार राति पौने १२ बजे फ्रान्स र बेल्जियमबीच खेल हुँदैछ । दुवै युरोपियन देशले रसिया विश्वकपका यसअघिका खेलमा राम्रो प्रदर्शन गरेका थिए ।

बेल्जियमले समूह चरणमा पानामालाई ३-०, ट्युनिसियालाई ५-२ र इंग्ल्याण्डलाई १-० ले हराएको थियो । अन्तिम १६ को खेलमा जापानलाई ३-२ र क्वार्टरफाइनलमा ब्राजिललाई २-१ ले हराउँदै उ अन्तिम चारमा पुगेको हो ।

फ्रान्सले भने समूह चरणमा अस्टे्रलियालाई २-१, पेरुलाई १-० ले हराएको थियो भने डेनमार्कसँग गोलरहित बराबरी खेेलेको थियो । अन्तिम १६ मा अर्जेन्टिनालाई ४-३ ले र क्वार्टरफाइनलमा उरुग्वेलाई २-० ले हराएको थियो ।

फ्रान्सका ब्लेस माटुडी एक खेलको प्रतिबन्धपछि बेल्जियमसँगको खेलमा मैदान फर्किएका छन् । मिडफिल्डर कोरेन्टिन टोलिसोको स्थानमा उनलाई खेलाइने छ ।

ओलिभर जिरउडले रसिया विश्वकपमा एउटै सट पोस्टको दिशामा प्रहार गर्न नसकेको भए पनि उनी सेमिफाइनलमा खेल्दैछन् । प्रशिक्षक डिडिएर डेसच्याम्प्सले उनीमाथि विश्वास देखाएका छन् ।

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले ३-४-२-१ को फर्मेसन छोडेर ब्राजिलसँगको खेलमा ४-३-३ को रणनीति अपनाएका थिए ।

फ्रान्ससँगको खेलमा उनी पुरानो फर्म्याटमा आउँछन् कि ब्राजिललाई हराएकै रणनीति अपनाउँछन् अझै थाहा भएको छैन ।

यसअघिको भेट

बेल्जियम र फ्रान्सबीचको खेल ७४ औं भेट हो । यसअघि बेल्जियमले ३० खेल र फ्रान्सले २४ खेल जितेका थिए । १९ खेल बराबरी भएको छ । विश्वकपमा सन् १९३८ र १९८६ मा भएको दुवै खेलमा भने फ्रान्सले बेल्जियमलाई हराएको थियो ।

फ्रान्स र बेल्जियमबीच मुख्य प्रतिस्पर्धामा यसअघि तीन पटक भेट भएको छ । त्यसमा फ्रान्सको पक्ष बलियो छ, तीनै खेलमा उसले जित निकालेको छ । यी दुई टोलीबीच विश्वकपमा यसअघि दुई पटक भेट भएको छ ।

फ्रान्सले सन् १९३८ को विश्वकपको पहिलो चरणमा बेल्जियमलाई ३-१ ले हराएको थियो । यस्तै सन् १९८६ को विश्वकपमा तेस्रो स्थानका लागि भएको प्ले-अफमा फ्रान्सले अतिरिक्त समयमा बेल्जियमलाई ४-२ ले निराश पारेको थियो ।

यस्तै फ्रान्सले सन् १९८४ मा भएको युरोपियन च्याम्पियनसिपको समूह चरणमा बेल्जियमलाई ५-० ले हराएको थियो ।

फ्रान्ससँग भएका पछिल्ला तीन मैत्रीपूर्ण खेलमा भने बेल्जियम अपराजित छ । एक खेलमा विजयी भएको छ भने दुई खेलमा बराबरी भएको छ । पछिल्लो पटक सन् २०१५ को जुनमा भएको खेलमा बेल्जियम ४-३ ले विजयी भएको थियो ।

दुवै टिमका केही तथ्य

बेल्जियमको प्रशिक्षक रोबर्टो मार्टिनेज अर्को देशलाई विश्वकप सेमिफाइनलमा लैजाने दोस्रा प्रशिक्षक हुन् । उनी स्पेनिस हुन् । यसअघि ब्राजिलियन प्रशिक्षक लुइज फिलिपले पोर्चुगललाई सन् २००६ को विश्वकप सेमिफाइनलमा लगेका थिए ।

फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्स विश्वकपमा आफ्नो ११ औं खेल प्रशिक्षण गर्दै छन् । जुन फ्रान्स टिमलाई विश्वकपमा सबैभन्दा धेरै खेल प्रशिक्षण गर्ने कीर्तिमान हो ।

रसिया विश्वकपमा अहिलेसम्म निर्धारित समयमै सबै खेल जित्ने एक मात्र टिम बेल्जियम हो । जसले यसअघिका पाँच खेलमा १४ गोल गरेर सबै जितेको छ ।

फ्रान्स विश्वकपमा छैठौं पटक सेमिफाइनलमा पुगेको हो । सन् १९५८, १९८२ र १९८६ मा सेमिफाइनलमा पराजित भएको फ्रान्स १९९८ र २००६ मा भने विजयी भएको थियो ।

यसअघि सन् १९८६ को विश्वकपमा सेमिफाइनल पुगेको बेल्जियम अर्जेन्टिनासँग २-० ले हारेको थियो । अर्जेन्टिनाका लागि दुवै गोल डिएगो म्याराडोनाले गरेका थिए ।

बेल्जियम आˆनो पछिल्लो २४ खेलमा अपराजित रहेको छ । १९ खेल जितेको छ भने ५ खेल बराबरी गरेको छ । जसमा पछिल्लो पटक लगातार ७ खेलमा भने बेल्जियम विजयी भएको छ ।

ट्राइब्रेकरबाहेक विश्वकप नकआउट चरणमा फ्रान्स को पछिल्लो अवस्था बलियो छ । नकआउट चरणका पछिल्ला १३ खेलमा निर्धारित वा अतिरिक्त समयमा अर्थात टाइब्रेकरबाहेक फ्रान्स एक पटक मात्रै पराजित भएको छ । फ्रान्स सन् २०१४ को विश्वकपको क्वाटरफाइनलमा जर्मनीसँग १-० ले पराजित भएको थियो ।

बेल्जियमको पछिल्ला १३ खेलमा भएका २० गोलमा विश्वकपमा चार गोल गरिसकेका रोमेलु लुकाकुको भूमिका रहेको छ । जसमा उनले १७ गोल गरेका छन् भने तीन गोलका लागि सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment